आइतबार ०३ साउन, २०८३

नेपाली समय

भूकम्प प्रभावित १६ छात्रालाई छात्रवृत्ति वितरण

भूकम्प प्रभावित १६ छात्रालाई छात्रवृत्ति वितरण

कर्णाली, १० जेठ । जाजरकोट, रुकुमपश्चिम र सल्यानका भूकम्प प्रभावित १६ जना छात्रालाई छात्रवृत्ति वितरण गरिएको छ । तीन जिल्लामा कक्षा १ देखि १० सम्म अध्ययनरत छात्राहरूलाई गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को सहकार्यमा आज जाजरकोट खलङ्गामा श्री ज्योति फाउन्डेसनले छात्रवृत्ति वितरण गरेको हो । 

गत शैक्षिक सत्रदेखि भूकम्प प्रभावित जिल्लाका छात्रालाई छात्रवृत्ति वितरण गर्दै आइएको बताउँदै फाउन्डेसनका अध्यक्ष ज्योतिकुमारी कटुवालले आगामी कक्षा १० सम्म अध्ययन गर्ने छात्रालाई हरेक वर्ष छात्रवृत्ति वितरण गरिने जानकारी दिनुभयो । “कक्षा १ देखि १० सम्मका १६ जना छात्रालाई गत शैक्षिक सत्रदेखि छात्रवृत्ति वितरण गर्दै आएका छौँ”, उहाँले भन्नुभयो, “यो कार्यक्रमलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिनेछौँ ।” 

अध्यक्ष कटुवालका अनुसार फाउन्डेसनले रुकुमपश्चिमको सानीभेरी गाउँपालिका, चौरजहारी र आठबिसकोट नगरपालिका तथा जाजरकोटको भेरी, नलगाड नगरपालिका र बारेकोट गाउँपालिकाका दुई/दुईजना छात्रालाई जनही रु १० हजारका दरले स्टेसनरी, स्कुल पोसाक, झोलालगायत सामग्री वितरण गर्दै आइरहेको छ । भेरी नगरपालिकाका आमा-बुवा नभएका, विपन्न परिवारका चार जना छात्रालाई पनि छात्रावृत्ति उपलब्ध गराइने उहाँले जानकारी दिनुभयो ।

उहाँले साङ्गीतिक कार्यक्रम आयोजना गरेर जम्मा भएको रकमबाट भूकम्प प्रभावित जिल्लाका छात्रालाई वितरण सुरु गरिएको छात्रवृत्ति आगामी दिनमा कर्णालीका १० वटै जिल्लामा पुर्‍याउने बताउनुभयो । 

कार्यक्रममा भेरी नगरपालिका-१ जाजरकोटका वडाध्यक्ष दीपक रानाले यसले छोरीको शैक्षिक प्रगति र सशक्तिकरणमा सघाउने बताउनुभयो । सानीभेरी गाउँपालिका-१ रुकुमपश्चिमका वडाध्यक्ष टेकबहादुर पुनले भूकम्प प्रभावित क्षेत्रमा शिक्षामा लगानी आवश्यक रहेको बताउँदै जोखिममा परेका बालबालिकालाई फाउन्डेसनले गरेको सहयोग महत्त्वपूर्ण हुने जनाउनुभयो । वडाध्यक्षद्वयले छात्रवृत्ति कार्यक्रमले छोरीहरूलाई पढ्नका लागि प्रेरणा प्रदान गर्नुका साथै उनीहरूको शैक्षिकस्तर विकासमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

भूकम्पका कारण घरबार गुमाएका परिवारका छोरीलाई पूर्ण छात्रवृत्ति दिएर पढ्ने वातावरण दिनु महत्त्वपूर्ण र उपलब्धिमूलक विषय भएको वडाध्यक्षद्वयको भनाइ छ ।