रौतहट, ९ जेठ । ट्राफिक प्रहरी कार्यालय गौरको भवन नहुँदा अन्य सरकारी कार्यालय सँग समन्वय गर्दा काम–कारबाहीमा समस्या भएको छ । आफ्नो भवन नहुँदा ट्राफिक प्रहरीको बसोबास र कार्यालय सञ्चालनमा समस्या भएको हो । ट्राफिक व्यवस्थापनलाई चुस्त दुरुस्त राख्नुपर्ने कार्यालयले आफ्नै व्यवस्थापन गर्न नसक्दा काम कारबाहीमा ढिलो भएको हो ।
ट्राफिकले हाल गौर नगरपालिका ३ कार्यालयको भुईँ तल्लामा बसेर सेवा दिँदै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरका ट्रा प्र नि लोकेन्द्र अधिकारीले बताए । कार्यालय सञ्चालन र वास बस्नका लागि गौर नगरपालिकाले एक हप्तादेखि वडा कार्यालय रहेको घरको भुईँ तल्लाको कोठा उपलब्ध भएको जनाए ।
साबिक डिभिजन सहकारी कार्यालयको भवनमा हाल गौर नगरपालिकाले ३ कार्यालय सञ्चालन गरेको हो । बाहिरी आवरण रङरोगन गरी भित्री भाग जीर्ण रहेको हुँदा पनि ट्राफिकले दुख भोगी रहेको स्थानीयले बताए ।
ट्राफिक प्रहरीले चेकजाँचको क्रममा नियम विपरीत सञ्चालन भएका सवारीसाधन, चोरीका सवारीसाधन समात्दा राख्ने ठाउँको समेत अभाव रहेको ट्राफिक प्रहरी कार्यालय गौरका प्रहरी सहायक निरीक्षक दिपेन्द्र झाले बताए । कार्यसम्पादनमा समेत समस्या भएको छ, कार्यालय भवन र बस्ने अभाव २०६३ सालदेखि ट्राफिक प्रहरी कार्यालय गौरले झेल्दै आइरहेको प्रहरी सहायक निरीक्षक झाले जनाए । गौरमा ट्राफिक प्रहरी कार्यालय स्थापना भएदेखि तीन ठाउँमा कार्यालय सार्नु परेको झाले बताए ।
जिल्ला हुलाक कार्यालयको भवनबाट सेवा दिई रहेको कार्यालय अहिले आएर वडा कार्यालयमा सरेको हो । सामान्य वर्षा तथा बाढी हुँदा समेत कोठामा पानी पस्ने ट्राफिक प्रहरीको पीडा यथावत् रहेको कसैले पत्याएको होइनन् । गौरमा नौ जना ट्राफिक प्रहरीको दरबन्दी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाए।
गौर नगरपालिकाले विगतका दिनमा जग्गा उपलब्ध गराउने प्रतिबद्धता गरे पनि हालसम्म कार्यान्वयन हुन् नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक अधिकारीले बताए ।भवन निर्माणको लागि आवश्यक पहल गरिरहेको प्रहरी निरीक्षक अधिकारीले जनाए ।