भोजपुर, ९ जेठ । रैथाने बाली खरिद गर्दे पालिका भित्र खाद्य खरिद तथा बिक्री केन्द्र स्थापना गर्ने गरी भोजपुर जिल्लाका स्थानीय पालिकाहरूसँग पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सम्झौता सुरु गरेको छ । सरकारले सात सय ५३ वटै स्थानीय तहमा पाइने रैथाने बाली खरिदका लागि प्रक्रिया थालेको अवस्थामा जिल्ला तहमा पनि सम्झौता सुरु भएको हो ।
भोजपुरमा रहेका दुई नगरपालिका र सात वटै गाउँपालिकाहरूसँग खाद्य खरिद तथा बिक्री केन्द्र स्थापनाका लागि सम्झौता गर्ने तयारी थालिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड भोजपुरका प्रमुख सन्तोष कुमार साहले बताउनुभयो । जस अन्तर्गत जिल्लाको साल्पासिलिछो गाउँपालिका र कम्पनीको प्रधान कार्यालय बिचमा खाद्यवस्तु आपूर्ति तथा खरिद व्यवस्थापन सम्बन्धी समझदारी पत्र (एमओयु) समेत भई सकेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पालिकाहरूमा खाद्य बिक्री डिपो स्थापनाको तयारी पनि गरेको छ । सम्झौता पश्चात् पालिकामा उत्पादित रैथाने कृषि उपजसमेत खरिद तथा बिक्री गर्न सकिने छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड भोजपुरका प्रमुख साहले भन्नुभयो,‘पालिकासँगको सम्झौता पश्चात् स्थानीय उत्पादनको सङ्कलन, मौज्दात व्यवस्थापन, ढुवानी, बिक्री तथा बजारीकरणको कामलाई प्रभावकारी बनाउने अपेक्षा लिएका छौं ।’ स्थानीय पालिकामा बिक्री तथा खरिद केन्द्र स्थापना भएमा खाद्यन्य जन्य सामाग्री खरिद तथा बिक्रीका लागि सदरमुकाम धाउनु पर्ने बाध्यता समेत हट्ने छ ।
जिल्ला सदरमुकाममा रहेको गोदामबाट विगतमा खाद्यान्न मात्र बिक्री गर्दे आएको कम्पनीले अहिले चिनी समेत बिक्री गर्दे आई रहेको छ भने माग भएमा अन्य दालजन्य सामाग्रीहरू पनि बिक्री गर्न सकिने कम्पनीले जनाएको छ ।
रैथाने बालीको सङ्कलन, बजारीकरण र बिक्रीको सुनिश्चितताका लागि पालिकाहरूसँगको सहकार्य यस्तो कार्यक्रम सुरु गर्न सकिएमा कृषि उत्पादनको प्रवर्द्धनमा समेत मद्दत मिल्ने भोजपुर नगरपालिका वडा नम्बर पाँचका वडाध्यक्ष तथा नगरका प्रवक्ता फबिन्द्र प्रधानले बताउनुभयो । आफूले उत्पादन गरेको रैथाने बालीहरू स्थानीय स्तरमा नै बिक्री गर्न सकिने भएपछि किसानहरूलाई पनि राहत हुने प्रधानको भनाई रहेको छ ।