आइतबार ०१ असार, २०८२

नेपाली समय

पोखरालाई ‘खेलकुद हब’ बनाउने गरी बजेट व्यवस्था गरिने

पोखरालाई ‘खेलकुद हब’ बनाउने गरी बजेट व्यवस्था गरिने

 कास्की, ८ जेठ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले पोखरालाई खेलकुदको हब बनाउने गरी आवश्यक पूर्वाधार निर्माण गर्न आगामी बजेटमा व्यवस्था गरिने बताउनुभएको छ । 

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले पोखरा फुटबल मैदानको मर्मत सम्भार र क्रिकेट रङ्गशालाका लागि बजेट विनियोजन गरिने बताउनुभयो ।

“चालू आर्थिक वर्षमा पोखरामा खेलकुद पूर्वाधारका बजेट भएन, त्यसैले काम गर्न सकेनौँ । पोखरालाई खेलकुदको हब बनाउन पहिलेभन्दा बढी विनियोजन हुन्छ”, मन्त्री चौधरीले भन्नुभयो । 

पोखरा रङ्गशालामा धेरै खेलकुदका पूर्वाधार एकै ठाउँमा रहेकाले पोखरा ‘स्पोर्टस् हब’ बन्न सक्ने उहाँको भनाइ छ । “खेलकुद मन्त्रालयले पोखरालाई पूर्वाधार निर्माणका लागि प्राथमिकतामा राखेको छ”, उहाँले भन्नुभयो । 

मन्त्री चौधरीले खेलाडी तथा युवाहरूलाई विदेशपलायन हुनबाट रोक्ने कार्यक्रम ल्याउन लागेको जानकारी दिनुभयो । खेलकुद क्षेत्रमा सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत यस क्षेत्रमा परिवर्तन ल्याइने उहाँले बताउनुभयो ।

खेलकुदमन्त्री चौधरीले दशौँ राष्ट्रिय खेलकुदका लागि पर्याप्त तयारी गरेर मात्र मिति घोषणा गरिने बताउनुभयो ।