सोमबार २९ मंसिर, २०८२

नेपाली समय

चित्रकलाबाट मुन्दुम पदमार्गको प्रवर्द्धन

चित्रकलाबाट मुन्दुम पदमार्गको प्रवर्द्धन

भोजपुर, ८ जेठ । सरकारले घुम्नुपर्ने १०० पर्यटकीय गन्तव्य घोषणा गरेको  मुन्दुम पदमार्गका विशेषतालाई चित्रकारहरूले तस्बिरमा उतारेका छन् । 

पदमार्गको प्रवर्द्धनका लागि आयोजना गरिएको ‘क्यानभास’मा टेम्केमैयुङ ‘राष्ट्रिय चित्रकला कार्याशाला’मार्फत चित्रकारले यसका विशेषतालाई चित्रमा उतारेका हुन् ।पर्यटकीयस्थल चखेवामा आयोजना गरिएको कार्याशालामा २० जना राष्ट्रिय कलाकारले पदमार्गमा देखिने रेडपाण्डा (हाब्रे), किरात संस्कृतिसँग जोडिएको तायामा खियामा, चिण्डो (वाबुक)स्थानीयको वेशभुषालाई चित्रमा समेटेका छन् । 

चित्रकलाको माध्यमबाट मुन्दुम पदमार्गको विकास, प्रवर्द्धन तथा प्रचारप्रसार गर्ने लक्ष्यको क्यानभासमा टेम्केमैयुङ राष्ट्रिय चित्रकला कार्यशालाको आयोजना गरिएको टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो । मुन्दुम पदमार्गलाई योग, ध्यान केन्द्रको रुपमा स्थापित गराउने लक्ष्य रहेको उहाँले बताउनुभयो । 

तीनदिने कार्यशालामा बनाइएका चित्रलाई काठमाडौँमा प्रदर्शनी गरिने उहाँले बताउनुभयो । कार्यशालाको बुधबार नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमुनि हार्तम्छालीको प्रमुख आतिथ्यमा समापन गरिएको हो । कार्यशालाका माध्यमबाट मुन्दुम पदमार्गको प्रचारप्रसारसँगै कला र सांस्कृतिक संरक्षणमा टेवा पुग्ने बताउनुभयो ।