आइतबार ०१ असार, २०८२

नेपाली समय

‘भोजपुरको पत्रकारिता क्षेत्रको विकास र सबलीकरणमा सहयोग हुन्छ’

‘भोजपुरको पत्रकारिता क्षेत्रको विकास र सबलीकरणमा सहयोग हुन्छ’

भोजपुर, ७ जेठ । भोजपुरको पत्रकारिता क्षेत्रको विकास र सबलीकरणमा सहयोग गर्ने प्रतिबद्धता स्थानीय पालिकाका जनप्रतिनिधीहरुले गर्नु भएको छ । 

नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशले मंगलवार जिल्ला सदरमुकाममा गरेको ‘पत्रकारिता क्षेत्रको सबलीकरणमा स्थानीय तहको भूमिका’ विषयक अन्तरसम्वाद कार्यक्रममा सहभागी स्थानीय तहका जनप्रतिनिधिहरुले लोकतन्त्र स्थापनाका लागि पत्रकारले खेलेको भूमिका प्रभावकारी भएको भन्दै पत्रकारिता क्षेत्रको विकास र सबलीकरणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको हो । 

महासङ्घका प्रदेश अध्यक्ष भरत खडकाको अध्यक्षतामा आयोजित अन्तर्संवादमा भोजपुर नगरपालिकाका नगर प्रमुख कैलाश कुमार आलेले पत्रकारले आफु बिचमा एकता कायम राख्दै पत्रकारिताको मर्म र धर्म निर्वाह गर्न जरुरी रहेको बताउनुभयो । पत्रकारहरू आफै एकताबद्ध भई सही ढङ्गमा अगाडी बढेमा राजनीतिक दल, कर्मचारी लगायत कसैले पनि केही गर्न नसक्ने धारणा नगर प्रमुख आलेले राख्नुभयो । 

क्रियाशील पत्रकारलाई स्थानीय स्तरमा नै रोजगारीको अवस्था सिर्जना गर्न सकिने बताउँदै नगर प्रमुख आलेले जिल्लाका सबै पालिका मिलेर केही बजेट विनियोजन गर्न सकिएमा चार जनासम्म पत्रकारलाई जिल्ला तहमा नै रोजगारी दिन सकिने बताउनुभयो । नगर प्रमुख आलेले पत्रकारहरू विभिन्न गुटमा बाँडिएकाले सञ्चार माध्यमहरू पनि धराशायी बनेकाले क्रियाशील सबै एकै ठाउँमा उभिन जरुरी रहेको बताउँदै जिल्लामा क्रियाशील दुई पत्रकारलाई उचित राशि सहित सम्मान र स्वास्थ्य बिमामा सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभयो । 

पौवादुङमा गाउँपालिकाका प्रवक्ता राजेन्द्र तामाङले पत्रकारिता र स्थानीय मिडिया क्षेत्रलाई बलियो बनाउने विषयमा पालिकाले आवश्यक सहयोग गर्ने बताउनुभयो । भोजपुरका ९ वटै पालिका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई कार्यक्रममा सहभागिताका लागि बोलाइएकोमा दुई पालिकाको मात्र सहभागिता थियो ।  

नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशका अध्यक्ष भरत खड्काले पत्रकार र स्थानीय सरकारबीचको सहकार्यले मिडिया क्षेत्रलाई बलियो बनाउँदै व्यावसायिक पत्रकारिताको विकासमा पनि टेवा पुर्‍याउने 

बताउनुभयो । अन्तर्संवादमा प्रदेश उपाध्यक्ष कुमोद अधिकारी, महासचिव हिमाकुमारी चेम्जोङ, सचिवहरू ध्रुव भट्टराई र अरबिन्द्र मेहेता, कोषाध्यक्ष सुदिप कोइराला, जिल्लाका अग्रज तथा क्रियाशील पत्रकार, भोजपुर शाखाका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।