आइतबार ०१ असार, २०८२

नेपाली समय

वन अतिक्रमण र तस्करीविरुद्ध चुरे संरक्षण अभियानको विरोध प्रदर्शन

वन अतिक्रमण र तस्करीविरुद्ध चुरे संरक्षण अभियानको विरोध प्रदर्शन

रौतहट, ६ जेठ । जिल्लाको उत्तरी भेगमा रहेका चन्द्रपुर नगरपालिका ३ स्थित गैडाटार क्षेत्रमा भइरहेको वन अतिक्रमण, अवैध सिसौ कटानी तथा चुरे क्षेत्रबाट ढुङ्गा–गिट्टी तस्करीविरुद्ध चुरे तथा वन जङ्गल संरक्षण अभियान नेपाल, रौतहटले सोमबार डिभिजन वन कार्यालय अगाडि विरोध प्रदर्शन गरेको छ । 

जिल्ला संयोजक अमिरी सहनीको नेतृत्वमा आयोजित उक्त प्रदर्शनमा दर्जनौँ अभियन्ताहरू सहभागी थिए । उनीहरूले वन मन्त्रालय र डिभिजन वन कार्यालयमा गम्भीर अनियमितता भइरहेको आरोप लगाउँदै मधेस प्रदेशका वनमंन्त्री त्रिभुवन साहको राजीनामा माग गरेका छन् । प्रदर्शनकारीहरूको भनाई अनुसार गैडाटार क्षेत्रमा करिब पाँच बिगाहा वनभूमि अतिक्रमण गरिएको छ भने सयौँ सिसौका रुखहरू अवैध रूपमा काटिएको हो । साथै चुरे क्षेत्रबाट ढुङ्गा, गिट्टी र बालुवा तस्करी भई वन स्रोतमा गम्भीर क्षति पुगेको आरोप लगाइएको हो ।

अभियन्ता राजेश भण्डारीले भने, "वन कार्यालयले सर्वसाधारणलाई काठ वितरण नगरी ठेकदारहरूलाई १४/१५ सय रुपैयाँ प्रति क्युफिट दरमा टेन्डर दिने गरेको हो । जसमा उच्च तहसम्मको मिलेमतो स्पष्ट देखिन्छ ।"

प्रदर्शनमा चुरे अभियन्ताहरू नन्दकिशोर राम,उपेन्द्र यादव, अनिता यादव, निरज साह लगायत चुरे अभियन्ताहरूको सक्रिय सहभागिता थियो । उनीहरूले 'चुरे दोहन बन्द गर', 'कमिसनखोर वन सचिव प्रदेश छोड', र 'अतिक्रमणकारी डिएफओलाई कारबाही गर' भन्ने नारा लगाएका थिए ।