आइतबार ०१ असार, २०८२

नेपाली समय

डिजिटल प्रोफाइ बनाउँदै वृन्दावन नगरपालिका

डिजिटल प्रोफाइ बनाउँदै वृन्दावन नगरपालिका

रौतहट, २७ वैशाख । जिल्लाको उत्तरी भेगमा पर्ने वृन्दावन नगरपालिकाले डिजिटल प्रोफाइल निर्माणमा जुटेका छन् ।नगरपालिकाले डिजिटल प्रोफाइल मार्फत नगर भरिकै वास्तविक तथ्याङ्क सङ्कलन गरेर नगर भित्र रहेका किसान, युवा, विद्यार्थी,कर्मचारी, अपाङ्ग, बिरामी तथा शिक्षा, स्वास्थ्य, कृषि लगायतका पूर्वाधारको स्थिति र पहुँचलाई डिजिटल तथ्याङ्कमा समावेश गरेर आगामी वर्षको बजेट विनियोजन गर्ने सोचले उक्त प्रोफाइल निर्माणमा तीव्रता दिएका हुन् ।

नगरपालिकाले डिजिटल प्रोफाइल तयार पार्नका लागि बाह्र जना कर्मचारी नियुक्त गरिएको हो । कर्मचारीहरू मध्ये ९ जना गणकहरूलाई घरधुरी सङ्कलन र तीनजनालाई संस्थागत घरधुरी सङ्कलनका लागि नियुक्त गरिएको हो । उक्त कर्मचारीहरू नगरपालिकाको ९ ओटै वडाहरूको घरघरमा पुगेर प्रोफाइल पार्नेछन्।

डिजिटल प्रोफाइलले नगरपालिकाको कामकाज प्रभावकारी हुने र प्रोफाइलको आधारमा नीति तथा कार्यक्रम ल्याउन सकिने भएकाले डिजिटल प्रोफाइल निर्माण गरिरहेको नगर प्रमुख विनोद प्रसाद कुर्मीले बताए ।

‘प्रोफाइलमार्फत नगरपालिकाको मार्गचित्र देखिने भएकाले त्यही अनुसार बजेट विनियोजन गर्न सजिलो हुने भएको हो। उनले भने, ‘नगरपालिकाको दीर्घकालीन योजना निर्माणका लागि समेत डिजिटल प्रोफाइल जरुरी रहेको र तथ्याङ्कको विश्वसनीयताका लागि समेत डिजिटल प्रविधिमा भण्डारण गर्न थालिएको उनले बताए ।

नगरपालिकाका अनुसार बाल विवाह, बहुविवाह, महिनावारी प्रथा लगायतका सामाजिक विकृतिको अवस्थाबारे समेत तथ्याङ्क राखिने भएको हो । वृन्दावनमा अहिले बालविवाह र दाइजो प्रथा लगायत अन्य कुरीतिहरू रहेकोले प्रोफाइलका आधारमा कार्यक्रम सञ्चालन गरेर प्रथाको अन्त्य गर्न सहज हुने नगरपालिकाले जनाए। शिक्षा, स्वास्थ्य, विद्युत्, सडक र सञ्चार लगायतको पहुँचबारेको सूचांक समेत तथ्याङ्कमा समावेश गरिने भएको हो  ।

डिजिटल प्रोफाइलमार्फत अहिलेको अवस्था, आगामी वर्षको सम्भाव्यताबारे समेत विश्लेषण गर्न सकिने प्रमुख प्रशासकीय अधिकृत खिम बहादुर भुजेलले बताए । ‘नगरपालिकाको पुरै जानकारी मोबाइल प्रविधिमार्फत डिजीटलाइजेसन गर्ने उद्देश्यले  डिजिटल प्रोफाइल निर्माण भइरहेको हाकिम भुजेलले बताए।

अब समानुपातिक र आवश्यकताका आधारमा बजेट विनियोजन गर्न सजिलो हुने उनको भनाइ रहेको हो  ।