काठमाडौँ, २६ वैशाख । नेपाली कांग्रेसका सांसद मुक्ताकुमारी यादवले फजुल खर्च वा चालु खर्च घटाएर भए पनि पुँजीगत बजेट बढाउनुपर्नेमा जोड दिनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममाथिको छलफलमा उहाँले शिक्षा, निजामती र प्रहरीसम्बन्धी अतिआवश्यक विधेयकहरू जतिसक्दो चाँडो ल्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “वास्तविक किसानको हातमा अनुदान पुगोस्, उत्पादन र उत्पादकत्व बढाउने र देशलाई आत्मनिर्भर बनाउने खालको बजेट बनाउन सरकारलाई मेरो सुझाव छ ।”
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद निर्मला कोइरालाले देश समृद्ध बनाउँदै नेपाली जनतालाई सुखी बनाउन सरकारले ल्याएको नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद सरस्वती सुब्बाले भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासको समस्यालाई सरकारले व्यावहारिक रूपमै कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।
नेकपा (एमाले)का सांसद विजुला रायमाझीले सरकारले ल्याएको नीति तथा कार्यक्रम राष्ट्रको आर्थिक अवस्था, स्रोतसाधन परिचालनको अवस्था र पुँजीअनुसार यर्थाथपरक रहेको टिप्पणी गर्नुभयो । एमालेका सांसद हर्कमाया विश्वकर्माले सरकारले सजिलै लागू गर्न सकिने गरी नीति तथा कार्यक्रम ल्याएको बताउनुभयो । प्रतिनिधिसभाको आगामी बैठक यही वैशाख २८ गते आइतबार बिहान ११ः०० बजे बस्ने छ ।