रौतहट, २६ वैशाख । जिल्लाको उत्तरी भेगमा पर्ने चन्द्रपुर नगरपालिकाले अध्ययनरत विद्यार्थीको सङ्ख्या न्यून हुँदै गएको तथा शिक्षक आवश्यकता भन्दा बढी भएको भन्दै तीन विद्यालयको शैक्षिक तह घटाउने तथा एक विद्यालयलाई अर्को विद्यालयमा गाभ्ने निर्णय गरेको छ।
नगर शिक्षा समितिको हालै सम्पन्न बैठकले चन्दनिगाहपुर २ असनवामा रहेको निम्न माध्यमिक विद्यालय, बसन्तपुरको वसन्त आधारभूत विद्यालय र बडहरवाको जनता प्राथमिक विद्यालयको शैक्षिक तह घटाउने निर्णय गरेको हो। ती विद्यालयहरूलाई अब नयाँ शैक्षिक सत्र कक्षा १ देखि ३ सम्म मात्र अध्यापनको अनुमति दिइने भएको हो । अघिल्लो वर्षसम्म यी विद्यालयहरूमा कक्षा ५ देखि ७ सम्म अध्यापन हुँदै आएको थियो।
त्यस्तै, जनप्रिय प्राथमिक विद्यालय नयाँटोल पडहरियालाई श्रीकृष्ण माध्यमिक विद्यालयमा गाभ्ने निर्णयसमेत गरिएको शिक्षा शाखा प्रमुख दिपेन्द्र मण्डलले जानकारी दिए। उनका अनुसार निर्णयको मूल कारण विद्यार्थी सङ्ख्या लगातार घट्नु र शिक्षक दरबन्दी आवश्यकता भन्दा बढी हुनु हो। “ शिक्षक व्यवस्थापन ‘जहाँ विद्यार्थी, त्यहाँ शिक्षक’ भन्ने मान्यताका आधारमा गरिनेछ,” मण्डलले बताए।
नगर शिक्षा समितिका अनुसार विद्यालय तह घटाइएपछि शिक्षक सङ्ख्या पनि घटाइने भएको हो । शिक्षकहरूलाई समायोजन गरी आवश्यकताअनुसार अन्य विद्यालयमा खटाउने वा दरबन्दी घटाउने प्रक्रिया अघि बढाइनेछ।
शिक्षा सत्र सुरु भइसके पनि यता नगर क्षेत्रका विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भइसकेका छन्। पाठ्यपुस्तक वितरणसँगै अधिकांश विद्यालयमा कक्षा संञ्चालन समेत सुरु भइसकेको अवस्थामा आएको निर्णयले केही विद्यालयहरूमा अन्यौलता सिर्जना भएको अवस्था देखिन्छ। यद्यपि, शिक्षा शाखाले निर्णय कार्यान्वयनमा लैजाने स्पष्ट गरिसकेको हो ।
स्थानीय शिक्षक र अभिभावकहरूले भने विद्यार्थी घट्दै गएका विद्यालयहरूलाई सुदृढ गर्नेभन्दा तह घटाउने निर्णय नकारात्मक असर पार्न सक्ने बताएका छन्। नगरपालिका प्रशासनले स्रोत व्यवस्थापन र गुणस्तरीय शिक्षा दिनका लागि यो कदम आवश्यक भएको दाबी गरेको हो ।