रौतहट, २६ वैशाख । जिल्लाको ईशनाथ नगरपालिका ८ स्थित भारतबाट भन्सार छली गरी चोरी पैठारी गरिएको विभिन्न सामान सहित प्रहरीले एक मोटरसाइकल सहित तीन साइकल पनि बरामद गरेको छ।इलाका प्रहरी कार्यालय राजपुरबाट खटिएको प्रहरी टोलीले नियमित गस्तीको क्रममा भन्सार छली गरेर ल्याइँदै गरेका अन्दाजी रु. ७० हजार ३ सय ८५ बराबरका लत्ताकपडा, किराना तथा अन्य विभिन्न प्रकारका सामानहरू फेला पारेको हो ।
त्यस्तै, ती सामान ढुवानीका लागि प्रयोग गरिएको बिआर (५एएस२२१) नम्बरको मोटरसाइकल एक थान सहित तीन थान साइकल पनि प्रहरीले बरामद गरेको हो । बरामद गरिएको मोटरसाइकलको अनुमानित मूल्य रु. ५६ हजार रहेको जनाइएको हो ।
समग्र रूपमा रु. १ लाख २६ हजार ३ सय ८५ रुपैयाँ बराबरको सर-सामान, मोटरसाइकल तथा साइकललाई आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालयमा बुझाइएको प्रहरी नायब उपरीक्षक दीपक कुमार रायले जानकारी दिए ।