अभा (साउदी अरेबिया), २५ वैशाख । साउदी अरेबियास्थित किंग खालिद विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूसँग विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। वैशाख २४ गते (७ मे २०२५) का दिन जेद्दास्थित नेपाली महावाणिज्य दूतावासबाट आएको पाँच सदस्यीय प्रतिनिधिमण्डलले विश्वविद्यालय परिसरमै पुगेर विद्यार्थीहरूको अवस्था र समस्या बारे प्रत्यक्ष जानकारी लिइएको थियो ।
कार्यक्रमको अवसरमा हालै सम्पन्न भएको विश्वविद्यालयको वार्षिक समारोहमा नेपाली विद्यार्थीहरूमध्ये तीन जना मो ॰ आशिफ सिद्दीकी र शाकिर आलम। र मोहमद इशतेयाक ले सफलतापूर्वक पूरा गरेको अरबी भाषा डिप्लोमा कार्यक्रम विशेष रूपमा प्रस्तुत गरिएको थियो। उनीहरूलाई दूतावास प्रतिनिधिहरूको उपस्थितिमा अग्रपंक्तिमा सम्मान गरिएको थियो। ती विद्यार्थीहरू मध्ये एकजनाले फोनमार्फत मध्यान्ह राष्ट्रिय दैनिकका संवाददाता इसत्याक अहमदलाई जानकारी दिएका हुन्।
प्रतिनिधिमण्डलका सदस्यहरूले विद्यार्थीहरूको शैक्षिक यात्रा, बसोबास, विश्वविद्यालय प्रवेश प्रक्रियामा भोगेका कठिनाइ, साउदी अरेबिया आगमनका बेला देखिने चुनौतीहरू र उपलब्ध सुविधाहरूको बारेमा गहिरो चासो व्यक्त गरे। साथै, उनीहरूले विद्यार्थीहरूलाई आत्मविश्वासका साथ अघि बढ्न प्रेरणा दिँदै विश्वविद्यालयको व्यवस्थापन, अध्यापन पद्धति र अतिथि सत्कारप्रति पनि प्रशंसा व्यक्त गरे।
कार्यक्रममा नेपाली विद्यार्थीहरूको छात्रावास निर्देशकको पनि उपस्थिति रहेको थियो। दूतावास प्रतिनिधिहरूले छात्रावास व्यवस्थापनसँग प्रत्यक्ष संवाद गरी विद्यार्थीहरूको जीवनस्तरमा सुधार ल्याउने सम्भावनाहरूबारे छलफल गरेका थिए। दूतावास र विश्वविद्यालयबिच आपसी समझदारी, सहकार्य र नियमित सम्पर्क कायम राख्दै नेपाली विद्यार्थीहरूको हितमा आवश्यक पहल गरिने प्रतिबद्धता पनि व्यक्त गरिएको थियो।
कार्यक्रममा सम्पूर्ण नेपाली विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। यस्तो प्रकारको अन्तरक्रिया कार्यक्रम भविष्यमा पनि नियमित रूपमा आयोजना गरिने अपेक्षा गरिएको छ।