शुक्रबार ०९ जेठ, २०८२

नेपाली समय

भोजपुरमा मानव अधिकार शिक्षा सम्बन्धी प्रशिक्षण

भोजपुरमा मानव अधिकार शिक्षा सम्बन्धी प्रशिक्षण

भोजपुर, २५ वैशाख । भोजपुर सदरमुकाममा मानव अधिकार शिक्षा विषयक एक दिवसीय प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको छ । 

नेपाल मानवअधिकार शिक्षा समाज तथा नेपाल मानवअधिकार सङ्गठन भोजपुरको संयुक्त आयोजनामा एक दिवसीय प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो । प्रशिक्षण कार्यक्रमको भोजपुर नगरपालिकाका प्रमुख कैलाश कुमार आलेले उद्घाटन गर्नु भएको थियो । सोक्रममा सहभागी अतिथि बक्ताहरुले मानव अधिकार शिक्षामा जोड दिनु हुदै कानुनी र विधिको शासन कार्यान्वयन गर्न बनेका कानुनहरू लागु हुन जरुरी रहेको बताउनु भएको थियो । 

मानव अधिकारका कुरा व्यवहारमा लागु नभएसम्म कार्यान्वयन हुन नसक्ने बताउँदै नगर प्रमुख आलेले मानव अधिकार शिक्षाका कार्यक्रम र सचेतनाले मात्र मानव अधिकारको रक्षा नहुने भएकाले आफ्ना कमी कमजोरीमा पनि सुधार गर्न जरुरी रहेको बताउनुभयो । 

नेपाल मानवअधिकार शिक्षा समाजका प्रशिक्षण विभाग प्रमुख प्रा.डा. गोविन्द प्रसाद ढकालले अभियानकारुपमा समाजले विगतका बर्सहरू देखि नै मानव अधिकार शिक्षाका कार्यक्रमहरू सञ्चालन गर्दे आएको बताउँदै प्रजातन्त्र, लोकतन्त्र, मानवअधिकार, कानुन, सुशासन, सन्धि लगायतका विषय मानव अधिकार शिक्षा भित्र पर्ने बताउनुभयो । 

भोजपुर बहुमुखी क्याम्पसका प्रमुख डा. पर्वतकुमार राईले मानव अधिकारको ख्याल राखेर कानुन बन्ने गरेको बताउँदै कानुनी र विधिको शासनमा मात्र मानव अधिकारका कुराहरू पुरा हुने बताउनुभयो ।उहाँले मानव हितमा बनाइएका कानुनहरू पूर्णरुपमा लागु हुनु पर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नरबहादुर थापा, प्राध्यापक सङ्घ भोजपुरका अध्यक्ष प्रकाश राई, नागरिक समाजका संयोजक परशुराम तिवारी, मानवअधिकार सङ्गठनका अध्यक्ष सुरेन्द्र कार्की लगायतले पनि आफनो धारणा राख्नु हुँदै आफनो अधिकारका लागि अरूको अधिकारको पनि ख्याल गर्दे सबै पक्षले मानव अधिकारको संरक्षण र संवर्द्धनमा लाग्नु पर्ने बताउनुभयो । 

सहभागीहरूलाई नेपाल मानवअधिकार शिक्षा समाजका प्रशिक्षण विभाग प्रमुख प्रा.डा. ढकाल, प्रशिक्षक कानुन व्यवसायी विनोद कार्की, समाजका अध्यक्ष शम्भु लामाले मानव अधिकारका विषयमा सहजीकरण गर्नु भएको थियो ।

प्रशिक्षण कार्यक्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा कार्यरत सुरक्षाकर्मी, भोजपुर बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थी, प्राध्यापक, शिक्षक, पत्रकार, नागरिक समाज, व्यवसायी लगायतको सहभागिता रहेको थियो ।