काठमाडौँ, २४ वैशाख । आमूल परिवर्तन नागरिक पार्टीले भारत र पाकिस्तानबीच हालै भएको सैन्य द्वन्द्वप्रति गहिरो चिन्ता व्यक्त गर्दै संवाद र संयमता अपनाउन दुबै देशलाई आग्रह गरेको छ ।
पार्टी अध्यक्ष दल मर्दन कामीद्वारा जारी विज्ञप्तिमा भनिएको छ "द्वन्द्वका कारण मानवीय क्षति र भूराजनीतिक अस्थिरता सिर्जना भएकोप्रति गहिरो चिन्ता व्यक्त गर्दै द्वन्द्वले दुई देशमा मात्र होइन सम्पूर्ण दक्षिण एशियामा नकारात्मक असर पारेकोमा चिन्ता व्यक्त गर्दछाैं ।"
विज्ञप्तिमा सार्क राष्ट्रहरूबीचको सामाजिक–आर्थिक सम्बन्ध र साझेदारीतालाई दृष्टिगत गर्दै यस्तो द्वन्द्वले सबैलाई एकता, शान्ति, समृद्धि र स्थायित्वमा चुनौती उत्पन्न गर्न सक्ने भन्दै कूटनीतिक संवाद र आपसी समझदारीमार्फत समस्या समाधानको आवश्यकता औँल्याइएको छ ।
साे पार्टीले द्वन्द्वबाट प्रभावित दुबै देशका नागरिकप्रति समवेदना व्यक्त गर्दै नेपाल सरकारलाई पनि उक्त द्वन्द्वप्रति सन्तुलित कूटनीतिक पहल मार्फत शान्तिका पक्षमा भूमिका निर्वाह गर्न सुझाव दिएको छ ।
आमूल परिवर्तन नागरिक पार्टीले दक्षिण एसियाली सबै मुलुकहरूका नेतृत्व र सरोकारवाला सबैलाई शान्ति, सहकार्य र मानव हितलाई प्राथमिकतामा राखेर दीर्घकालीन समाधानतर्फ कदम चाल्न आह्वान गरेको छ।