रौतहट, २१ वैशाख । जिल्लाको चन्द्रपुर ४ स्थित आइतबार बिहान भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गरूडा नगरपालिका २ गेडही गुठ्ठी का ६० वर्षीय बलिराम सहनी तथा ४० वर्षीय उनकी छोरी उर्मिला देवी रहेकी छिन् ।
ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक राजकुमार राईका अनुसार बिहानको समयमा मोटरसाइकल तथा कार एक आपसमा ठोक्किएर दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको बताएका छन् । दुर्घटनामा परी सख्त घाइते भएका दुवै जनाको उपचारको क्रममा मृत्यु भएको उनले बताए । बुवा बलिराम सहनी चन्द्रपुर स्थित हाइवे ट्रमा सेन्टर र छोरी उर्मिलाको एलएस न्यूराे हस्पिटल बारामा मृत्यु भएको प्र ना उ राईले पुष्टि गरेका छन् ।
उनका अनुसार मृतक सहनीले चलाएको ना ३ प ९५१२ नम्बरको मोटरसाइकललाई बा ६ च ३५२६ नम्बरको कारले ठक्कर दिएको थियो । दुर्घटनापछि कार चालक प्रहरी नियन्त्रणमा रहेको उनले बताए । घटना पश्चात् मुचुल्का उठाउने काम भइरहेको तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको हो ।
स्थानीय बासिन्दाहरूले ट्राफिक व्यवस्थापनमा चासो नदिएकोप्रति गुनासो व्यक्त गरेका छन् । राम्रो सँग ट्राफिक व्यवस्थापन हुन नसक्दा घटनाहरू घटिरहेको सर्वसाधारणका गुनासो रहेको हो ।