शुक्रबार ०९ जेठ, २०८२

नेपाली समय

आमन्त्रित अन्तर्राष्ट्रिय भोजपुर गोल्डकपको उपाधि सशस्त्र प्रहरीको एपीएफलाई

आमन्त्रित अन्तर्राष्ट्रिय भोजपुर गोल्डकपको उपाधि सशस्त्र प्रहरीको एपीएफलाई

टक्सार (भोजपुर), २१ वैशाख । भोजपुरको प्रतिष्ठित आठौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लबले उचालेको छ । 

शनिवार भएको सेमीफाइनल खेलमा गत वर्षको सातौँ संस्करणको बिजेताचर्च ब्वाइज युनाइटेड ललितपुरलाई ४–० गोलले पराजित गर्दे एपीएफले गोल्डकपको उपाधि हात पार्न सफल भएको हो । एपीएफका लागि जर्सी नम्बर १७ का विशाल स्याङतान, जर्सी नम्बर ७ का समीराज थोकर, जर्सी नम्बर ११ का अनिश महर्जन र जर्सी नम्बर २१ का बिकी तामाङले एक एक गोल गर्दे टिमलाई विजयी बनाउन सफल भए । चर्च ब्वाइजको तर्फबाट कुनै पनि गोल हुन सकेन । फाइनल खेलको म्यान अफ द म्याच एपीएफका जर्सी नम्बर ३ का मान बहादुर राना भए ।

प्रतियोगिताको उत्कृष्ट गोल रक्षक एपीएफका जर्सी नम्बर २५ का सुजन बिक, सर्वाधिक गोलकर्ता एपीएफका जर्सी नम्बर ७ का समीराज थोकर, सर्वोत्कृष्ट खेलाडी जर्सी नम्बर १३ का पदम भट्टराई र सर्वोत्कृष्ट कोच एपीएफका मिलन राई बने । 

प्रतियोगिताको विजेता एपीएफ तथा उपविजेता चर्च ब्वाइज युनाइटेडले नगद पाँच लाख र तीन लाखका साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन । विजेता टिम तथा खेलाडीहरूलाई कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राई, भोजपुर नगरपालिकाका नगर प्रमुख कैलाश कुमार आले, भोजपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रवीण कुमार सुवाल लगायतले पुरस्कार बितरण गरे ।

जिल्ला फुटबल सङ्घको आयोजना तथा भोजपुर नगरपालिकाको ३० लाख मुख्य प्रायोजनमा सञ्चालन भएको प्रतियोगितामा छिमेकी भारतको जर्जियन फुटबल क्लब, आयोजक भोजपुर जिल्ला फुटबल सङ्घ, सलहेश फुटबल क्लब सिरहा, सशस्त्र प्रहरी बल नेपाल, भगवती स्पोर्टस क्लब खोटाङ, नवोबुद्ध फुटबल क्लब सप्तरी, चर्च ब्वाइज युनाइटेड काठमाडौँ र एलएक्स सिटि मोरङ गरी आठ टिमले सहभागिता जनाएको थियो ।