वीरगञ्ज (पर्सा), १३ वैशाख । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र वीरगञ्जले आज आयोजना गरेको निःशुल्क आँखा शिविरबाट एक सय ४९ जना सेवाग्राही लाभान्वित भएका छन् । वीरगञ्ज महानगर-२ छपकैयाँस्थित छठघाटस्थित धर्मशालामा आयोजित शिविरमा ३५ जना मोतियाविन्दुका बिरामी भेट्टिएका हुन् ।
वीरगञ्ज महानगरका उपप्रमुख इम्तियाज आलमले महानगरका सहरी तथा ग्रामीण बस्तीमा आँखाका बिरामी उपचार गर्न आनाकानी गर्ने प्रवृत्तिले बस्तीबस्तीमा शिविर गर्न आवश्यक भएको बताउनुभयो । “वीरगञ्जका टोलटोलमा आँखा अस्पताल छन् । उपचार गर्न जाने प्रवृत्ति कम भएकाले त्यस्ता बिरामीलाई लक्षित गरी शिविर गर्न आवश्यक छ । सोही अनुसार अहिले सुरुवात गरेका छौँ ।”
वीरगञ्ज सामुदायिक आँखा केन्द्रका नेत्र अधिकृत महेशसिंह धामीले तराई-मधेसमा आँखाका बिरामी उपचार गर्न अस्पताल जान असहज मान्ने भएकाले शिविर जरुरी रहेको बताउनुभयो । “केन्द्रले समुदायमा रहेका सीमान्तकृत तथा आर्थिक अभावका कारण समस्यामा परेका नागरिकको शिविरमार्फत मोतियाविन्दु पहिचान गरी निःशुल्क शल्यक्रिया गर्दै आइरहेका छौँ”, उहाँले भन्नुभयो, “हामीले निःशुल्क आँखा शिविर वर्षभरि गर्दै आइरहेका छौँ । जसबाट हजारौँ सर्वसाधारणले आँखाको ज्योति पाउँदै आउनुभएको छ ।”
केन्द्रले तिलगङ्गा आँखा प्रतिष्ठान र क्रियुर ब्लाइन्डनेस संस्थासँगको साझेदारीमा पर्सा, बारा, रौतहटलगायत जिल्लामा सातापिच्छे निःशुल्क आँखा शिविर र निःशुल्क मोतियाविन्दुको शल्यक्रिया गर्दै आइरहेको छ । नेत्र अधिकृत सिंहले तराई-मधेसका नागरिकले आँखाको हेरचाह र सुरक्षामा विशेष चासो दिनुपर्नेमा जोड दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख गौतम मिश्रले आँखा मानव जीवनको अभिन्न अङ्ग भएकाले यसको विशेष हेरचाह र सुरक्षामा ध्यान दिन सबैलाई अनुरोध गर्नुभयो । केन्द्रका अध्यक्ष ग्यासुदिन ठकुराहीले आँखा शिविरमा आएका बिरामीलाई निःशुल्क औषधि वितरण गरिएको जानकारी दिनुभयो । “मोतियाविन्दु भेट्टिएका बिरामीलाई निःशुल्क शल्यक्रियाको पनि प्रबन्ध गरेका छौँ”, उहाँले भन्नुभयो ।