शुक्रबार ०९ जेठ, २०८२

नेपाली समय

‘जलवायु परिवर्तनबाट बालबालिका र युवाहरु बढी प्रभावित’

‘जलवायु परिवर्तनबाट बालबालिका र युवाहरु बढी प्रभावित’
फाइल फोटो

काठमाडौँ, १३ वैशाख । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनबाट बालबालिका र युवाहरु प्रभावित भएको बताउनुभएको छ । 

नेपाल सरकार तथा संयुक्त राष्ट्र सङ्घ नेपालको संयुक्त आयोजनामा भएको ‘वायु संवादः नेपालको जलवायु मुद्दाको केन्द्रमा बालबालिका तथा  युवा’ कार्यक्रममा उहाँले भन्नुभयो, “जलवायु परिवर्तनका कारण बालबालिका तथा युवाहरुको स्वच्छ जीवन, स्वच्छ हावा, स्वच्छ पानी र हरियाली वातावरणमा बाँच्न पाउने अधिकार हनन भएको छ ।” उहाँले जलवायु परिवर्तनले पारेको असरबारे सरकारले पैरवी र बहस तथा न्यूनीकरणमा निरन्तर प्रयासरत रहेको बताउनुभयो ।

वन तथा वातावरण मन्त्रालयका सचिव डा राजेन्द्रप्रसाद मिश्रले बालबालिका र युवामा लगानी गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “बालबालिका र युवा नै हाम्रा सम्पत्ति हुन् । ती सम्पत्तिलाई उग्रने र उम्रिने मौका सिर्जना गर्नुपर्ने आवश्यकता छ । बालबालिका तथा युवामा लगानी गरौँ । जलवायु परिवर्तन बारे बुझौँ आत्मसाथ गरौँ । सङ्कट न्यूनीकरणमा सबैले काम गरौँ ।”

नेपालका लागि संयुक्त राष्ट्र सङ्घका कार्यवाहक आवसीय संयोजक एलिस् अकुङ्गाले सबै बालबालिकाले सुरक्षित र स्वस्थ वातावरणमा हुर्कन पाउने अधिकार राख्नुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “जलवायु परिवर्तनले यस अधिकारलाई दैनिक रूपमा जोखिममा पारिरहेको छ ।”

युनिसेफका दक्षिण एसिया क्षेत्रीय जलवायु सल्लाहकार रक्षा राजेश्वरी थापाले नेपाल जलवायु परिवर्तनको असरबाट बालबालिका तथा युवाहरु बढी प्रभावित भएको बताउनुभयो । अत्यधिक गर्मी, भीषण वर्षा, जलवायुजन्य विपद् र प्रदूषित हावापानीले स्वास्थ्यमा जोखिम पारिरहेको उल्लेख गर्नुभयो । 

शिखर सम्मेलन सगरमाथा संवादको एक भागका रूपमा बालबालिका र युवाहरूमा समर्पित रहेको जनाइएको छ । यो नेपाल सरकार, संयुक्त राष्ट्र सङ्घ नेपाल र देशका युवा सञ्जालहरूले संयुक्त रूपमा आयोजना गर्ने युवा–नेतृत्वको कार्यक्रम हो ।

कार्यक्रममा देशभरिका १०० भन्दा बढी बालबालिका तथा युवाहरु सहभागी छन् । यो राष्ट्रिय संवाद नेपाल सरकारको आयोजनामा हुन गइरहेको अन्तर्राष्ट्रिय सगरमाथा संवादको अगाडि बालबालिका तथा युवाको नेतृत्वमा जलवायु परिवर्तन प्रतिकार्यका विषयमा केन्द्रित कार्यक्रम थियो ।