रौतहट, १२ वैशाख । जिल्लाको मध्यभाग रहेको गरुडा नगरपालिका ८ स्थित चाँदी खोलामा एक बालकको शव फेला परेको छ। पछिल्लो ५ दिन देखि हराइरहेका वृन्दावन नगरपालिका ७ बस्ने सुरुज राय यादवको १४ वर्षीय छोरा कृष्ण प्रसाद यादवको शव पानीमा घोप्टो अवस्थामा शुक्रबार बिहान ९ बजेको समयमा फेला परेको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक राजन कार्कीले बताए।
घटनाको जानकारी प्राप्त हुनासाथ डिएसपी कार्कीसहितको टोली अनुसन्धानको लागि घटनास्थलमा खटिएको हो । बरामद शवको प्रकृति हेर्दा कर्तव्य गरी हत्या गरिएको जस्तो देखिएको डीएसपी कार्कीले जानकारी दिए। बालकको पेट र कन्चटमा गहिरो घाउ खत देखिएकाले धारिलो हतियारले प्रहार गरेको हुनसक्ने अनुमान रहेको कार्कीले बताए।
मृतकको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चन्द्रनिगाहपुर पठाइएको प्रहरीले जनाए। मृतक कृष्ण गत ६ गते बेलुकी ४ बजे घरबाट बिर्ता गाउँ जान्छु भनी आफ्नै मोटरसाइकल चढेर निस्किएका थिए। ३ दिनसम्म बालक घरमा फिर्ता नआएपछि गत ९ गते पीडित परिवारले जिल्ला प्रहरी कार्यालय ज्येष्ठ नागरिक महिला तथा बालबालिका सेल गरुडामा खोजतलासको लागि निवेदन दिएका थिए ।