रौतहट, १२ वैशाख । गौर भन्सार कार्यालयमा प्लान्ट क्वारेन्टिन खाद्यान्न शाखा स्थापनाको माग गर्दै शुक्रवार छैटौँ दिन व्यापारी एवं व्यवसायीहरू धर्ना प्रदर्शन कार्यलाई निरन्तरता दिएका छन् ।स्थानीय अगुवा व्यापारी व्यवसायी कौशल साहको नेतृत्वमा व्यवसायीहरू शुक्रवार छैटौँ दिनको १२ बजेदेखि २ बजे सम्म गौर भन्सार कार्यालयको मुख्य गेटमा धर्ना प्रदर्शन कार्यक्रमलाई जारी राखेका हुन् ।
रौतहट उद्योग वाणिज्य सङ्घका अध्यक्ष पण्डित प्रसाद जयसवालले व्यापारी व्यवसायीहरूको उचित मागलाई राज्यले बेवास्ता गरिरहँदा आफूहरू व्यापारी व्यवसायीकै हितमा काम गर्ने भएको हुँदा धर्ना प्रदर्शनमा ऎकबद्धता जनाउँदै धर्नामा बसेको बताए ।
प्लान्ट क्वारेन्टिन खाद्यान्न परीक्षण गर्ने कार्यालयको अभावमा यहाँका व्यापारीहरूलाई वीरगञ्जको बाटो भएर प्याज, आलु, फलफूल, चामल लगायतका खाद्यान्न सामाग्री ल्याउँदा चर्को ढुवानी खर्चका कारण महँगो हुँदा व्यापार गर्न चुनौती रहेको हुँदा गौर भन्सार कार्यालयमा प्लान्ट क्वारेन्टिन खाद्यान्न शाखा अनिवार्य रूपमा स्थापना गरेर यहाँ खेर गइरहेका राजस्वलाई सदुपयोग गर्न समेत सङ्घका अध्यक्ष जयसवाले सम्बद्ध निकायको ध्यानाकर्षण गराए ।
अगुवा व्यापारी व्यवसायी कौशल साहले २०३३ सालमा स्थापना भएको गौर भन्सार कार्यालयमा विगतका वर्षहरूमा प्लान्ट क्वारेन्टिन खाद्यान्न सामानहरू निर्बाध रूपमा आईरहँदा पनि केही महिना देखि यहाँका व्यापारीहरूलाई बीरगञ्ज र मलंगवा भएर खाद्यान्न सामानहरू ल्याउनुपर्ने बाध्यात्मक अवस्था रहेको हुँदा गौर भन्सार कार्यालयमा अविलम्ब प्लान्ट क्वारेन्टिन खाद्यान्न कार्यालयको स्थापनाको माग गर्दै व्यापारीहरू आन्दोलित भएर शुक्रवार छैंटौँ दिन धर्नामा बसेको गुनासो पोखे ।
चैत ३१ गते भन्सार कार्यालय प्रमुख मार्फत अर्थमन्त्रीलाई ज्ञापन पत्र बुझाएको जानकारी दिँदै व्यापारी साहले वैशाख ७ देखि १५ गते सम्म धर्ना प्रदर्शनबाट सुनवाइ भएन भने आउँदो वैशाख १६ गते गौरका बजार क्षेत्र बन्द गराएर भन्सार कार्यालयमा अनिश्चितकालीन ताला लगाउने चेतावनी दिएका हुन् ।