भोजपुर, ११ वैशाख । शिक्षकहरूको आन्दोलनले विद्यालयको शैक्षिक गतिविधि ठप्प भएको भन्दै भोजपुरमा अभिभावकहरूले शिक्षकका मागमा विषयमा सम्बोधन हुने वातावरण बनाई विद्यालय खुल्ने व्यवस्था मिलाई दिन प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र पठाएका छन् ।
भोजपुर नगरपालिका वडा नम्बर ४ मा रहेको सिद्धेश्वर माध्यमिक विद्यालयका अभिभावकहरूले भोजपुरका प्रमुख जिल्ला अधिकारी नर बहादुर थापा मार्फत बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ध्यानाकर्षण पत्र पठाएका हुन् । अभिभावकहरूले हस्ताक्षर गरी पठाएको ध्यानाकर्षण पत्रमा शिक्षक महासङ्घको अगुवाइमा शिक्षक तथा विद्यालयका कर्मचारीहरूको सेवा सुविधा वृद्धि लगायत विभिन्न माग राखी गत चैत्र २० देखि निरन्तर भईरहेको आन्दोलनले विद्यालयको पठनपाठन ठप्प भएको, नियमित भर्ना अभियान, विद्यालयमा शैक्षिक गतिविधि नभएको, सरकारी विद्यालयप्रति अभिभावकको बिश्वास घटेको, विद्यार्थीहरू निजी विद्यालयतर्फ भर्ना हुने दर उच्च देखिएकोले यसतर्फ अभिभावकहरूको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।
ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘शिक्षकहरूको उचित मागहरूप्रति हाम्रो पनि ऐक्यबद्धता रहेको सो मागहरूको यथाशीघ्र सम्बोधन गरी आन्दोलनरत पक्षलाई विद्यालयमा फर्की नियमित कार्य गर्ने वातावरण निर्माण गर्न जोडदार माग गर्दछौ ।’ शिक्षकहरूको आन्दोलनका कारण विद्यार्थीहरूको उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशनमा प्रभाव परेको, अघिल्लो कक्षामा जानुपर्ने विद्यार्थीको मनोबलमा असर परेको अभिभावकहरूको ध्यानाकर्षण पत्रमा भनिएको छ ।
‘विद्यालयको नियमित गतिविधि सञ्चालन गरी विद्यार्थीहरूको सुनौलो भविष्य निर्माणमा सहयोग गरी दिनुहुन नेपाल सरकार सम्बन्धित सरोकारवाला सबै निकायहरूलाई भूमिका निर्वाह गर्न ध्यानाकर्षण गर्न चाहन्छौँ ।’ अभिभावकले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई पठाएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
समस्याको समाधान भई विगतमै जस्तै नियमित पठनपाठनको व्यवस्थाका लागि आफूहरूले प्रमुख जिल्ला अधिकारी मार्फत सरकारको ध्यानाकर्षण गराएको विद्यालयका पूर्व व्यवस्थापन समिति अध्यक्ष हरि बहादुर खडकाले बताउनुभयो ।