शुक्रबार ०९ जेठ, २०८२

नेपाली समय

भोजपुरमा वैशाख १३ गते प्रदेश स्तरीय वास्तु सम्मेलन

भोजपुरमा वैशाख १३ गते प्रदेश स्तरीय वास्तु सम्मेलन

भोजपुर, १० वैशाख । भोजपुरमा आगामी वैशाख १३ गते कोशी प्रदेश स्तरीय वास्तु अनुसन्धान सम्मेलनको आयोजना गरिएको छ । धर्म, ज्योतिष तथा वास्तु सम्मेलनका लागि अहिले जिल्ला तहमा तयारी समेत भई रहेको छ । 

नेपाल ज्योतिष परिषद् भोजपुरको आयोजनामा प्रदेश स्तरीय बृहत् वास्तु सम्मेलन तथा जिल्ला अधिवेशन हुन लागेको हो । प्रदेशका जिल्लाहरूबाट प्रतिनिधीमुलकरुपमा ज्योतिषहरूको सहभागिता हुने छ । सम्मेलनमा बास्तुशास्त्र सम्बन्धी विशेष छलफल समेत हुने छ ।

नेपाल ज्योतिष परिषद् जिल्ला समिति भोजपुरका अध्यक्ष कमल प्रसाद दाहालले भन्नुभयो, ‘‘वास्तुसम्बन्धी व्यवहारिक एवं सैद्धान्तिक पक्षको ज्ञान आर्जन गर्नका लागि पनि यो सम्मेलन महत्त्वपूर्ण हुनेछ ।” सम्मेलनमा धर्म, अध्यात्म, कर्मकाण्ड, ज्योतिष विद्या, योग, तन्त्र, साधना, वास्तु विज्ञ, निर्माण व्यवसायी, व्यापारी, एवं वास्तु विषयसँग रुचि राख्ने र तत्सम्बन्धी काम गर्दै आएका व्यक्तिहरू सहभागी हुने अध्यक्ष दाहालले जानकारी दिनुभयो । 

वास्तु सम्मेलनले जिल्ला परिषद्को नेतृत्व समेत चयन गर्ने छ भने विभिन्न विद्यामा छनौट हुनु भएका व्यक्ति तथा संस्थाहरूलाई पनि सो क्रममा सम्मान तथा कदरपत्रबाट सम्मान गरिने कार्यक्रम समेत रहेको छ । शिक्षा, साहित्य, सङ्गीत, सामाजिक कार्य, सञ्चार, धार्मिक लगायतका विद्यामा सम्मान गरिने परिषद्का कोशी प्रदेश उपाध्यक्ष रमेश सुवेदीले बताउनुभयो ।