शुक्रबार ०९ जेठ, २०८२

नेपाली समय

हत्या गरिएको छोरीको जाहेरी लिन प्रहरीले नमानेको पीडितको आरोप

हत्या गरिएको छोरीको जाहेरी लिन प्रहरीले नमानेको पीडितको आरोप

रौतहट, ६ वैशाख । जिल्लाको उत्तरी भेगमा पर्ने गढीमाई नगरपालिका ४ संग्रामपुर पर्सा माइती भई रौतहटकै दुर्गा भगवती गाउँपालिका ३ मत्सरीमा बिहे भएकी एक युवतीको हत्या गरी शव झुन्ड्याइदिएको आरोप आफन्तले लगाएको छ । जिल्लाको मध्यभागमा रहेको गरुडास्थित होटल एनपि स्टारमा आयोजित पत्रकार सम्मेलनमा मृतक २७ वर्षीया अलका ठाकुरका बुबा राम किशोर ठाकुर, आमा अनिता कुमारी ठाकुर र भाइ मनमोहन ठाकुरसहितका आफन्तहरूले मृतकका पति संजीव झा र घरपरिवारका अन्य सदस्य मिलेर हत्या गरी शव झुन्ड्याएको आरोप लगाएका हुन् । 

घटना गत वैशाख १ गते सोमबारको भएको पीडित पक्षको भनाई छ । बिहान साढे ९ बजेतिर छोरी ज्वाइँ संजीव ठाकुरले फोन गरेर छोरी मर्न लागेको जानकारी गराएका थिए । छोरीको अवस्था बुझ्न सदरमुकाम गौर नजिक रहेको सिसवाबाट आफन्तलाई पठाउँदा छोरीलाई झुन्डिएको अवस्थामा स्थानीय तथा प्रहरी प्रशासनले चारैतिरबाट घेरेर राखेको र शव उठाउने मुचुल्का बनाइरहेको बताएपछि आफूहरू दौडेर त्यहाँ पुगेको ठाकुरको भनाई रहेको छ । 

केही आफन्तसहित छोरीको घरमा पुगेका ठाकुरलाई त्यहाँको अवस्थाको बारेमा फोटोसमेत प्रहरीले खिच्न नदिएको आरोप रहेको छ । ठाकुरले भने – 'प्रहरीले फोटोसमेत खिच्न दिएनन् ।' 

त्यहाँ रहेका झा परिवारले भने जस्तै प्रहरीले एकोहोरो गरेको र शव उठाएपछि बलजफ्ती गौरमा पोस्टमार्टम गर्न खोज्दा आफूहरूले रोकेर काठमाडौँमा गर्ने अडान लिएको पत्रकार सम्मेलनमा ठाकुरले बताए । काठमाडौँमा पोस्टमार्टम गरेपछि अस्पतालले आफूलाई शवको जिम्मा दिएको मृतकको भाइ मनमोहन ठाकुरको भनाई रहेको छ । आफूले शव बुझेको तर रौतहट ल्याएपछि तिन ट्रक प्रहरीले बलजफ्ती लास खोसेर मत्सरीका झा परिवारको जिम्मा दिएको आरोप लगाएका छन् । आफूहरूले नै शवको सद्गति गर्न पाउनुपर्ने अडान राखेपछि प्रहरीले लछारपछार गरेको, लाठी चार्ज गरेको र आफूहरूमाथि अमानवीय व्यवहार गरेका ठाकुरको भनाइ छ ।

ठाकुरले गत २०७६ जेठ ५ गते धुमधामसित साढे २२ लाख रुपैयाँ खर्चेर छोरीको विवाह झा सित गरेको बताउँदै पछि थप साढे तिन लाख रुपैयाँ दिएको र छोरीले पनि ज्वाईँलाई चार चक्के गाडी किन्न सात लाख रुपैयाँ दिएको बताएका छन् । बिहे भएको ६ वर्षसम्म झाले विवाह दर्ता नगराएको आरोप लगाउँदै पहिलेदेखि नै छोरीमाथि झा परिवारको कुदृष्टि रहेको आरोप लगाएका छन् । अनेक किसिमको दुर्व्यवहार सहँदै छोरीले एउटा इन्स्योरेन्स कम्पनीमा काम गरिरहेकी थिइन् । झा परिवारले हत्या गर्नुभन्दा दुई दिन पहिलेदेखि नै छोरी चढ्ने स्कुटरको साँचो खोसेर राखेका थिए । शनिवारदेखि कुरा समेत गर्न नदिएको झा परिवारले सोमवार छोरीको हत्या गरी झुन्ड्याएर प्रहरीको सहयोगमा आत्महत्यामा परिणत गरेको आरोप पीडित पक्षको रहेको छ । 

मृतकका बुबा र आमाले पत्रकारसामु भक्कानिएर रुँदै भने – आफूहरूको सहारा कोही छैन । पीडित परिवारले मानव अधिकारवादी संघसंस्थाहरुले पनि घटनाको छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउनुपर्ने आग्रह गरेका छन् । 

जिल्ला प्रहरी कार्यालय रौतहटका  प्रहरी नायब उपरीक्षक दिपक कुमार रायले घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको बताएका छन् । पोस्टमार्टमको रिपोर्ट आएपछि सोहीअनुसार अगाडि बढ्ने रौतहट प्रहरीको भनाई रहेको छ।