शुक्रबार ०९ जेठ, २०८२

नेपाली समय

वडाध्यक्षले नै जग्गा कब्जा गराउन लगाएको स्थानीयहरूको आरोप

वडाध्यक्षले नै जग्गा कब्जा गराउन लगाएको स्थानीयहरूको आरोप

रौतहट, ६ वैशाख । जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नं १ गंगा पिपरामा निर्वाचित वडाअध्यक्षले बर्षौदेखि भोग चलनमा रहेको जग्गा बल प्रयोग गरी आफ्नो नजिकको व्यक्तिलाई कब्जा गराउन लागेको घटना बाहिरिएको छ।

दोस्रो कार्यकालको लागि स्थानीय तहको निर्वाचनमा जितेका वडा अध्यक्ष प्रधुमन चौधरीले बाजे बुबाको पाला देखि नै भोग चलनमा रहेको ५ धूर जग्गा बलपूर्वक सत्ताको दुरुपयोग गरी अरूलाई कब्जा गराउन लागेको पीडित प्रभु महतोले आरोप लगाएका हुन् ।

सर्भे नापी हुनु भन्दा पहिला नै बाजेले सो जग्गा खरिद गरी सबैलाई पानी खाने उद्देश्यले कुवा खनाएको उल्लेख गर्दै सो इनार माटोले पुरिए पछि जग्गा भोग गर्दै आएकोमा वडा अध्यक्ष चौधरी आफ्नो पक्षको तेज नारायण महतोलाई कब्जा गराउन लागेको दाबी गरे। तेज नारायण महतोको जग्गादेखि टाँसिएर घर भएको र आउनेजाने बाटो समेत भएकोमा बाटो निकास बन्द गराउन पर्खाल निर्माण गराएको पीडितको भनाइ रहेको छ।

बाटो थुन्ने काम गरेकोले निकासको व्यवस्थापन गराई निर्माण कार्य रोक्का राख्नको लागि न्यायिक समितिमा उजुरी दिएको सुनाउँदै पीडित महतोले न्यायिक समितिबाट चैत्र २९ गते निर्माण कार्य रोक्का गर्न ईलाका प्रहरी कार्यालय र वडा कार्यालय समेतमा पत्राचार गरिएकोमा सोको कुनै वास्ता नगरी वडाअध्यक्ष चौधरीले बलपूर्वक बर्षौदेखि भोग गर्दै आएको जग्गा खाली गराएको उल्लेख गरे।

सर्भे नापीमा सो जग्गा ऐलानी उल्लेख भएपनि भोगमा रहेको महतोको जिकिर रहेको हो । वडाअध्यक्ष चौधरी, राजेश चौधरी, मनोज चौधरी, अनिरुद्ध चौधरी, विनय चौधरी लगायतका समूहले बल प्रयोग गर्दै जग्गामा भएको हैन्ड पाइप, शौचालय समेत तोडी फाल्न लाग्दा विरोध गर्दा हातपात समेत गरेको सोनफि महतोले बताए।

सार्वजनिक जग्गा आफ्नो अधिकार क्षेत्र भित्र रहेकोले खाली गराउन लागेको वडा अध्यक्षले भनेको उनले सुनाए। सार्वजनिक बाटो च्यापेर आफैले बनाएको घर पहिला भत्काएर आउनु भन्दा वडा अध्यक्ष चौधरीले दुर्व्यवहार समेत गरेको सोनफी महतोको आरोप रहेको छ। गाउँमा धेरै ठाउँमा सार्वजनिक जग्गा रहेकोले सबै खालि गराए हामीले पनि सो जग्गा छोड्ने असर्फी महतो र भोजिन्द्र महतोको अडान रहेको छ।

वडाअध्यक्ष चौधरी भ्रष्टाचारमा लिप्त रहेको र पैसाको लोभमा परेर यस्तो गरिरहेको हुद्दा प्रतिकार गर्ने चेतावनी पिडितहरुको रहेको छ। स्थानीय शम्भु महतोले भोट नदिएको कारण चौधरीले अन्याय गर्न लागेको टिप्पणी गरे। उनले जसले बोट दिएको छ उसलाई आर्थिक लाभ दिने र लिने चौधरीको बानी रहेको दाबी समेत गरे।

अगाडी सार्वजनिक जग्गा र पछाडि निजी जग्गा र त्यसको पछाडि प्रभु महतो, सोनफी महतो, असर्फी महतोको खपडाको घर रहेकोले तेज नारायण महतोले कम्पाउण्ड वाल लगाए पछि आवतजावत गर्ने निकास नै अवरुद्ध हुने भएकोले बाटोको निकास तथा सार्वजनिक जग्गाको संरक्षण गर्ने तर्फ गाउँपालिकाले निर्णायक भूमिका निर्वाह गर्नु पर्ने देखिन्छ।