शुक्रबार ०९ जेठ, २०८२

नेपाली समय

व्यवसायी माथि भएको दुर्व्यवहारको घटनालाई लिएर प्रमुख जिल्ला अधिकारी समक्ष उद्योग वाणिज्य संघको ज्ञापन पत्र

व्यवसायी माथि भएको दुर्व्यवहारको घटनालाई लिएर प्रमुख जिल्ला अधिकारी समक्ष  उद्योग वाणिज्य संघको ज्ञापन पत्र

रौतहट, ३ बैसाख । उद्योग वाणिज्य संघले व्यवसायी माथि भएको दुर्व्यवहारको घटनालाई लिएर बुधवार अपराह्न प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र बुझाएका छन् ।

रौतहट उद्योग वाणिज्य सङ्घका अध्यक्ष पण्डित प्रसाद जयसवालको नेतृत्वमा सङ्घका पदाधिकारीहरू सहित व्यापारी जिल्ला प्रशासन कार्यालय रौतहटमा प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्का सँग भेटेर मंगलवार राति सशस्त्र प्रहरीका डिएसपीद्वारा गरिएको दुर्व्यवहारको जानकारी गराउँदै त्यस्ता कार्य गर्नेलाई आवश्यक कारबाही गर्न ज्ञापन पत्र बुझाउँदै जोडदार रूपमा माग गरेका हुन् ।

गएराति साढे ८ बजेको समयमा गौर नगरपालिका वडा नम्बर ५ स्थित नेपाल लज छेउमा निताई कस्मेटिक पसल सञ्चालन गरेका शनी केसरीले नेपाली उत्पादन पतञ्जलि सहितका नेपाली सामानका डिलरसिप सञ्चालन गरिरहेको पसल अगाडी पार्किङमा रहेका उनका पिकमा अनलाईन भ्याट विल काटिएका सामानहरूलाई बलजफती लिएर हिँड्न दबाब दिँदा स्थानीयहरू भेला भएर सशस्त्र प्रहरीका डिएसपी दिनेश बस्नेत सिभिलमा रक्सीले मातिएका अवस्थामा थिए । स्थानीयहरू आक्रोशित बन्दै डिएसपीलाई समातेर मेडिकल जाँच गराउन भन्ने बित्तिकै उनीहरू गाडी छाडेर कुलेलम ठोकेका थिए ।

सोही घटनालाई लिएर त्रसित बनेका व्यापारीहरू उद्योग वाणिज्य सङ्घको माध्यमबाट प्रमुख जिल्ला अधिकारी खड्का समक्ष ज्ञापन पत्र बुझाएर समस्याहरू राखे । सशस्त्र प्रहरीका एसपी सन्तोषकुमार बस्नेतले राति भएको घटना प्रति आफै संवेदनशील रहेको, ती विषयमा अनुसन्धान गरिरहेका लगायतको कमीकमजोरी भएको स्वीकार गरे ।

प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले लिगल रूपमा काम गर्ने व्यापारीलाई प्रोत्साहित गर्नुपर्ने तर नहुनुपर्ने कार्य भएकोमा हामी आन्तरिक रूपमा सम्बोधन गर्ने आश्वासन दिए । उनले भने, "व्यापार राम्ररी गर्नुस्, राज्यलाई कर तिर्ने व्यापारीहरूलाई सम्बद्ध निकायले प्रोत्साहित गर्ने गर्दछ, हाम्रा कुनै अङ्गबाट कमीकमजोरी भएको छ भने त्यसलाई सच्याएर अघि बढ्ने प्रतिबद्धता गर्दछौँ।"

ज्ञापन पत्र बुझाउनमा अध्यक्षसँगै महासचिव रबी प्रसाद गोपाली सहितका पदाधिकारीहरू, नागरिक समाजका अध्यक्ष जगन्नाथ प्रसाद केसरी, प्रतिष्ठित व्यापारी सन्तोष केसरी सहित एक दर्जन भन्दा बढी व्यापारी व्यवसायीहरूको उपस्थिति रहेको थियो ।