शनिबार ०६ बैशाख, २०८२

नेपाली समय

एक महिलाको झुण्डिएको अवस्थामा फेला, माइती पक्षले छोरीको हत्या गरेर झुण्डियाइएको आरोप

एक महिलाको झुण्डिएको अवस्थामा फेला, माइती पक्षले छोरीको हत्या गरेर झुण्डियाइएको आरोप

रौतहट, १ वैशाख । जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नम्बर ३ मत्सरीमा नयाँ वर्षका दिन दुखद घटना घटेको छ ।

दुर्गा भगवती गापाको मत्सरी गाउँ निवासी संजिवकुमार झाको ३५ बर्षीया श्रीमती अल्काकुमारी ठाकुर झा सोमवार बिहान साढे ९ बजेको समयमा आफ्नै कोठामा झुण्डिएकी अवस्थामा फेला परेकी हुन् ।

विद्युतीय पङ्खामा पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेपछि प्रहरीमा खबर गरिएको थियो । जिल्ला प्रहरी कार्यालय रौतहट गौरबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएका प्रहरी टोलीले झुण्डिएकी मृत महिलाको माइती पक्षलाई खबर गरेपछि रौतहट गढीमाई नगरपालिकाको पर्सा गाउँ बस्ने राजकिशोर ठाकुर आमा अनिता देवी सहित उनका आफन्तहरू आएका थिए ।

तर मृतक महिलाको माइती पक्षको बुबा आमाले मेरो छोरीको हत्या गरिदियो, ८ वर्ष बिहेको भईसक्दा पनि अहिले सम्म विवाहदर्ता समेत नगरेको, पटक पटक दुख दिने गरेको हुँदा सबै मिलेर मारिदिएको रुँदै विलाप गर्दै थिए । कसैलाई नछाड्नुस् यिनीहरूले नै मेरो छोरीको हत्या गरेर झुण्डयाएको भनेर गाउँले समक्ष अलाप विलाप गरेछन् ।

प्रहरीले माइती पक्षको सहमति पछि पासो लगाइएका डोरीलाई काटेर घटनास्थलको मुचुल्का निर्वाचित वडाध्यक्षको रोहवरमा उठाएर शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा  लगिएको भएपनि माइती पक्षले गौरमा नगराई शिक्षण अस्पताल महाराजगञ्जमा पोष्टमार्टम गर्ने अडान लिएको बुझिएको हो ।

यस विषयमा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक दिपककुमार रायले आत्महत्या गरेको खबर प्राप्त भएपछि हाम्रो टोली त्यहाँ गएर शव ल्याउन कार्य गरेको हो । पोष्टमार्टम यहाँ गराउने कि काठमाडौं लाने सम्बन्धमा पछि खबर गर्ने तथा घटना सम्बन्धमा हामी सूक्ष्म अनुसन्धान गरिरहेको बताए ।