शनिबार ०६ बैशाख, २०८२

नेपाली समय

भारतीय युवक पिस्तोल, कोरेक्स  लागूपदार्थ सहित पक्राउ

भारतीय युवक पिस्तोल, कोरेक्स  लागूपदार्थ सहित पक्राउ

रौतहट, १ वैशाख । रौतहटको सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीले विशेष अपरेसनका क्रममा पिस्तोल, कोरेक्स सिरप र विभिन्न प्रकारका लागूपदार्थसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ।

भारतको बिहार राज्यको सीतामढी जिल्लाअन्तर्गत बैरगनिया थाना क्षेत्रको ग्राम पंचायत आदम्बान निवासी २२ वर्षीय किशन कुमारलाई पक्राउ गरिएको हो। उनलाई सशस्त्र प्रहरी बल नेपाल का डीएसपी दिनेश बस्नेतको कमान्डमा खटिएको टोलीले नियन्त्रणमा लिएको हो।

श्रोतका अनुसार,३० गतेको विशेष सुराकीका आधारमा अपरेशन चलाइएको थियो। पक्राउ परेका कुमारको साथबाट एक थान अवैध पिस्तोल, केही राउण्ड गोली, ठूलो मात्रामा कोरेक्स सिरप र अन्य प्रतिबन्धित लागूपदार्थ बरामद गरिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ। बरामद गरिएका सामग्री र पक्राउ परेका युवकलाई आवश्यक कानुनी प्रक्रिया पुरा गरी थप अनुसन्धानका लागि सम्बन्धित निकायमा बुझाइएको हो ।

यस घटनाले नेपाल–भारत सीमावर्ती क्षेत्रमा बढ्दो लागूपदार्थ तस्करी र अवैध हतियारको कारोबार प्रति गम्भीर सङ्केत गरेको छ। सुरक्षा निकायले यस्ता गतिविधिहरू रोक्न सीमा क्षेत्रमा निगरानी अझ कडा बनाइएको जनाएको हो ।

सशस्त्र प्रहरीका अनुसार, पछिल्लो समय नेपाल–भारत सीमामा लागूपदार्थ तस्करी, हतियार ओसारपसार र अन्य आपराधिक गतिविधि बढ्दै गएको पाइएको छ, जसलाई नियन्त्रण गर्न विशेष अपरेसनहरू सञ्चालन भइरहेका छन्।