आइतबार ०७ बैशाख, २०८२

नेपाली समय

'खेलकुदको जस्तो अनुशासन राजनीतिमा भएन': पूर्वमन्त्री किराँती

'खेलकुदको जस्तो अनुशासन राजनीतिमा भएन': पूर्वमन्त्री किराँती

(निरोज कोइराला)

भोजपुर, ३१ चैत । पूर्वमन्त्री सुदन किराँतीले खेलकुदमा जस्तै राजनीतिमा पनि अनुशासनको आवश्यकता रहेको बताउनु भएको छ । 

शनिबार भोजपुरको रामप्रसाद राई गाउँपालिकामा भएको तेस्रो बासिखोरा रनको औपचारिक कार्यक्रममा सम्बोधन गर्नुहुँदै सङ्घीय सांसद समेत रहनु भएका किराँतीले राजनीतिमा अनुशासन नहुँदा अस्थिरतासँगै आम जनतामा निराशा छाएको बताउनु भएको हो । उहाँले भन्नुभयो, “गणतन्त्र माथि वार्निङ घण्टी लाग्यो, हामी सच्चिनुको विकल्प छैन । अव अरुलाई गाली नगरौँ हामी आफै देखिने गरी सच्चिऊँ ।”

हाम्रो जस्तो लोकतन्त्रमा व्यवस्थापिकाले सडक बनाउँछ, कार्यपालिकाले गाडी कुदाउँछ अनि न्यायपालिकाले ट्राफिकको काम गर्छ तर यी तीन निकाय नै आफ्नो कर्तव्यवाट उदासीन बनेको बताउँदै किराँतीले भन्नुभयो, “खेलकुदमा अनुशासन र कठोर श्रम चाहिन्छ त्यो दुवै राजनीतिमा भएन । राजनीति अल्छे पनि भयो अराजक पनि भयो ।”

खेलकुदले संस्कृति र कूटनीतिक पुलको भूमिकासँगै भाइचाराको रसायनको काम समेत गर्ने किराँतीले बताउनुभयो । खेलकुदलाई उद्योगकोरुपमा विकास गरी अर्थतन्त्रमा टेवा पुर्‍याउन सकिने समेत किराँतीले बताउनुभयो ।