तम्घास (गुल्मी), ३० चैत । जिल्लाको इस्मा गाउँपालिका–६ अमरपुरका कुलचन्द्र गौतमको परिवारले बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन् । दुई दिनसम्म सञिचालित शिविरमा सात सय ३५ जनाले सेवा लिएका हुन् ।
संयुक्त राष्ट्रसङ्घका पूर्वसहायक महासचिवसमेत रहनुभहेका गौतमले आफ्नो जन्मगाउँ अमरपुरस्थित ‘अमरपुर स्वास्थ्य चौकी’ मा बिहीबार र शुक्रबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्नुभएको थियो । शिविरमा दुई सय ८३ पुरुष र चार सय ५२ महिलाले सेवा लिएका शिविरमा खटिनुभएका वरिष्ठ मिर्गाैला रोग विशेषज्ञ डा प्रकाश पौडेलले जानकारी दिनुभयो । शिविरमा ५८ पुरुष र ५५ महिलाको पिसाबमा प्रोटिन देखिएको उल्लेख गर्दै उहाँले उच्च रक्तचापका २३ र मधुमेहका ११ जना बिरामी भेटिएका बताउनुभयो ।
डा पौडेलले भन्नुभयो, “कतिपयलाई नयाँ औषधि चलाएका छौँ, कतिपयलाई पुनः परीक्षणका लागि बोलाएका छौँ । शिविरबाट एक सय १३ जना नयाँ बिरामी पहिचान भएका छन् ।” उहाँका अनुसार तीन सयभन्दा बढीको भिडियो एक्सरे गरिएको छ ।
शिविरमा नेपाल मेडिसिटी अस्पतालका वरिष्ठ मिर्गाैला रोग विशेषज्ञ डा ऋषिकुमार काफ्ले, प्रकाश पौडेल, अमेरिकास्थित जोन हप्किन्स अस्पतालमा कार्यरत वरिष्ठ मिर्गाैला रोग विशेषज्ञ डा समिरचन्द्र गौतम, वरिष्ठ हाडजोनी विशेषज्ञ डा अमृत पौडेललगायत चिकित्सकको समूहले सेवा दिनुभएको थियो ।
इस्मा गाउँपालिका–६ अमरपुरमा सञ्चालित शिविरमा वडा नं ६, वडा नं ५ रजस्थल, वडा नं १ हस्तिचौर, वडा नं ४ दोहोली, धुर्कोट गाउँपालिका–५ वस्तु, मालिका गाउँपालिका–६ अर्जै, वडा नं ७ घमिरलगायत ठाउँका नागरिकले सेवा लिएको स्थानीय गीता भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार शिविर विशेष गरी मिर्गाैलासम्बन्धी परीक्षण गरिएको थियो ।
गाउँमा निःशुल्क औषधिसहितको सेवा पाएपछि स्थानीय खुसी भएका छन् । “यही सेवा लिन बुटबल वा काठमाडौँसम्म जानुपथ्र्यो, अहिले गाउँमा विशेषज्ञद्वारा सेवा पाउँदा खुसी लागेको छ”, मालिका–६ अर्जैबाट आउनुभएकी कोपिला अर्यालले भन्नुभयो, “शिविरको आयोजना गर्ने गौतम परिवारप्रति आभारी छौँ ।”
सोही ठाउँकै तुलसा अर्यालले बुटबल जानुपर्ने सेवा गाउँमा पाइएकामा खुसी व्यक्त गर्नुभयो । “गाउँमै सेवा पाउँदा समय र पैसा दुवैको बचत भएको छ । यसले उपचार सहज हुनुका साथै समयको सदुपयोग गरेको छ”, उहाँले भन्नुभयो ।
कुलचन्द्रको गाउँ मोह
गौतम संयुक्त राष्ट्र सङ्घको सहायक महासचिव हुँदा गाउँमा विभिन्न समााजिक काम गर्दै आउनुभएको थियो । विसं २०५३ मा आमाको नामबाट ‘हिमा गौतम स्मृति कोष’ को स्थापना गरी अहिले सोही कोषमार्फत सामाजिक क्षेत्रमा काम गर्दै आउनुभएको छ । बुवाको नामबाट अमपुरको विद्यालयलाई ‘ओमप्रसाद गौतम मावि’ नामाकरण गर्नुभएको छभने सोही विद्यालयमा छात्रवृत्ति कोष पनि स्थापना गर्नुभएको छ ।
अमरपुरको स्वास्थ्य चौकी बनाउन पाँच रोपनी जग्गा प्रदान, सभाहल निर्माण, हिमालय मावि निर्माणलगायत अन्य शैक्षिक संस्थामा पनि गौतम परिवारले सहयोग गर्नुभएको स्थानीय समाजसेवी हिरा एसीले जानकारी दिनुभयो । उहाँका अनुसार गौतम परिवारले स्मृति कोषबाट बर्सेनि अमरपुरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ । पछिल्लो समय कोभिडयता उक्त शिविर रोकिएकामा यो वर्षबाट पुनः सुरु गरिएको उहाँको भनाइ छ ।
“म जुन ठाउँमा पुगेँ, यसको प्रेरण यहीँ गाउँ हो”, गौतमले भन्नुभयो, “म जुन ठाउँमा पुगेपनि गाउँलाई बिर्सेको छैन ।” आमनगारिकलाई थोरै भए पनि सेवा दिन पाउँदा खुसी लागेको उहाँले प्रतिक्रिया दिनुभयो ।
इस्मा गाउँपालिकाका अध्यक्ष भगतसिंह खड्काले कुलचन्द्रले गाउँका लागि प्रेरणाका स्रोत हुनुका साथै सहयोगी व्यक्ति भएको प्रतिक्रिया दिनुभयो । “उहाँबाट हामीले धेरै सिकेका छौँ”, उहाँले भन्नुभयो, “हामीले नागरिकको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छौँ ।”