रौतहट, १२ चैत । पछिल्लो समय रौतहटमा मुख्यमन्त्रीको निर्देशनलाई अटेरी अर्थात् कुनै वास्ता नै नगरी बन्द गरिएका एक हस्पिटल सञ्चालन भइरहेको छ । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहको निर्देशनलाई ठाडो अवज्ञा गर्दै जिल्लाको गरुडा नगरपालिका ५ शिवनगरमा सञ्चालित आनन्द हस्पिटल एक्यूपंन्चर सेन्टरले बिरामीलाई निर्बाध रूपमा उपचार गरिरहेको पाइएको हो ।
मुख्यमन्त्री सिंहले केहीदिनअघि आनन्द हस्पिटलमा अनुगमन गरेका थिए । अनुगमनको क्रममा मापदण्ड विपरीत हस्पिटल सञ्चालनमा रहेको पाइएपछि मुख्यमन्त्री सिंहले आनन्द हस्पिटल एक्यूपंन्चर सेन्टरलाई बन्द गर्न निर्देशन दिएका थिए । मापदण्ड पुरा गरेपछि मात्र हस्पिटल सञ्चालन गर्ने भनी मुख्यमन्त्री सिंहले दिएको निर्देशनलाई आनन्द हस्पिटल शिवनगरका सञ्चालक उमेश प्रसादले अटेरी गरी निर्बाध रूपमा हस्पिटल सञ्चालन गरिरहेको पाइएको हो ।
मापदण्ड पुरा नै नगरी हस्पिटल सञ्चालन गरी सञ्चालक उमेश प्रसादले मानवको स्वास्थ्य जीवनसँग गम्भीर खेलवाड गर्दा पनि नियमनकारी निकाय कुनै चासो लिएको छैन । उपचारको नाममा बिरामीलाई चर्को रकम असुली गर्दै आएका आनन्द हस्पिटल शिवनगरलाई बन्द गराउन रौतहटका प्रहरी प्रशासनले पनि खासै चासो देखाएको छैनन् । पावर र पहुँचको भरमा मापदण्ड विपरीत सञ्चालित आनन्द हस्पिटल सञ्चालन भइरहँदा समेत प्रहरी र मुख्यमन्त्री सिंहले ती हस्पिटललाई बन्द गराउन सकिरहेका छैनन् । मुख्यमन्त्री सतिश कुमार सिंहको निर्देशनलाई आनन्द हस्पिटलका सञ्चालक उमेश प्रसादले ठाडो चुनौती दिँदै हस्पिटल सञ्चालन गर्दापनि त्यसलाई बन्द गराउने तर्फ प्रहरीको ध्यान जान सकेको छैन ।
प्रहरी प्रशासनको कमीकमजोरीका कारण मुख्यमन्त्री सिंहले दिएको निर्देशन कार्यान्वयन हुन नसक्दा प्रहरीमाथि पनि ठुलो प्रश्न चिन्ह खडा भएको हो । जिल्लाका प्रहरी उपरीक्षक दिलिप घिमिरेले आनन्द हस्पिटलमा मुख्यमन्त्रीले अनुगमन गर्नुभन्दा अघिकै लकवा, प्यारालाइसिसका बिरामी रहेको र ती बिरामीहरूको अन्यत्र व्यवस्थापन नहुँदा हस्पिटल भित्र राखेर बिरामीको उपचार भइरहेको बताए । अन्य ठाउँमा बिरामी सार्ने बित्तिकै ती हस्पिटल पूर्णरुपमा बन्द हुने एसपी घिमिरे बताउँछन् । घिमिरेको भनाई अनुसार तत्काल अन्य ठाउँमा व्यवस्थापन नहुन्जेलसम्मको लागि पुरानै बिरामीलाई आनन्द हस्पिटलले उपचार गर्नुपर्ने हो तर ती हस्पिटलले नयाँ बिरामीलाई समेत भर्ना गरी खुलेआम उपचार गरिरहेको पाइएको हो ।
उक्त हस्पिटल बन्द गर्न निर्देशन दिने मुख्यमन्त्री सतिश कुमार सिंहले पनि आफैले दिएको निर्देशन नमान्ने आनन्द हस्पिटलका सञ्चालकलाई पक्राउ गरी कार्यवाहीको दायरामा ल्याउनुको सट्टा चुप लागेर बसिरहेका छन् । यता प्रहरी पनि मौन भएर बसिरहेको हो ।यस सन्दर्भमा प्रतिक्रिया लिन मुख्यमन्त्री सतिश कुमार सिंहलाई सम्पर्क गर्दा उनको फोन उठेनन् ।
नियमनकारी निकायहरू नै चुप लागेर बसिरहेका कारण कहीँ न कहीँ नियमनकारी निकायकै संरक्षण र संलग्नतामा बन्द गरिएका आनन्द हस्पिटल सञ्चालन भइरहेको भनी आशङ्का गरिएको थियो । यस अवस्थामा कसको संरक्षण र सेटिंङमा ती हस्पिटल सञ्चालन भइरहेको छ भनी सर्वसाधारणले प्रश्न गर्न थालेका छन् ।
त्यसैले नियमनकारी निकायले तुरुन्त मुख्यमन्त्रीको निर्देशन अटेरी गरी हस्पिटल सञ्चालन गर्ने सञ्चालकलाई कार्यवाहीको दायरामा ल्याउनु अति आवश्यक रहेको देखिन्छ ।