शनिबार ०६ बैशाख, २०८२

नेपाली समय

विचार: राजसंस्था पुनस्थापनाको चर्चा, नेताहरू नसच्चिँदाको परिणाम

विचार: राजसंस्था पुनस्थापनाको चर्चा, नेताहरू नसच्चिँदाको परिणाम
(लेखक रेडियो नेपाल लगायतका राष्ट्रिय सञ्चार माध्यममा आबद्ध हुनुहुन्छ ।)

‘नमच्चिने पिङको सय झडका’ गाउँघर र समाजमा यो कुरो बेला बेलामा भन्ने गरिन्छ । पिङ नमच्चिँदा पनि सय पटक झट्का दिने गर्दछ । बढी बोल्ने तर गरेर देखाउन नसक्ने अर्थ पनि यसको लाग्छ । हो, हाम्रो मुलुक अहिले राजसंस्था सहितको राजतन्त्रात्मक व्यवस्था हटेर गणतन्त्रात्मक व्यवस्थामा चली रहेको छ । हटी सकेको व्यवस्था पुनस्थापनाका नाममा आन्दोलन पनि थालिएको छ । मुलुक अगाडी बढाउने कि पुरानै अवस्थामा फर्काउने यो नेताहरू कै हातमा छ । 

नेपालका राजनीतिक दलका नेताहरू जनतालाई आश्वस्त बनाउँदै मुलुकको समृद्धिमा हातेमालो गर्दे अगाडी बढ्नु पर्ने अवस्थामा आफूले नेतृत्व गरेको राजनीतिक दल र नेता राम्रो भन्दै हिंडीरहेका छन । मुलुक हाँक्ने नेताहरूको बोली र भाषणको बारेमा भन्ने हो भने एक दुई कक्षामा पढ्ने विद्यार्थीको भन्दा पनि तल जस्तो देखिन्छ । एक अर्कालाई गाली गर्देमा समय व्यतीत भई रहेको छ । राजनीतिक स्थायित्व कायम गर्दे विकास र समृद्धिको लागि जनताबाट चुनिएका राजनीतिक दल र नेताहरू एक आपसमा मिलेर अगाडी बढ्ने अवस्थामा कुर्सी कसरी जोगाउने, सत्तालाई लामो समयसम्म कसरी टिकाउने भन्नेमा नै व्यस्त देखिन्छन् ।

आफूलाई जनताले सुम्पिएको जिम्मेवारी पुरा नगर्दा साथै आर्थिक, सामाजिक र राजनीतिक अस्थिरता कायम नै रहँदा जनताको चाहना र मनोबल कमजोर बनेको छ । हो, यस्तै कारण अहिले राजा पुनस्थापना हुने कुरा उठ्न थालेको छ, केही संख्याले यसको पक्षमा सुरुवात समेत गरेका छन । यस्ता कुराहरू पुरा हुन्छन् हुदैनन् यो समयले बताउने कुरा हो । तर यस्ता भावी र बर्तमानमा देखिने समस्याबाट जोगिन र मुलुक अगाडी बढाउन जिम्मेवार राजनीतिक दल र नेतृत्व सुध्रन जरुरी छ ।  

राजनीतिक दलका नेताहरूले जनताको वास्तविक समस्याहरू बुझ्न र समाधानका उपायहरू सुल्झाउनु पर्छ । जनतालाई केवल आश्वासन मात्र दिने र देखिएका वास्तविक समस्याहरू समाधान गर्ने प्रयासमा लागिएन भने अर्को जटिलता देखिन सक्छ । शिक्षा, स्वास्थ्य, रोजगारीसँगै विकासका चाहनाहरू पुरा गर्न क्रियाशील दल अगाडी बढ्न जरुरी देखिन्छ ।  यसका साथै राजनीतिक दलहरूले संविधान र गणतन्त्रको महत्वका विषयमा नेपाली जनतालाई कति बुझाउन सके । आफूहरू बोल्न र भाषणमै व्यस्त हुने तर जनतालाई कुरा बुझाउन अहिले व्यवस्था परिवर्तनका कुरा आउन थालेका हुन । गणतन्त्रको सुरक्षाको लागि राजनीतिक दलहरूले यसको महत्त्व र फाइदाहरू जनतालाई स्पष्ट पार्नु पर्छ । समाजमा राजनीतिक शिक्षा र संविधानको महत्वबारे जनचेतना बढाउने खालका अभियान सञ्चालन गर्नुपर्छ । जसले नेपाली जनतालाई भ्रम र डरको वातावरणबाट बाहिर निस्कन सहयोग पनि गर्दछ । 

यति मात्र होइन आफनो दल र नेताहरू राम्रो, अरू दल र नेता नराम्रो भन्ने आरोप प्रत्यारोपका कारण पनि मुलुक सञ्चालनमा समस्या देखिई रहेको छ । राजनीतिक दलका नेताहरू बीचमा संवादको अभाव छ । देखिएका र देखिन लागेका समस्याहरूको समाधानका लागि अन्तरपाटी संवादको पनि खाँचो देखिएको छ । त्यसैले दलहरूले एक अर्काप्रति विश्वासको भावना निर्माण गर्दे राजनीतिक स्थिरताका लागि हातेमालो गर्न जरुरी छ । नेपालमा भ्रष्टाचार र अनियमितताले जनताको विश्वास कमजोर बनाएको छ । दलका नेताहरूले राजनीति र सरकार सञ्चालनमा पारदर्शिता र स्वच्छता देखाउन आवश्यक छ । 

राजनीतिक दलहरूले सञ्जालका माध्यमबाट जनतालाई प्रत्यक्षरूपमा योजना र कार्य सञ्चालनका विषयमा जानकारी दिँदै गर्नुपर्छ । यसले गर्दा आफ्नो योजनाहरूको बारेमा जनता पनि जागरुप हुन्छन् । यति मात्र होइन मुलुकको समृद्धिका लागि राजनीतिक दलका नेताहरूले देशको सुरक्षा र समृद्धि सुनिश्चित गर्ने उपायहरू प्रस्तुत गर्न सक्नुपर्छ । राष्ट्रको सार्वभौमिकतासँगै, समृद्धि र विकासका कार्यक्रमलाई प्राथमिकतामा राखेर अगाडी बढ्ने कार्यमा सरकारको ध्यान जानु पर्छ ।

त्यसैले अबका दिनमा नेपालका नेताहरूले बोलीमा भन्दा काममा ध्यान दिनु अत्यन्त महत्त्वपूर्ण छ । केवल भाषण र आश्वासनले जनताको मनोबल बढाउने काम गर्देन त्यसले केवल निराशा र अविश्वास बढाउँदै लान्छ । जनतामा नेता र राजनीतिक दलप्रति असन्तोष र असहमतिका भावना उत्पन्न हुने गतिविधि गर्न थालियो भन्यो फेरी पनि मुलुक परिवर्तनको मार्ग बन्द हुन सक्छ । 

त्यसैले अन्त्यमा मेरो सुझाव नेताहरूले केवल चुनावका समय र आवश्यकतामा आधारमा जनता र मुलुकको हितका लागि बोल्नु पर्छ । बोल्न पाएको नाममा विषय बस्तु भन्दा बाहिर गएर बोलियो भने देशको समृद्धिको आधार तयार हुन सक्दैन । 

      लेखक:

निरोज कोइराला 

(लेखक रेडियो नेपाल लगायतका राष्ट्रिय सञ्चार माध्यममा आबद्ध हुनुहुन्छ ।)