रौतहट, २० फागुन । रौतहटमा अवैध तस्करी नियन्त्रणलाई थप प्रभावकारी बनाउँदै ईलाका प्रहरी कार्यालय राजपुर टोलीले ठूलो मात्रामा लत्ता कपडा तथा किराना सामान बरामद गरेको छ।
बरिष्ठ नायव निरीक्षक अशोक कुमार कुर्मीको कमाण्डमा खटिएको प्रहरी गस्ती टोलीले राजपुर नगरपालिका वडा नं ९ बैरिया बाँधबाट लत्ता कपडा सहित एक मोटरसाइकल, परोहा नगरपालिका वडा नं ५ भेडियाईबाट किराना सामान सहित दुई मोटरसाइकल बरामद गरेको हो। प्रहरीका अनुसार, बरामद सामानहरू अवैध रूपमा भारतबाट नेपाल भित्र्याइएको आशङ्का गरिएको छ। सुराकीका आधारमा गरिएको अपरेशनमा करिब ३ लाख रुपैयाँ मूल्य बराबरको लत्ता कपडा तथा किराना सामान बरामद गरिएको हो।
बरामद गरिएका सामानहरू जिल्ला प्रहरी कार्यालय, रौतहटमा बुझाइएको छ। प्रहरीका अनुसार, तस्करी नियन्त्रण अभियानलाई अझ प्रभावकारी बनाइने छ र यस विषयमा थप अनुसन्धान अघि बढाइने प्रहरी श्रोतले बताए ।
स्थानीय प्रशासनले अवैध तस्करी रोक्न नियमित गस्ती तथा कडाइ गर्ने प्रतिबद्धता जनाएको हो । यस प्रकारको कारबाहीले तस्करी नियन्त्रणमा प्रभाव पार्ने विश्वास गरिएको देखिन्छ।