वीरगंज, १७ फागुन । पर्सा जिल्लामा सङ्गठित तस्करी मौलाएको छ । नेपाल सरकारले सीमानाकाहरूमा तस्करी नियन्त्रण गर्न नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरेको भए पनि प्रहरीकै मिलेमतोमा तस्करीको धन्दा निर्बाध रूपमा चलिरहेको पाइएको छ ।
पर्साको शहरी क्षेत्रदेखि ग्रामीण भेगसम्म सङ्गठित रूपमा तस्करी भइरहेको छ। भारतसँग जोडिएका छपकैया, सिर्सिया, अलौं, अमरपट्टी, प्रसौनीभाठ्ठा, जानकीटोला लगायतका नाकाबाट लत्ता–कपडा, हार्डवेयरका सामग्री, कुखुराको चल्ला, राँगा–भैँसी तथा दैनिक उपभोग्य किराना सामग्रीहरू तस्करी भइरहेको स्थानीय स्रोतले जनाएको छ ।
प्रहरीकै संरक्षणमा तस्करहरू सक्रिय
छपकैया सिर्सिया नाकाबाट जितु, लालबच्चा, पंकज, अनिल लगायतका तस्कर समूहले कपडा तस्करीको ‘लाइन’ पाएका छन् भने अमरपट्टी र प्रसौनीभाठ्ठा नाकाबाट मुकेश, भोला नामक समूहले सोही कार्य गरिरहेका छन्। यी तस्करहरू रातभर महिला भरिया र मोटरसाइकल प्रयोग गरेर सामान ओसारपसार गर्छन् ।
छपकैया सिर्सिया नाकाबाट कपडा तस्करी गर्ने गिरोह वीरगंजका चर्चित तस्कर मदन गुप्ता (मदन रुन्चे) सम्म पुग्ने गरेको छ । गुप्ताले तस्करी गरेर ल्याइएका सामानहरू ट्रान्सपोर्टको माध्यमबाट काठमाडौं तथा अन्य शहरहरूमा पठाउने गरेका छन् ।
अमरपट्टी र प्रसौनीभाठ्ठा नाकाबाट कपडा तस्करी गर्ने मुकेश र भोला समूहले बिन्दबासिनी चौक, विश्रामपुर, डोकैला बहुअरी, महुवन लगायतका क्षेत्रमा सञ्चालनमा रहेका पसलहरूमा कपडा आपूर्ति गर्ने गरेका छन् ।
कुखुराका चल्लादेखि राँगा–भैँसीको तस्करी
यसैगरी, अमरपट्टी प्रसौनीभाठ्ठा नाकाबाट कुखुराको चल्ला तस्करी गर्ने संदीप, धनञ्जय पटेल, स्वरुप साह लगायतका तस्कर समूहले बिन्दबासिनी गाउँपालिका, बहुदरमाई नगरपालिका, पर्सागढी नगरपालिका लगायतका ठाउँमा रहेका कुखुरा फर्महरूमा तस्करीमार्फत भित्र्याएका चल्ला आपूर्ति गरिरहेका छन् ।
पछिल्लो समय राँगा–भैँसीको तस्करी तीव्र बढेको छ । व्यापारी अली र फारुखले प्रसौनीभाठ्ठा नाकाबाट जनावरको हड्डी तस्करी गरिरहेका छन् । पश्चिमी ग्रामीण क्षेत्र जानकीटोला, दशौता नाकाहरू हुँदै भारतबाट तस्करी गरी ल्याइएका राँगा–भैँसीहरू जगरनाथपुरस्थित भैँसी बजारमा बिक्री वितरण गरिन्छ ।
प्रहरी प्रशासनको संलग्नता
पर्सामा भइरहेको तस्करीमा प्रहरी प्रशासनको प्रत्यक्ष संलग्नता रहेको बताइन्छ । सशस्त्र प्रहरी बल पर्साका एसपी राधेश्याम धिमालले तस्करी बापतको असुलीका लागि अघोषित रूपमा सशस्त्र प्रहरी जवान रामराजा यादव र सहायक हवल्दार पन्नालाल यादवलाई परिचालन गरेका छन् । रामराजा यादवको घर पर्साकै जगतपुर मन्नपुरमा रहेको छ भने पन्नालाल यादव मनियारी गाउँ निवासी हुन् ।
एसपी धिमालले रामराजा यादव राम्रो काम गर्ने भएकाले आवश्यकताअनुसार परिचालन गरिएको दाबी गरे पनि प्रहरी स्रोतका अनुसार उनी तस्करी असुलीमा संलग्न छन् । रामराजाले तस्करीको सामग्री समात्ने जिम्मेवारी पाएका भए पनि सेटिङ मिलेको सामानलाई पास गराउने गरेको आरोप छ ।
सशस्त्र प्रहरी बल मधेश प्रदेशका डिआईजी कालिदास धवजीले रामराजा एसपी धिमालको ‘घुमुवा’ भएको सूचना सञ्चारमाध्यमहरूमा आएको पुष्टि गरेका छन्। केही समयअघि रामराजालाई सोधपुछका लागि बोलाए पनि फेरि पर्सामा फर्काइएको छ, जसले प्रहरी प्रशासनमै सङ्गठित संरक्षक रहेको आशङ्का जन्माएको छ ।
पर्सामा प्रहरीकै संरक्षणमा तस्करी मौलाएको पुष्टि हुने विभिन्न प्रमाणहरू देखिन्छन्। प्रहरीले कारबाहीको नाममा केवल सेटिङ नमिलेका तस्करहरूलाई समात्ने तर मिलेको सामानलाई पास गराउने गरेको पाइएको छ। यसरी सरकारी संयन्त्रको मिलेमतोमा भइरहेको तस्करीले सुरक्षा निकायप्रति गम्भीर प्रश्न उठाएको छ ।