बुधबार ०९ बैशाख, २०८३

नेपाली समय

‘पत्रकारिता क्षेत्रले विश्वसनीय र निष्पक्ष समाचार सम्प्रेषण गर्नुपर्छ’

‘पत्रकारिता क्षेत्रले विश्वसनीय र निष्पक्ष समाचार सम्प्रेषण गर्नुपर्छ’

वीरगञ्ज (पर्सा), ६ फागुन । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री जनार्दनसिंह क्षेत्रीले  राज्यको चौथो अङ्गका रूपमा रहेको पत्रकारिता क्षेत्रले विश्वसनीय र निष्पक्ष समाचार सम्प्रेषण गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय समाचार समिति (रासस) वीरगञ्ज कार्यालय पर्साले राससको ६४औँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित ‘जिम्मेवार पत्रकारिता र रासस भूमिका’ विषयक कार्यक्रममा उहाँले आधिकारिक र विश्वसनीय समाचार सम्प्रेषणमा राससको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो । 

“पत्रकार पनि आचारसंहिताभित्र रहनुपर्दछ । पत्रकार र पत्रकारिता क्षेत्र पनि पारदर्शी हुनुपर्छ भन्ने कुरामा पनि पेसागत सङ्घ/सङ्गठनले बहस चलाउन जरूरी भइसकेको छ”, मन्त्री क्षेत्रीले भन्नुभयो,“कहिलेकाहीँ पत्रकार वा अन्य जुनसुकै व्यक्तिबाट त्रुटी हुन सक्छन् तर त्रुटी सच्च्याउने तत्परता भने देखाउनै पर्दछ । यसमा पत्रकारले उदाहरण पेस गर्न सक्छन् ।”

उहाँले रासस पछिल्लो समय जनताको आशा र भरोसाको माध्यम भएकाले पनि अझै जनपक्षीय समाचार सामग्री सम्प्रेषण गर्न अनुरोध गर्नुभयो । राससले कुनै पनि समाचार आधिकारिक रूपमा पुष्टि नभई सम्प्रेषण गर्ने भन्ने विश्वास रहेको उल्लेख गर्दै मन्त्री क्षेत्रीले अन्य मिडियाले पनि विश्वसनीय ढङ्गले समाचार प्रकाशन÷प्रसारण गर्न जरुरी रहेको धारणा राख्नुभयो । 

उहाँले गलत सन्देश दिने सानो समाचारले पनि समाजमा सदियौँदेखि कायम सामाजिक सहिष्णुता र सद्भाव पनि बिथोल्न सक्नेतर्फ सचेत रहन आग्रह गर्दै उहाँले जनता र राष्ट्रलाई केन्द्रविन्दुमा राखेर जिम्मेवार पत्रकारिता गर्नुपर्नेमा जोड दिनुभयो ।  

जिल्ला प्रशासन कार्यालय निमित्त प्रमुख जिल्ला अधिकारी निशानराज गौतमले राससले चुनौती र सम्भावनाको बीचमा रहेर प्रभावकारी ढङ्गले पत्रकारिता गर्नुपर्ने बताउनुभयो । ‘‘सूचना प्रविधिको विकाससँगै पछिल्लो समय समाजमा ‘मिस इन्फरमेसन’ र ‘डिस इन्फमेसन’को ठूलो चुनौती देखापरेको छ । राससले त्यस्ता खालका गलत सूचना र सन्देशलाई चिर्ने गरी समाचार सामग्री उत्पादन गर्न आवश्यक छ”, उहाँले भन्नुभयो,“समाचार एजेन्सी भएकाले पनि निजी क्षेत्रसँग सहकार्य गरेर राससले प्रभावकारी ढङ्गले समाचार सामग्री सम्प्रेषण गर्न जरुरी छ ।’’ 

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव अशोक तिवारीले राससले पछिल्ला वर्षमा समाचार सामग्रीमा विविधता झल्काउने प्रयास गर्दै आइरहेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले पछिल्लो समय सरकारले ल्याएको सामाजिक सञ्जालसँग सम्बन्धित विधेयकका कतिपय प्रावधान मिडियामैत्री नभएकाले सो सच्याएर अघि बढ्न आग्रह गर्नुभयो । 

पर्साका प्रहरी प्रमुख गौतम मिश्रले रासस पुरानो र विश्वसनीय मिडियाको रूपमा रहेको भन्दै आगामी दिनमा पनि आधिकारिक र निष्पक्ष समाचार  सम्प्रेषण गर्दै अघि बढ्न सुझाव दिनुभयो । वीरगञ्ज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष हरि गौतमले राससले बारा–पर्सा औद्योगिक कोरिडोरलाई आर्थिक राजधानीको रूपमा स्थापित गर्ने समाचारका माध्यमबाट सहयोग गर्नुपर्ने बताउनुभयो । 

राससका सेवाग्राहीको तर्फबाट वीरगञ्जबाट प्रकाशन हुने प्रतीक दैनिकका प्रकाशक तथा सम्पादक विकास शर्माले रासस विविध विषयलाई उठान गर्दै आएकामा त्यसमध्ये जलवायु परिवर्तन, वातावरण संरक्षण, औद्योगिक क्षेत्र, कृषि, स्वास्थ्यलगायतका समाचार तथा विचार सामग्री उपयोग योग्य रहेका बताउनुभयो । अब समाचारसँगै तस्बिर र भाषाशैलीमा पनि ध्यान दिन जरूरी रहेको उहाँको भनाइ थियो । नेपाल बिमा प्राधिकरण मधेश प्रादेशिक कार्यालय प्रमुख प्रिति देवले सामाजिक सञ्जालबाट फैलिने अफ्वाह र गलत खालका समाचारलाई चिर्ने गरी समाचार सम्प्रेषण गर्न अनुरोध गर्नुभयो । सामाजिक अभियन्ता दिलीपराज कार्कीले पछिल्लो समय युवाहरू लागुऔषध र अन्य दुर्व्यसनीको कुलतमा फसेकाले त्यसविरुद्ध जनचेतना अभिवृद्धि गर्ने खालका समाचार सामग्री प्रकाशन गर्न आग्रह गर्नुभयो । 

रासस वीरगञ्ज कार्यालय प्रमुख हिमाल लम्सालले राससले ‘मिडिया कन्ट्रेन्ट’मा पनि विविधता र बहुलता झल्कने गरी समाचार सामग्री पस्किँदै आइरहेको बताउनुभयो । आफ्ना विविध सेवामार्फत राससले २४ घण्टा अविछिन्न रूपमा समाचार सेवा उपलब्ध गराउँदै आइरहेको उल्लेख गर्नुभयो । 

कार्यक्रममा विभिन्न सरकारी कार्यालय, सुरक्षा निकाय, पत्रकारका पेसागत संघसंङ्गठनका प्रमुख एवं प्रतिनिधिलगायतको उपस्थित रहेको थियो । सञ्चारकर्मी सूर्यनारायण विश्वकर्माले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।