लहान, २ फागुन । सिराहाको लहान नगरपालिका वडा नं. ३ स्थित लहान एडभान्स अस्पतालप्रति केही भ्रामक सूचना फैलिन थालेपछि अस्पताल परिवारले यसबारे स्पष्टीकरण दिएको छ।
अस्पतालका अध्यक्ष डा. वीरेन्द्र यादवका अनुसार हाल सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियो एक वर्ष पुरानो हो, जसलाई केही व्यक्तिहरूले गलत उद्देश्यसहित प्रचार गरिरहेका छन्। उनले अस्पतालप्रति अनावश्यक भ्रम सिर्जना गर्न खोज्ने तत्त्वहरूलाई सचेत रहन आग्रह गरे।
अस्पताल परिवारले पनि सामाजिक सञ्जालमा फैलिरहेको जानकारी पूर्ण रूपमा निराधार रहेको जनाउँदै हाल अस्पतालमा कुनै अप्रिय घटना नभएको स्पष्ट पारेका छन्। "हामी निरन्तर गुणस्तरीय सेवा दिँदै आएका छौँ। आर्थिक रूपमा कमजोर तथा पीडित बिरामीलाई विशेष प्राथमिकतासहित उपचार उपलब्ध गराइरहेका छौँ," अस्पताल व्यवस्थापनले जनाएको छ।
लाहान एडभान्स अस्पतालले जनताको स्वास्थ्य सेवामा उच्च प्रतिबद्धता रहेको बताउँदै सत्यतथ्य बिना कुनै पनि गलत सूचना नफैलाउन सबैलाई आग्रह गरेको छ।