आइतबार ०३ चैत, २०८१

नेपाली समय

मधेश जनविद्रोहका शहीदहरूको सालिक निर्माणका लागि ज्ञापन पत्र

मधेश जनविद्रोहका शहीदहरूको सालिक निर्माणका लागि ज्ञापन पत्र

रौतहट, २९ माघ । मधेश जनविद्रोहका महान् वीर शहीदहरूको सालिक स्थापनाको माग गर्दै समाजवादी विद्यार्थी युनियन नेपालका केन्द्रीय सचिव तथा युवा नेता ललन यादव नेतृत्वको टोलीले गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहलाई ज्ञापन पत्र बुझाएको छ।

गौर नगरपालिका-३ स्थित मधेसी क्रान्ति चौकमा नवनिर्मित घण्टाघर चौतारा क्षेत्रमा मधेसी जनताको हक अधिकारका लागि आफ्नो प्राण आहुति दिने शहीदहरूको सालिक स्थापनाको माग गर्दै यादव, पटेल तथा अन्य युवाहरूले नगर प्रमुखको ध्यानाकर्षण गराएका हुन्। यादवले मधेसी बलिदानीहरूका योगदानलाई सम्मान गर्दै उनीहरूको स्मरणका लागि गौर नगरपालिकाले विशेष पहल गर्नुपर्ने बताए। उनले मधेश आन्दोलनमा वीरगति प्राप्त गरेका योद्धाहरूको सम्झनामा स्थायी स्मारक निर्माण आवश्यक रहेको उल्लेख गर्दै, शहीदहरूको सम्मान नगरपालिकाको दायित्व भएको बताए।

नगर प्रमुख साहले ज्ञापन पत्र ग्रहण गर्दै यस विषयमा गम्भीर छलफल गरी आवश्यक कदम चाल्ने प्रतिबद्धता व्यक्त गरे। उनले गौर नगरपालिकालाई ऐतिहासिक र गौरवशाली बनाउन शहीदहरूको योगदानलाई उजागर गर्ने कार्यमा आफ्नो सहयोग रहने आश्वासन समेत दिएका हुन् । ज्ञापन पत्र बुझाउने क्रममा विभिन्न युवा नेता, विद्यार्थी तथा स्थानीय सामाजिक अभियन्ताहरूको उपस्थिति रहेको थियो।

स्थानीय युवाहरूले शहीदहरूको सम्मानमा यथाशीघ्र सालिक स्थापनाका लागि पहल गर्नुपर्ने माग गर्दै नगरपालिकालाई दबाब दिएको बताए।