आइतबार ०३ चैत, २०८१

नेपाली समय

बडीमालिका क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्नुपर्नेमा सरोकारवालाको जोड

बडीमालिका क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्नुपर्नेमा सरोकारवालाको जोड

काठमाडौ, २६ माघ । सुदूर पश्चिम र कर्णाली प्रदेशलाई धार्मिक, सांस्कृतिक, साहसिक र स्वास्थ्य पर्यटकीय गन्तव्य स्थलको रूपमा विकसित गर्नुपर्ने उद्देश्यका साथ निर्माण गरिएको जय श्री बडीमालिका वृत्तचित्र काठमाडौँमा एक कार्यक्रमका बिच प्रदर्शन गरिएको छ । त्रिवि ग्रामीण विकास केन्द्रीय विभागका उपप्राध्यापक डा. राजन विनायक पासा र एमफिल तहका शोधार्थी रोशनप्रसाद श्रेष्ठको संयुक्त प्रयासमा निर्माण गरिएको थियो । उक्त वृत्तचित्रमा श्री बडीमालिका पूजाको पन्ध्र दिने सरकारी पेटारो लैजाने विधिवत् पूजासहित धार्मिक यात्राको छायाङ्कन गरी प्रदर्शन गरिएको छ । 

बाजुरा जिल्लामा रहेको बडीमालिका क्षेत्रमा हुने १५ दिने सो धार्मिक यात्रामा डोटीको सरकारी टोलीले १५ दिन, जुम्लाको सरकारी टोलीले ९ दिन, कालिकोटको सरकारी टोलीले ५ दिन र बाजुराको सरकारी टोलीले ४ दिनको पैदल यात्रा गरी विधिवत् बडी पूजा गर्ने धार्मिक परम्परालाई वृत्तचित्रमा चित्रित गरिएको छ । 

कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले बडीमालिका क्षेत्रको जानकारी लिन चाहने पक्षलाई सन्तुष्ट दिने खालको वृत्तचित्र निर्माण भएको पाउँदा आफूलाई पनि गौरवान्वित गरेको धारणा व्यक्त गर्नुभयो । आफूहरूले बाल्यकालदेखि नै सरकारी पेटारो लैजाने गरेको थाहा पाएको बताउनु हुँदै उहाँले वृत्तचित्र हेर्दा जति सजिलो देखिन्छ, वास्तविकतामा हाम्रो क्षमताले त्यति सहज यात्रा नहुने धारणा व्यक्त गर्नुभयो । उहाँले बडीमालिका देवीको मन्दिर रहेको क्षेत्र बाजुरा जिल्लाको भौगोलिक विकटताको कारण सहज पहुँचमा नरहेको, पूर्वाधारको कमी भएको र सो क्षेत्रमा पुग्न चाहनेलाई अत्यन्त कष्टकर यात्रा हुन सक्ने थाहा हुँदा हुँदै वृत्तचित्र निर्माणकर्ताहरुले स्थलगत पुगेर गरेको साहसिक यात्रालाई आफूले सम्मान गर्ने बताउनु भयो । उहाँले वृत्तचित्रले धार्मिक पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान गर्न सक्ने बताउनु हुँदै अनुसन्धानकर्ताले दिएका पृष्ठपोषणलाई सम्बन्धित निकायहरूले ध्यानाकर्षणको रूपमा लिनुपर्ने बताउनु भयो । उहाँले सरकारको तर्फबाट यस्तो कार्य भए ठुलो बजेट खर्च हुने तर विद्यार्थीको इच्छाशक्तिले विश्वविद्यालयले मितव्ययी तरिकाले भौगोलिक, धार्मिक, रहनसहन, संस्कृति, संस्कारको समेत पहिचान दिलाउने गरी महत्त्वपूर्ण वृत्तचित्र निर्माण भएको आफूले पाएको बताउनु भयो । 

देशका विभिन्न धार्मिक स्थलहरूको संरक्षण र प्रवर्द्धन राज्यले गर्नुपर्ने बताउँदै वृत्तचित्रका निर्देशक उपप्राध्यापक राजन विनायक पासाले बडीमालिका देवीको धार्मिक महत्त्व बाजुरा जिल्लाको मात्र नभई सिङ्गो देशको बडीमालिका रहेको र यो केबल वृत्तचित्र मात्र नभएर अनुसन्धानमा आधारित वृत्तचित्र निर्माण गरेको बताउनु भयो । उहाँले कर्णाली र सुदूर पश्चिमको कनेक्सन क्षेत्र भएकोले बडीमालिका क्षेत्रमा धार्मिक पर्यटन प्रवर्द्धन गर्न सके सो क्षेत्रको पर्यटन प्रवर्द्धन हुनुका साथै जनजीविकाको क्षेत्रमा त्यस क्षेत्रका जनताको जीविकोपार्जनमा समेत यसले टेवा पुग्ने धारणा व्यक्त गर्नुभयो । उहाँले पर्यटन प्रवर्द्धनको मुख्य उद्देश्यले वृत्तचित्र निर्माण गरिएको र आफूले सधैँ आफ्नो व्यक्तिगत स्वार्थलाई भन्दा पनि देश र समाजको स्वार्थलाई केन्द्रमा राखेर काम गर्दै आएको समेत जानकारी दिनुभयो । 

कार्यक्रमका अतिथि ग्रामीण विकास केन्द्रीय विभागका पूर्व विभागीय प्रमुख एवम् ग्रामीण पर्यटनविद् प्रेम शर्माले नेपालको नेचर र कल्चर अत्यन्त ठुलो चीज भएकोले त्यसलाई चिन्न देशव्यापी भ्रमण गर्न सक्नुपर्ने बताउनु भयो । युवाहरूलाई देशमै बसेर धेरै काम गर्न सकिन्छ भन्ने प्रमाणित गर्न पर्यटनको क्षेत्रमा सलाईको काँटी सल्काउन सक्नुपर्ने र त्यही रूपमा वृत्तचित्रले काम गर्न सक्ने धारणा उहाँले व्यक्त गर्नुभयो । पर्यटनको क्षेत्रमा नेपालभित्र धेरै सम्भावना भएकोले नेपालमा पर्यटकका लागि भ्रमणका स्रोतहरू प्राकृतिक सम्पदा र धार्मिक सम्पदा नै रहेकोले यसको कनेक्टिभिटीको प्रवर्द्धन हामी सबैले गर्नुपर्ने उहाँले बताउनु भयो । उहाँले बडीमालिकाको कनेक्टिभिटीलाई अन्तर्देशीय गन्तव्य बनाउँदै थोरै लगानीबाट धेरै आयआर्जन गर्न सकिने गरी शैलुङ् र बडीमालिकालाई देशकै प्रमुख पर्यटन गन्तव्यको रूपमा लिन सबैलाई आग्रह गर्नुभयो । 

कार्यक्रमका  विशेष अतिथि सुदूरपश्चिम विश्वविद्यालयका पूर्व उपकुलपति प्राडा भूषण श्रेष्ठले विश्वमै धार्मिक पर्यटन प्रवर्द्धनमा धेरै सम्भावना रहेको अवस्थामा बडीमालिका जस्तै ओझेलमा परिरहेको अछामको वैजनाथधाममा बोलबम शुरुवात गरेर धार्मिक पर्यटन प्रवर्द्धन गर्न सकिने धारणा व्यक्त गर्नुभयो । सुदूर पश्चिमका मानिसहरूले हामीमाझ जे पनि छ र जस्तो पनि गर्न सक्छौँ भन्ने सकारात्मक सोच राख्नुपर्ने बताउनुहुँदै उहाँले बाजुराबासीले आफ्नो गाउँ आफैँ बनाऔँ, आफ्नो ठाउँको विकास आफैँ गरौँ भनी भन्ने भावना जागृत गरेर अग्रसर हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । 

कार्यक्रममा विशेष अतिथि बाजुरा जिल्लाबाट संसदमा प्रतिनिधित्व गर्नुहुने नेता कर्ण थापाले अनुसन्धान कार्यमा विकल्पविहिनताको कल्पना गर्न नहुने धारणा व्यक्त गर्नुहुँदै श्रुतिका आधारमा मात्र नभई प्रमाणका आधारमा बडीमालिकालाई बुझ्न वृत्तचित्र महत्त्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । आफूले पहिलो पटक वि.सं. २०४२ सालमा बडीमालिका देवीको दर्शन गर्न पाएको स्मरण गर्दै त्यस क्षेत्रको प्रचारप्रसारको लागि वि.सं. २०५२ सालमा पहिलो पटक बुधवार पत्रिकामा बडीमालिका देवीको बारेमा लेख लेखेको बताउनु भयो । बडीमालिका क्षेत्रको विकासका लागि आफूहरू प्रतिबद्ध रहेको बताउनु हुँदै उहाँले ५ लाख बजेट विनियोजित हुने गरेकोमा आफूहरूले पहल गरी आठ करोडसम्म बजेट निकासा गराएको बताउनु भयो । उहाँले एमफिल तहको अनुसन्धानले बडीमालिकाको ऐतिहासिक महत्वलाई अझ उजागर गरेको बताउनु हुँदै अब विस्तृत अनुसन्धानका लागि पिएचडिको विषय समेत बनाएर गहिरो अध्ययन गर्न सुझाव दिनुभयो । उहाँले सिंहदरबार र विश्वविद्यालयबिच विषयकेन्द्रीत रूपमा सौहार्दपूर्ण समन्वय र सहकार्य जरुरी भएको बताउनु हुँदै विश्वविद्यालयले गर्ने अध्ययन अनुसन्धानको निष्कर्षलाई सरकारले अनुसरण गरी कार्यान्वयनमा लैजाने वातावरण बनाउन सक्नुपर्ने धारणा व्यक्त गर्नुभयो । 

पर्यटनविद् भरतप्रसाद बडालले धर्म र संस्कृतिले मानिसको सम्पूर्ण शक्तिलाई जोड्न सक्ने धारणा व्यक्त गर्नुहुँदै मानिसमा प्राप्त हुने शक्ति नै श्री बडीमालिका भएकोले पर्यटन वृद्धि गर्न नयाँ अन्वेषण र खोजको जरुरी भएको बताउनु भयो । बडिमालिका क्षेत्रमा पर्यटन क्षेत्रको विकासका लागि विज्ञका सुझावहरुलाई राजनीतिक नेतृत्वले इच्छाशक्ति देखाएर कार्यान्वयन गरे मात्र लक्ष्य हासिल हुन सक्ने बताउनु भयो ।  

यसैगरी बडीमालिका पुस्तकका लेखक एवम् कार्यक्रमका अतिथि जहरसिँह थापाले सुदूरपश्चिम क्षेत्रको संस्कृति र पहिचानको रूपमा बडीमालिका देवीको मन्दिर रहेको उल्लेख गर्नुहुँदै आफूले एसएलसी परीक्षा दिएर पहिलो पटक वि.सं. २०३६ सालतिर देवीको चरणमा दर्शन गर्न पुगेको र देवीको शक्तिको कारण आफूले सफलता हासिल गर्दै आजको अवस्थामा आइपुगेको बताउनु भयो । वि.सं. २०४२ सालमा स्काउटको तालिम लिएर सरकारी पेटारो लैजाने धार्मिक यात्रामा सहभागी हुने तीर्थालुहरुलाई आफूहरूले त्यतिबेलादेखि सहयोग गर्दै आएको स्मरण गर्नुहुँदै वि.सं. २०६० सालमा आएर आफूलाई बडीमालिकाको बारेमा पुस्तक लेख्न इच्छा भई शुरुवात गरेर वि.सं. २०७२ सालमा ऐतिहासिक पुस्तक प्रकाशनमा सफलता प्राप्त गरेको बताउनु भयो । उहाँले दश जनाको टोलीले क्यामेरा बोकेर अनुसन्धानको लागि मन्दिरसम्म यात्रा गरेको र पुस्तकको पाण्डुलिपी तीन प्रति बनाई एक प्रति देवीको चरणमा चढाएको जानकारी दिनुभयो । आफूले पछिल्लो पिँढीहरूको लागि इतिहासलाई समेटेर प्रकाशन गरेको पुस्तक प्रकाशन गर्न धेरै ठाउँमा सहयोगको लागि अनुरोध गरे पनि कतैबाट सहयोग प्राप्त नभएको उहाँले गुनासो समेत गर्नुभयो । 

यसैगरी बिमकोटे राजाका सन्तति पूर्व मन्त्री जनकबहादुर शाहले आफूहरू बडीमालिका मन्दिरमा जान नपाउने भएकोले वृत्त चित्रले आफूलाई मन्दिरसम्म पुगेको आभास भएको उल्लेख गर्दै बडीमालिका देवीको उत्पत्तिको प्रसङ्ग प्रस्तुत गर्नुभएको थियो ।

त्यस्तै डोटेली समाजका अध्यक्ष जगदीश केसीले अहिलेको समयमा धार्मिक पर्यटन बढ्दै गएको प्रत्यक्ष अनुभव हुने बताउनु हुँदै पर्यटनलाई धार्मिक यात्रासँग जोड्न सक्नुपर्नेमा जोड दिनुभयो । उहाँले खप्तड क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको ध्यानकेन्द्र स्थापनाको माग गरेको तर सुनुवाई नभएको बताउनु भयो । छिमेकी भुटानले सन् २०१२ मा विश्व खुशी दिवस मनाउन युएनमा प्रस्ताव गर्दा अहिले भुटान खुशी हुने देशहरूमा उत्कृष्ट बन्न सकेको उल्लेख गर्नुहुँदै नेपालले पनि सुदूर पश्चिम क्षेत्रका पाटन प्रकृतिको सौन्दर्यताका कारण धार्मिक यात्राको लागि उत्कृष्ट गन्तव्य बनाउन सकिने धारणा प्रस्तुत गर्नुभयो । 

नेपाल पर्यटन तथा होटल व्यवस्थापन एकेडेमीका विभागीय प्रमुख अजय कुमार ढकालले सुदूर पश्चिमको धार्मिक सम्पदा नेपालको ठुलो सम्पत्ति रहेको उल्लेख गर्नुहुँदै यस क्षेत्रले धार्मिक सांस्कृतिक हिसाबले देशलाई चिनाएको बताउनु भयो । नयाँ पर्यटकीय गन्तव्यको रूपमा बडीमालिकालाई विकास गर्न स्थानीय जनशक्तिलाई तालिम दिई पर्यटन गाइड र होटल व्यवसायको जनशक्ति पहिले उत्पादन गर्न सक्नुपर्ने धारणा व्यक्त गर्नुभयो । सक्षम जनशक्तिले मात्र त्यहाँ पुग्ने पर्यटकलाई उचित स्वागत र सेवा गर्न सक्ने भएकोले जनशक्ति उत्पादनमा यो संस्थाले सक्दो प्रयत्न गर्ने बताउनु भयो । 

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्नुहुँदै शोधार्थी रोशनप्रसाद श्रेष्ठले आफ्नो शैक्षिक अध्ययनको क्रममा आफ्नो क्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य राखेर आफूले सरकारी पेटारो लैजाने गत श्रावण २१ गतेदेखि भएको पन्ध्र दिने धार्मिक यात्रामा सहभागी भई प्रत्यक्ष अनुसन्धानबाट शोध कार्य गरेको र सो शोधकार्यको क्रममा गरिएको अनुभवलाई वृत्तचित्रमा उतारेको बताउनु भयो । 

कार्यक्रममा वृत्तचित्र निर्माण कार्यमा योगदान गर्नुहुने सङ्गीतकार, वन्दना गायिका, स्वराङ्कन, छायाङ्कन, सम्पादन कार्यमा सहयोग गर्नुहुने व्यक्तिहरू, प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिहरू र सल्लाहकार महानुभावहरूलाई समेत सम्मान गरिएको थियो । उक्त वृत्तचित्र प्रदर्शन कार्यक्रमको अध्यक्षता वृत्तचित्र निर्देशक तथा त्रिवि ग्रामीण विकास केन्द्रीय विभागका उपप्राध्यापक डा. पासाले गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण दुर्गाराज पाण्डेले गर्नुभएको थियो ।