शुक्रबार २५ माघ, २०८१

नेपाली समय

भोजपुरमा एचपिभी खोप सुरु, खोपमा देखियो उत्साह (फोटो फिचर)

भोजपुरमा एचपिभी खोप सुरु, खोपमा देखियो उत्साह (फोटो फिचर)

भोजपुर, २२ माघ । पूर्वी पहाडी जिल्ला भोजपुरमा आठ हजार चार सय १९ जना किशोरीहरुलाई खोप लगाउने लक्षका साथ मङ्गलवारबाट पाठेघरको क्यान्सरविरुद्ध दिइने ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप अभियानसुरु भएको छ । कक्षा छ देखि १० सम्म अध्ययनरत तथा विद्यालयबाहिर रहेका १० देखि १४ वर्षसम्मका किशोरीलाई एचपिभी खोप दिइने छ ।

जिल्लाका नौ वटा स्थानीय तह मध्ये पहिलो चरणमा माघ २२ देखि २४ गतेसम्म भोजपुर नगरपालिका सहित टेम्केमैयुङ गाउँपालिका, रामप्रसाद राई गाउँपालिका, हतुवागढी गाउँपालिका र आमचोक गाउँपालिकामा खोप कार्यक्रम सञ्चालन हुने छ भने माघ २७ गते देखि २९ गतेसम्म षडानन्द नगरपालिका, साल्पासिलिछो गाउँपालिका, अरुण गाउँपालिका र पौवादुङमा गाउँपालिकामा दोश्रो चरणको खोप कार्यक्रम सञ्चालन हुने स्वास्थ्य कार्यालय भोजपुरका प्रमुख राजु श्रेष्ठले जानकारी दिनुभयो । 

खोप अभियानका लागि जिल्लाका एक सय ३५ विद्यालय, नौ स्थानीय तहका ८१ वटै वडा, ८१ वटा स्वास्थ्य संस्था र नौ वटा समुदाय स्तरीय खोप केन्द्र गरी दुई सय २५ खोप केन्द्र निर्धारण गरिएको छ भने दुई सय २५ जना स्वास्थ्यकर्मी र चार सय ५० जना स्वयम सेवक परिचालन गरिएको छ ।