शुक्रबार २५ माघ, २०८१

नेपाली समय

विश्व क्यान्सर दिवसको अवसरमा एच.पि.भी खोप अभियान सुरु

विश्व क्यान्सर दिवसको अवसरमा एच.पि.भी खोप अभियान सुरु

रौतहट, २२ माघ । जिल्लाको गौर नगरपालिकामा  रहेको स्वास्थ्य कार्यालय गौरको सभा हलमा एचपिभि खोप अभियान मङ्गलवारदेखि विधिवत् रूपमा सञ्चालन भएको छ । जिल्ला स्तरीय खोप समन्वय समितिको सभापति रामअयोध्या राय यादवले मंगलवार एच.पि.भी खोपको उद्घाटन गरी ९ जना छात्रालाई एच.पि.भी खोप लगाई  कार्यक्रमको बिधिवत रूपमा शुभारम्भ गरिएको हो ।

स्वास्थ्य कार्यालय रौतहट गौरको योजनामा कार्यालयको सभा हलमा एक कार्यक्रमको आयोजना गरी एच.पि.भी खोप अभियान सञ्चालन गरिएको हो । स्वास्थ्य कार्यालय रौतहट गौर कार्यालय प्रमुख राजेश कुमार सिंह मन्तव्य राख्दै लक्ष्य, उद्देश्य, उपलब्धि, अवस्थाबारे जानकारी गराउँदै, पाठेघरको मुखको क्यान्सर निवारण, रणनीति, एच.पि.भि.खोप अभियानको औचित्य र सञ्चालन प्रक्रियाबारे खोप समन्वय समिति सञ्चार क्षेत्र र सरोकारवालाहरूको भूमिका र जिम्मेवारी बारे उद्देश्यलेले यो अभियान सञ्चालन गरिएको हो। 

त्यस्तै यही माघ २२ गते देखि फागुन ६ गते सम्म सञ्चालन हुने एच.पि.भि. खोप अभियानमा ४९ हजार २ सय ६९ छात्रा र किशोरीहरूलाई खोप दिने लक्ष्य राखिएको स्वास्थ्य कार्यालय गौर का कार्यालय प्रमुख सिंहले बताए । यो लक्ष्यमा १०० प्रतिशत अनिवार्य खोप लगाउनु पर्ने उनको भनाई रहेको थियो । औसतमा प्रत्येक दिन ४ जना महिलाहरूको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने गरेको भन्ने अनुमान गरिएकोले १० वर्षदेखि १४ वर्ष मुनिका किशोरीहरू कोही पनि नछुटाउन हुनेमा उनले जोड दिए । 

जिल्ला स्तरीय खोप अभियान कार्यक्रममा जिल्ला खोप अभियानका अध्यक्ष तथा जिल्ला समन्वय समिति रौतहट गौरका सभापति रामअयोध्या राय यादव, जिल्ला समन्वय समितिको उप-सभापति महेश बैठा, राष्ट्रिय अनुसन्धान का उप. अनु. नि. अभिनय कुमार सिंह, जिल्ला कार्यालय रौतहट प्रहरी उपरीक्षक दिलिप घिमिरे, रेडक्रस सोसाइटी जिल्ला शाखाको अध्यक्ष राजकिशोर प्रसाद यादव, स्वास्थ्य कार्यालय रौतहट गौरको कार्यालय प्रमुख राजेश कुमार सिंह, स्वास्थ्य कार्यालय गौरको कर्मचारीहरू, संञ्चारकर्मीहरु लगायत गैरसरकारी विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूको उपस्थितिमा एच.पि.भी खोप अभियान जिल्ला स्तरीय उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।