बरहथवा (सर्लाही), २० माघ । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले शिक्षा क्षेत्रमा परिवर्तनका लागि शिक्षक शिक्षिकाहरूको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।
आज सर्लाहीको ईश्वरपुर नगरपालिका–३, भक्तिपुरमा सरस्वती माध्यामिक विद्यालयको हीरक जयन्ती (६०औँ स्थापना दिवस) समारोहमा उहाँले विद्यालयमा शिक्षक शिक्षिकाहरूले नियमित पढाउने, गृहकार्य दिने र दिएको गृहकार्य जाँच मात्र गर्दा पनि शिक्षाक्षेत्रमा धेरै सुधार हुने धारणा राख्नुभयो ।
सामुदायिक विद्यालयलाई बेवास्ता गर्दा शिक्षाको स्तर माथि उठ्न नसकेको भन्दै मुख्यमन्त्री सिंहले यसमा सबै गम्भीर बन्नुपर्नेमा जोड दिनुभयो । “यसै प्रदेशमा अभिभावकहरू सचेत बन्दा केही सामुदायिक विद्यालय उदाहरणीय बन्दै गएको छन् । सामुदायिक विद्यालयको सुधारका लागि सबै पक्ष जिम्मेवार र चिन्तित हुने र दरबन्दीअनुसार शिक्षकको व्यवस्था भएमा मधेशमा शिक्षाको गुणस्तर सुधारमा टेवा पुग्ने छ । यसका लागि हामी सबैले आफ्नो क्षेत्रबाट योगदान गरौँ”, उहाँले भन्नुभयो ।
मुख्यमन्त्री सिंहले प्रदेशको साक्षरता दर वृद्धि गर्न आवश्यक बजेट विनियोजन गर्नका साथै दलित, मुस्लिम, जनजाति तथा जेहेनदार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गरिएको समेत बताउनुभयो । उहाँले मुख्यमन्त्री सिंहले शिक्षकलाई चार महिनामा मात्र तलब भत्ता दिने परिपाटी उपयुक्त नरहेको भन्दै हरेक महिनामा तलब दिने बनाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा ईश्वरपुर नगरपालिका प्रमुख मनोजकुमार आचार्य, पूर्वप्रतिनिधिसभा सदस्य प्रमोद साहलगायतले मुख्यमन्त्री सिंहलाई ईश्वरपुर नगरपालिकाको शिक्षा, कृषि, पर्यटन लगायतका क्षेत्रमा प्रदेश सरकारका तर्फबाट सहयोग गरिदिन अनुरोध गर्नुभएको थियो ।
कार्यक्रममा सर्लाही क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य रामप्रकाश चौधरी, प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ, नेपाल प्रहरीका मधेश प्रदेश प्रमुख लालमणि आचार्य, सशस्त्र प्रहरीका मधेश प्रदेश प्रमुख कालिदास धौबजी, ईश्वरपुरकी उपप्रमुख रन्जितादेवी चौधरीलगायतको उपस्थिति रहेको थियो ।