शुक्रबार २५ माघ, २०८१

नेपाली समय

एचपिभी खोप अभियान: यो अभियान प्रभावकरी बनाउन के-के गर्न जरुरी छ ?

एचपिभी खोप अभियान: यो अभियान प्रभावकरी बनाउन के-के गर्न जरुरी छ ?

आगामी माघ २२ गतेबाट नेपालभर एचपिभी (ह्युमन प्यापलोमा भाइरस) खोप अभियान सञ्चालन हुदैछ । अहिले ब्यापकरुपमा यसको प्रचार प्रसार समेत थालिएको छ । के हो त यो खोप अभियान । यसको बारेमा बुझ जरुरी छ । यो खोप महिलाको पाठेघरको मुखमा हुने क्यान्सर रोकथामका लागि दिने गरिन्छ । नेपालमा पाठेघरको मुखको क्यान्सरबाट दैनिक चार जनाको मृत्यु हुने तथ्याङ्क छ । 

नेपाल सरकारले यही माघ २२ गतेदेखि आगामी फागुन ६ गतेसम्म देशभर एक साथ एचपिभी खोप अभियान सञ्चालनको तयारी थालेको छ । महिलाहरूमा हुने पाठेघरको क्यान्सर गराउने ८० प्रतिशत कारण एचपिभी भाइरसलाई लिने गरिएको छ । १५ दिने अभियान अन्तर्गत कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका करिब १७ लाख किशोरीहरूलाई यो खोप लगाउने लक्ष्य सरकारको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाइने ‘एचपिभी’ खोप ग्लोबल एलायन्स (गाभी)को सहयोगमा ल्याएको हो । ह्युमनपापिलोमा भाइरस सङ्क्रमण कलिलो उमेरमा विवाह गर्ने, कलिलो उमेरमै बच्चा जन्माउने, धेरै बच्चा पाउने, छोटो अन्तरालमा लगातार बच्चा पाउने र धेरै जनासँग यौन सम्बन्ध बनाउने, धेरै धूम्रपान तथा मद्यपान गर्ने र यौनाङ्गको सरसफाइमा ध्यान नदिनाले हुने बताइन्छ ।

नेपालमा सञ्चालन हुने यो खोप अभियानलाई सफल बनाउन विभिन्न पक्ष र व्यक्तिहरूको सक्रिय सहभागिता जरुरी देखिन्छ । खोप अभियानका लागि कुन कुन निकायहरू सक्रिय हुन आवश्यक छ त केही चर्चा गरौँ ।  

स्वास्थ्य मन्त्रालय र सरकार: नीति निर्माण सहित योजना बजाउने मुख्य दायित्व स्वास्थ्य मन्त्रालयको हुन्छ । त्यसैले खोपको रणनीति, कार्यक्रमको योजना र कार्यान्वयनमा मन्त्रालय सक्रिय हुन आवश्यक छ । स्रोत उपलब्ध गराउने, आवश्यक स्रोत र बजेट सुनिश्चित गर्न र खोप आपूर्ति गर्ने काम पनि सरकारको जिम्मामा पर्ने गरेको छ । त्यसैले पहिलो जिम्मेवार पक्ष स्वास्थ्य मन्त्रालय र सरकार  हो । 

स्वास्थ्यकर्मी र चिकित्सकहरू: स्वास्थ्यकर्मीहरूबाट सही तरीकाबाट खोप लगाउने कार्य हुने छ । समुदाय स्तरमा पनि स्वास्थ्यकर्मी र चिकित्सकहरूले खोपको महत्त्व, खोप नलगाउँदा हुने बेफाइदा, फाइदाहरू र साइड इफेक्ट्सको बारेमा सचेतना फैलाउने कार्यमा सक्रिय भूमिका निर्वाह गर्नुपर्छ । 

समुदाय र राजनीतिक दलका नेताहरू: जिल्ला स्थित राजनीतिक दलका नेताहरू, समाजसेवी र सामुदायिक क्षेत्रमा काम गर्ने अभियन्ताहरूले खोप अभियानको महत्त्व तथा उद्देश्यलाई प्रष्टरुपमा बुझाएर लाभग्राहीलाई जानकारी दिन आवश्यक हुन्छ । यसले गर्दा खोप कार्यक्रम प्रभावकारी बनाउन सकिन्छ । साथै स्थानीय तहमा खोप कार्यक्रमको लागि आवश्यक समन्वय र सहायता प्रदान गर्न सकिन्छ । 

सञ्चार तथा मिडिया क्षेत्र: स्थानीय स्तरमा रहेका सञ्चार तथा मिडिया क्षेत्रले खोप सम्बन्धी जनचेतना अभियानमा सहयोग गर्न सक्छन् । स्थानीय मिडिया, रेडियो, टेलिभिजन र सोशल मिडिया मार्फत खोपको विषयमा सकारात्मक सन्देशहरू दिन सकिन्छ । त्यसैले खोप अभियानका लागि सञ्चार तथा मिडिया क्षेत्र पनि जिम्मेवार बन्न जरुरी छ । 

सरकारी तथा गैर–सरकारी संस्था: जनचेतना फैलाउने, खोप केन्द्रमा सहयोग पुर्‍याउने र लक्षित समूहलाई खोप कार्यक्रममा सहभागी हुने वातावरण सरकारी तथा गैर सरकारी संस्थाहरूले मिलाउन सक्छन् । जसले सहभागिता सुनिश्चित गर्ने कार्यमा सहयोग पुर्याउछ । यस्तै सामाजिक संस्थाहरूले पनि खोप अभियानमा सक्रिय भाग लिन प्रेरित गर्न र खोपको महत्वका विषयमा जनचेतना फैलाउन सहयोगी भूमिका निर्वाह गर्नु पर्छ । 

शैक्षिक संस्थाहरू: खोप अभियानलाई प्रभावकारी बनाउने मुख्य दायित्व शैक्षिक संस्थाहरूको हुन्छ । सञ्चालन हुने खोपको केन्द्रहरू विद्यालयमा नै राखिएकाले शिक्षक र बिद्यार्थीहरुले खोप अभियानमा जनचेतना फैलाउने र समुदायका सदस्यहरूलाई खोप कार्यक्रमको उद्देश्य र महत्वका विषयमा बुझाउन भूमिका निर्वाह गर्नु पर्छ । 

यी माथिका कुराहरूबाट स्पष्ट हुन्छ, पाठेघरको मुखको क्यान्सरबाट जोगाउन सञ्चालन हुन लागेको खोप अभियान प्रभावकारी छ भन्ने । त्यसैले यो अभियान सफल बनाउन सबैको सहयोग र एकता जरुरी छ । लक्ष्य अनुसारको खोप कार्यक्रम सफल बनाउन सबै पक्ष जुटौँ । 

- निरोज कोइराला 

    भोजपुर 

(लेखक विगत २५ वर्ष भन्दा अगाडी देखि पत्रकारिता पेसामा सक्रिय हुनुहुन्छ )