(चक्र बहादुर कार्की)
२८६१ संवतका रूपमा यसबर्ष (सर्प) Dul त्यसमा पनि सापाख्री अर्थात् स्त्री सर्प वर्षका रूपमा तामाङ समुदायले ल्हो छार मनाउँदैछन् । सोनाम अर्थात् कृषि कार्यलाई थाती राखेर करिब १५ दिनसम्म सोनाम ल्हो छार मनाउने प्रचलन रहेको छ ।
ल्होसार तामाङ समुदायका साथै गुरुङ, शेर्पा, थकाली लगायतका हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायहरूले नयाँ वर्षको रूपमा मनाउने एक विशेष चाड /पर्व हो। तामाङ समुदायले मनाउने लोसारलाई "सोनाम ल्होसार" भनिन्छ। साथै तामाङ समुदायले यसलाई ल्होछार पनि भन्दछन् । "
लो" (Lho) को अर्थ वर्ष र "छार"(Chhar) को अर्थ नयाँ वा परिवर्तन भन्ने हुन्छ। अर्थात्, सोनाम ल्होसार भनेको नयाँ वर्षको सुरुवात अर्थात् नया वर्षको पहिलो दिन भन्ने हुन्छ । यसलाई मञ्जुश्री सम्बतका रूपमा मनाइन्छ । तामाङ समुदायले मनाउने यो वर्ष २८६१ सम्बतका रूपमा रहेको छ । यो सम्बत Dul (सर्प) वर्षमा र सर्पको पनि (सापाख्री) अर्थात् स्त्री सर्प वर्ष हो २८६१। तामाङ भाषामा "सोनाम" को अर्थ कृषि हुन्छ । यो पर्व मानव जाति कृषि युगमा प्रवेश गरेसँगै मनाउन थालिएको तामाङ समुदायको बिश्वास छ ।
तामाङ समुदायको पात्रो अनुसार माघ शुक्ल प्रतिपदाको पहिलो दिनलाई सोनाम ल्हो छार भन्ने गरिन्छ। नयाँ वर्षको पहिलो दिनलाई तामाङ समुदायले "ख्रेला" पनि भन्ने गर्दछन् । यो february महिनामा पर्दछ। चिनियाँ पात्रोका साथै तिब्बती पात्रोसँग मिल्दोजुल्दो रहेकाले हरेक वर्ष यसको तिथि मिति पनि फरक हुने गर्दछ ।तामाङ समुदायका अनुसार १२ राशि अनुसार १२ वर्षचक्र अनुसार नै हुने गर्दछ । यस अन्तर्गत प्रत्येक वर्ष मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेँडा, बाँदर, चरा, कुकुर, सुँगुर मध्ये कुनै एक राशिको नाममा मनाउने गरिन्छ । यिनै बाह्र जनवारका नामबाट महिनाको पनि गणना गरिन्छ । यी बाह्र जनावर मध्ये यो वर्ष सर्प वर्ष भएकाले यो वर्षमा जन्मने मानिस सर्प जस्तै चतुर र जुनसुकै अवस्थामा पनि समायोजन हुन सक्दछ भन्ने अर्थ लाग्ने जनबिश्वास यो समुदायमा रहेको छ । जस्तै सर्प पानी, जमिन, ढुङामुनी आदि ठाउँमा समयनुसार बस्न र जिउन सक्दछ ।
गुम्बा तथा घरघरमा पूजाआजा बौद्ध धर्म अनुसार गुम्बा र घरमा विशेष पूजाआजा गरिन्छ। पूजा गर्नु अगाडी घर तथा गुम्बामा लिपपोत, सरसफाई गर्ने चलन छ । बुद्ध, गुरु रिन्पोछे, तथा धर्मपाल देवताहरूको पूजा गरिन्छ। जहाँ कुलकुटुम्ब, चेलीबेटी बोलाइन्छ र लामा वा धर्मगुरुलाई बोलाएर पूजाआजा गर्ने चलन छ । जसले सामाजिक एकतालाई मजबुत बनाउँदछ ।
यो पर्वमा चीन लगायत बुद्धिस्ट देशहरूमा एक हप्तासम्म सरकारी बिदा दिने चलन छ । जसलाई डा फु चाई अर्थात् नयाँ वर्षको शुभकामना भने अर्थ लाग्दछ । नेपालमा चाहिँ यसलाई लोछार "ला ज्याबा मुला" भनिन्छ । नेपालका तामाङ समुदायले यो पर्वलाई विशेष उत्सवका साथ मनाउने गर्दछन् । नेपालका तामाङ समुदायले यस पर्वमा डम्फु, टुङ्ग्ना लगायतका वाद्यवादन बजाएर हर्सोउल्लासका साथ मनाउने गर्दछन् । नयाँ वर्षको स्वागत गर्ने क्रममा तामाङ समुदायको आफ्नै भेषभुषा अनिवार्य हुन्छ। घरमा दर्जु फेर्ने, लोटाङ्ग लगाउने कार्य पनि ल्होछार अर्थात् नयाँ वर्षमा हुने गर्दछ । साथै नयाँ लुगा लगाउने, घरको सरसफाई गर्ने, साथीभाइ, छरछिमेक बोलाउने, चेलीबेटीलाई विशेष आदर सत्कार गर्ने तथा आफन्तसँग शुभकामना आदान-प्रदान गरिन्छ। जहाँ सगुनका रूपमा खाप्से (Khapse) सङ्गै विभिन्न प्रकारका सगुनबाट सम्मान गरिन्छ भने घरमा इस्टमित्र र पाहुनालाई बोलाए विशेष परिकार बनाएर खानपान र सम्मान गर्ने चलन यो समुदायको मौलिक विशेषता हुन। यो पर्व तामाङ्हरुले १५ दिनसम्म धुमधामसङ्ग मनाउने गर्दछन् ।
नाचगान र परम्परागत गीतसंगीतका साथै डम्फु नाच, स्याब्रु नृत्य पनि प्रदर्शन गर्ने यो समुदाय भित्रको मौलिक परम्परा हो, यो अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम तथा मेलाहरू समेत आयोजना गरेको पाइन्छ। तामाङ समुदायको परम्परागत खाना अन्तर्गत सेलरोटी, Khapse(खाप्से) मासुका परिकार, मौसमी फलफूल आदिलाई सगुन मानी विशेष खानपान गरिन्छ।
ल्होछार (ल्होसार) पर्वलाई तामाङ समुदायले सामाजिक एकता र भातृत्वको पर्वका रूपमा पनि मान्दछन् । जहाँ समाजका अरू जातजातिका मानिसहरूलाई पनि यस पर्वमा आमन्त्रण गरी स्वागत सत्कार गर्ने, आफ्ना मान्यजनबाट आशीर्वाद लिने, चेलीबेटीलाई बोलाई सत्कार गर्ने जस्ता सामाजिक सांस्कृतिक अभ्यासहरूलाई हेर्दा Lhochhar पर्वलाई सामजिक सद्भावका अर्थमा पनि हेर्न सकिन्छ ।
तामाङ समुदाय पनि प्रकृति पूजक रहेको देखिन्छ । उनीहरू हिमालमा रहेको डाँफे देखी तराईका खोलानालामा पाइने माछा लगायतका जीबजन्तुहरुको पूजा अर्चना गर्दछन् । उनीहरू पृथ्वीको चारै दिसाको पूजा गर्दछन् । जसलाई उनीहरू "स्यारलो नोबग्याङ्ग" भन्दछन् । उनीहरू आफ्नो देवीदेवतालाई "कोन्जोसोम" भन्दछन् । जसको अर्थ भगवान् गौतम बुद्ध भन्ने हुन्छ ।
ल्होछार पर्व नेपाल लगायत भुटान, थाईल्याण्ड, कोरिया, चीन, जापान, तिब्बत लगायतका देशहरूमा उत्सवका रूपमा मनाउने गर्दछन् ।
नेपालमा तामाङ समुदायको बसोबास मुख्य रूपमा बागमती, गण्डकी, लुम्बिनी र कोशी प्रदेशका पहाडी तथा हिमाली जिल्लाहरूमा रहेको छ। तामाङ समुदायको बाहुल्य रहेका जिल्ला र त्यहाँ धुमधामसँग सोनाम ल्होछार मनाइने गर्दछन् । जसअन्तर्गत बागमती प्रदेशमा सबैभन्दा बढी तामाङ्हरुको बसोबास रहेको छ ।
बागमती प्रदेश अन्तर्गत काठमाडौँको कीर्तिपुर, चन्द्रागिरी, टोखा, बूढानीलकण्ठ, ललितपुरको गोदावरी, महालक्ष्मी र भैंसेपाटी क्षेत्र, भक्तपुरको नगरकोट, सूर्यविनायक क्षेत्र, काभ्रेपलान्चोकको बनेपा, धुलिखेल, पाँचखाल, नमोबुद्ध, सिन्धुपाल्चोकको बाह्रबिसे, मेलम्ची, हेलम्बु क्षेत्र, नुवाकोटको बेत्रावती, विदुर, बेलकोटगढी क्षेत्र, रसुवाको गोसाइँकुण्ड, धुन्चे, लाङटाङ क्षेत्र, धादिङको गल्छी, बेनीघाट, रुबी भ्याली मकवानपुरको हेटौँडा, पालुङ, डाँडाखर्क क्षेत्र, गण्डकी प्रदेशको
लमजुङको सुन्दरबजार, बेंसीसहर, गोर्खाको बारपाक, भुम्लिचोक, लाप्राक, स्याङ्जाको वालिङ, आँधिखोला क्षेत्र, तनहुँको दमौली, बन्दिपुर क्षेत्र, यसैगरी लुम्बिनी प्रदेश अन्तर्गत रुपन्देहीको बुटवल, देवदह, दाङ्को तुल्सीपुर, घोराही, कोशी प्रदेशको सोलुखुम्बुको नेचासल्यान, गुदेल, दुधकुण्ड, सङ्खुवासभाको, खाँदबारी, चैनपुर, धनकुटाको लेगुवा, हिले, मोरङको पथरी शनिश्चरे, बेलबारी, भोजपुरको हेलौछा, काफ्ले, बोखिम, भाम्राङ आदि स्थानहरूमा विशेष रूपले मनाउने गरिन्छ । साथै काठमाडौँको टुँडिखेल, नमोबुद्ध काभ्रेमा बौद्ध धर्मसँग सम्बन्धित विशेष प्रकारको पूजा अर्चना, हेलम्बुको गुम्बामा विशेष पूजा तथा सांस्कृतिक कार्यक्रम, बुद्धजन्मस्थल लुम्बिनीमा गुम्बा क्षेत्रमा भब्यरुपमा मनाइन्छ । साथै ललितपुरको गोदावारीमा यस दिन ठूलो सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिन्छ ।
तामाङ समुदाय नेपालको विभिन्न पहाडी तथा हिमाली क्षेत्रहरूमा फैलिएका छन्, विशेषगरी बागमती प्रदेशमा सबैभन्दा बढी तामाङ जनसंख्या पाइन्छ। सोनाम ल्होसार तामाङ समुदायको प्रमुख पर्व भएकाले काठमाडौं, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, धादिङ, मकवानपुर, नुवाकोट लगायतका जिल्लाहरूमा विशेष रूपमा मनाइन्छ। सोनाम ल्होसार तामाङ समुदायको प्रमुख चाड हो, जसले नयाँ वर्षको आगमनसँगै सामाजिक, सांस्कृतिक पहिचान, मेलमिलाप, सद्धाब, खुसी र बौद्ध धर्मको परम्परालाई झल्काउँछ। नेपाली समाजमा टुट्दै र फुट्दै गएको सामाजिक परिधिलाई एकतामा र आपसी मेलमिलापका साथै सहास्तित्वको मार्गमा थप सहयोग पुर्याउने कार्यमा ल्हो छार कोशे ढुङ्गा साबित बन्दै गएको अनुभूति हुन्छ ।
@यो लेख तयार गर्ने क्रममा आवश्यक सहयोग पुर्याउनु भएकोमा भोजपुर नगरपालिका ९ स्थित भोटेपसल निवासी गोपाल मोक्तान र ऐजन पालिका ५ स्थित बोखिम निवासी चन्द्र तामाङप्रति आभार व्यक्त गर्दछु ।
लेखक:
- चक्र बहादुर कार्की
gmail: [email protected]
लेखक नेपाली काङ्ग्रेस भोजपुरका जिल्ला सचिव हुनुहुन्छ भने उहाँ त्रिभुवन विश्वविद्यालय समाजशास्त्र केन्द्रीय विभागबाट समाजशास्त्र विषयमा विद्यावारिधि अनुसन्धानरत हुनुहुन्छ ।
(प्रकाशित लेख लेखकको आफ्नो निजी विचार हो।)