आफूलाई समेत प्रवाह नगरी देश, समाज र नागरिकको हित र स्वतन्त्रताको लागि बलिबेदीमा होमिन तयार शहिदको प्राण र रगतले नै आजको व्यवस्थामा हामी आइपुगेका हौ । यिनै शहिदको आदर्शलाई आत्मसात् गर्दै समाजप्रति समर्पित हुनु हामी सबैको कर्तव्य हो, दायित्व हो ।
सहिद शब्दले देश, समाज वा यसैको परिधिमा आदर्श र स्वाभिमानका लागि घरपरिवारका साथै आफूलाई समेत प्रवाह नगरी देश र जनताका लागि आफ्नो जीवन बलिबेदिमा होम्याउने व्यक्तिलाई बुझाउँछ। यिनले व्यक्तिगत स्वार्थभन्दा नितान्तै माथि उठेर राष्ट्र, जनता वा कुनै निश्चित उद्देश्य प्राप्तिका लागि आफ्नो ज्यानको समेत बाजी राख्न तत्पर र उत्सुक हुन्छन् । सच्चा सहिदहरूमा देशप्रतिको गहिरो माया र अमिट समर्पण हुन्छ। उनीहरू आफ्नो देशलाई सबैभन्दा माथि राख्छन्।
भने आफ्नो जीवनलाई देश वा समाजको हितका लागि त्याग्न तयार हुन्छन्। उनीहरूलाई यति मात्र थाहा हुन्छ कि, आफ्नो बलिदानले अरूको जीवनलाई उज्ज्वल बनाउन सकिन्छ । प्रजातन्त्र प्राप्तिका लागी चार शहिदहरुले बिना स्वार्थ वा फाइदाको अपेक्षा नगरी राणा शासनको अन्त्य गरी जनतालाई स्वतन्त्रता दिनु थियो । उनीहरूले कठिन र कठोर परिस्थितिका बाबजुद पनि आफ्नो लक्ष्य प्राप्तिका लागि निरन्तर प्रयासहरू गरी नै रहे।
नेपालमा चार सहिदको महत्त्वलाई सम्झदा: सहिदहरू हाम्रा राष्ट्रिय गौरव हुन्। उनीहरूले हामीलाई देशप्रतिको प्रेम, सद्भाव, बलिदान र निस्वार्थ सेवाको पाठ सिकाएर गएका छन । उनीहरूको बलिदानीका कारण नै आज हामी स्वतन्त्र र सार्वभौम देशमा बाँचिरहेका छौँ।
नेपालमा सहिद भन्ने शब्दलाई हेर्दा, विशेषगरी राणा शासनको निरङ्कुशता र यसको अन्त्यका लागि विरोधमा लाग्दा ज्यान गुमाएका व्यक्तिहरू अन्तर्गत शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठ नै आजका सच्चा सहिद हुन। यी चारजनालाई प्रजातन्त्र प्राप्तिको लागि बलिबेदिमा होमिने नेपालका प्रथम सहिद मानिन्छ। उनीहरूले राणा शासनको विरोध गरेका कारण फासीको सजाय पाएका थिए। तर लखन थापालाई नेपालको पहिलो सहिद मानिन्छ। विभिन्न युद्धमा देशको रक्षा गर्ने सैनिकहरू पनि एक सच्चा सहिद हुन । यीनीहरूले पनि देशको लागि आफ्नो ज्यान बलिदान गरेका हुनाले उनीहरूलाई पनि सहिद मानिन्छ।
नेपालमा प्रत्येक वर्ष माघ १६ गते सहिद दिवस मनाइन्छ। यस दिन सहिदहरूलाई श्रद्धाञ्जली अर्पण गरिन्छ। तर उनीहरूको योगदानलाई हेर्दा यसरी मनाइने सहिद दिवस केबल औपचारिकताका लागि मात्र गरिएको हो कि भन्ने लाग्दछ ।
चार शहीद गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्द र शुक्रराज शास्त्रीले राणा शासनकालमा देशमा प्रजातन्त्र ल्याउने उद्देश्यले गरिएका गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ गरी मृत्युदण्ड दिइएको थियो।
उनीहरूको बलिदानको मुख्य उद्देश्यलाई हेर्दा, प्रजातन्त्रको स्थापना गरेरै छाड्नु : उनीहरूले राणा शासनको निरंकुशताको विरोध गर्दै देशमा प्रजातन्त्र स्थापना गर्न चाहन्थे। जनताको अधिकार स्थापना गर्दै उनीहरूले जनतालाई समान अधिकार दिलाउन र शोषण तथा उत्पीडन अन्त्य गर्ने धेय पनि उनीहरूको थियो ।उनीहरू देशलाई समृद्ध बनाउन र सबै नागरिकको जीवनस्तर उकास्नु पर्छ भन्ने पवित्र भावना थियो।
उनीहरूलाई कहाँ र कसरी मृत्युदण्ड दिइएको त?
शुक्रराज शास्त्रीलाई: टेकु पचलीमा फासी दिइएको।
धर्मभक्त माथेमालाई: सिफलमा झुन्ड्याइएर तत्कालीन सरकारले बहादुरी प्रदर्शन गरेको थियो। यसैगरि दशरथ चन्द र गंगालाल श्रेष्ठ: शोभा भगवतीमा गोली हानी मारिएको थियो। उनीहरुको त्यही बलिदान नै प्रजातन्त्र र स्वतन्त्रताको पहिलो जग थियो । नेपालमा चार सहिदको बलिदानको महत्त्व आज पनि उत्तिकै सान्दर्भिक र स्मरणयोग्य छ, उनीहरूको बलिदानले नेपाली नागरिकमा राष्ट्रिय एकताको भावना जगाएको थियो। त्यही बलिदानले गर्दा नै नेपालमा प्रजातन्त्रको आन्दोलन झनै बलियो भएको थियो र अन्ततः राणा शासनको अन्त्य भएको थियो। आज हामी जुन प्रजातान्त्रिक व्यवस्थामा छौँ, त्यो उनीहरूकै बलिदानको प्रतिफल हो।
यसरी, चार शहीदले आफ्नो जीवनको बलिदान दिएर नेपालको इतिहासमा एउटा नयाँ अध्यायको शुरुवात गरेका थिए। चार शहिदले नेपालको प्रजातन्त्र प्राप्तिका लागि गरेको बलिदान आज पनि स्मरणीय छ।
उहाँहरूको नाममा विभिन्न सडक, चोक, संस्थाहरूको नामकरण गरिएको छ। सहिद गेट जस्ता स्मारकहरू निर्माण गरिएका छन्। यसले उहाँहरूको योगदानलाई राष्ट्रिय स्तरमा सम्मान गरेको अनुभूति हुन्छ। साथै विद्यालयको पाठ्यक्रममा चार शहीदको बलिदान र योगदानलाई समावेश गरिएकाले नयाँ पुस्तालाई उहाँहरूको बारेमा जानकारी दिलाउँछ। राजनीतिक परिधिबाट हेर्दा अधिकांश राजनीतिक दलहरूले आफ्नो घोषणापत्रमा शहीदको आदर्शलाई अनुसरण गरेको पाइन्छ। तर हिजोआज शहीद दिवस केवल औपचारिकतामा सीमित हुने गरेको देखिन्छ। उनीहरूको सपनालाई साकार पार्नका लागि कुनै ठोस पहल नभएको जस्तो पनि अनुभूति हुन्छ। साथै राजनीतिक दलहरूले शहीदको नामको दुरुपयोग गर्ने र आफ्नो स्वार्थका लागि प्रयोग गर्ने गरेको देखिन्छ। आज युवा पुस्तालाई शहीदको योगदान र त्यागको बारेमा पर्याप्त जानकारी नभएको हो कि भन्ने देखिन्छ।
उहाँहरूको सपना पूरा गर्न के गर्नु पर्ला?
पाठ्यक्रममा जोड: विद्यार्थीहरूलाई शहीदको जीवन र योगदानको बारेमा विस्तृत रूपमा अध्ययापन गराउनुका साथै उहाँहरूको विचार र आदर्शलाई आत्मसात् गर्न प्रेरित गर्नुपर्छ। समाज सेवामा लागेर शहीदको सपनालाई साकार पार्न सकिन्छ। गरिब, दुःखी र पीडितहरूको सेवा गर्नु नै उहाँहरूलाई सच्चा श्रद्धाञ्जली हुनेछ। भ्रष्टाचार, अनियमितता र कुशासन विरुद्ध लडेर देशलाई समृद्ध बनाउन सकिन्छ। यसले शहीदको सपनालाई साकार पार्न मद्दत गर्ने देखिन्छ। यसका साथै सबै नेपालीहरू एकजुट भएर देशको विकासमा लाग्नुपर्छ। जातीय, धार्मिक र क्षेत्रीय विभाजनलाई अन्त्य गरेर राष्ट्रिय एकता कायम गर्नुपर्छ।
राजनीतिक सुधार अन्तर्गत राजनीतिक दलहरूले आफ्नो स्वार्थ त्यागेर देशहितमा काम गर्नुपर्छ। पारदर्शिता, जबाफदेहिता र सुशासन कायम गर्नुपर्छ।
चार शहीदको बलिदानलाई सधैँ स्मरण गर्दै उहाँहरूको सपनालाई साकार पार्न हामी सबैले आ-आफ्नो ठाउँबाट योगदान दिनुपर्छ।
चार सहिदको बलिदानले नेपाली समाजमा दूरगामी प्रभाव पारेको छ। यसले राजनीतिक चेतना जगाउँदै, राणा शासनविरुद्धको आन्दोलनलाई बलियो बनायो र अन्ततः प्रजातन्त्र प्राप्तिको मार्ग प्रशस्त गर्यो । चार सहिदको बलिदानले नेपाली जनतामा राजनीतिक चेतना जगाउन महत्त्वपूर्ण भूमिका खेलेको थियो। यसले जनतालाई राणा शासनको निरंकुशता र अन्यायका विरुद्ध उठ्न प्रेरित मात्र गरेन राणा शासनविरुद्धको आन्दोलनलाई बलियो बनाइ जनतामा एकता र दृढता ल्यायो र राणा शासनलाई कमजोर बनाउन सहयोग पुर्यायो। यिनै सहिदको बलिदानले अन्ततः नेपालमा प्रजातन्त्र प्राप्तिको बाटो प्रशस्त गर्यो। यसले राणा शासनको अन्त्य र प्रजातन्त्रको स्थापनाको लागि एउटा महत्त्वपूर्ण यु टर्न भयो । जसमा,
वाक स्वतन्त्रता र राजनीतिक स्वतन्त्रताको महत्वलाई गहिरो रूपमा बुझायो:चार सहिदको बलिदानले नेपाली जनतालाई वाक स्वतन्त्रता र राजनीतिक स्वतन्त्रताको महत्त्व बुझायो। यसले जनतालाई आफ्ना विचार व्यक्त गर्न र राजनीतिक प्रक्रियामा सहभागी हुन प्रेरित गर्यो, राष्ट्रिय एकताको भावना बढाउँदै चार सहिदको बलिदानले नेपाली जनतामा राष्ट्रिय एकताको भावनालाई अझै मजबुत गर्दै सबै नेपालीलाई एकजुट भएर देशको विकास र समृद्धिको लागि काम गर्न प्रेरित गर्यो।
समग्रमा भन्नुपर्दा, चार सहिदको बलिदानले नेपाली समाजमा एक महत्त्वपूर्ण कालखण्डको शुरूवात भयो। यसले नेपाललाई निरंकुशताबाट मुक्त गरी प्रजातन्त्रको बाटोमा अघि बढ्न मद्दत गर्यो।
नेपालको इतिहासमा प्रजातन्त्र प्राप्तिका लागि लडेका चार अमर शहीद गङ्गालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्द र शुक्रराज शास्त्री को बलिदानलाई हामीले कहिल्यै बिर्सन सक्दैनौँ। राणा शासन विरुद्धको आन्दोलनमा सक्रिय भूमिका खेलेका यी चार युवाको हत्याले नेपाली जनतामा क्रान्तिकारी भावना जगाएको थियो। उनीहरूलाई कहिले र कसरी हत्या वा फासीको सजाय भयो त भन्ने विषयलाई हेर्दा? वि.सं. १९९७ माघ १० गतेदेखि १६ गतेसम्मको अवधिलाई शहीद सप्ताहका रूपमा मनाइन्छ। यस अवधिमा यी चारै जनालाई राणा शासकले फाँसी दिएका थिए। शुक्रराज शास्त्री: माघ १० गते राति १२ बजे काठमाडौँको पचलीमा खरीको रुखमा झुण्ड्याएर हत्या गरिएको थियो। धर्मभक्त माथेमा: माघ १३ गते सिफलमा हत्या गरिएको थियो। दशरथ चन्द: माघ १४ गते शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो।
गङ्गालाल श्रेष्ठ: माघ १४ गते राति १० बजे शोभा भगवतीमै लगेर खम्बामा बाँधी गोली हानी हत्या गरिएको थियो।
अन्त्यमा, शहीदहरूको बलिदानलाई सदा स्मरण गर्दै उनीहरूले देखाएको मार्गमा अगाडि बढ्न हामी सबैले प्रतिबद्ध रहनुपर्छ। तब मात्र सहिदप्रतिको सच्चा सम्मान हुनेछ ।