शुक्रबार २५ माघ, २०८१

नेपाली समय

विचार: भूकम्प सम्बन्धी धारणा; धार्मिक, सांस्कृतिक र वैज्ञानिक दृष्टिकोण

विचार: भूकम्प सम्बन्धी धारणा; धार्मिक, सांस्कृतिक र वैज्ञानिक दृष्टिकोण

(चक्र बहादुर कार्की)

२०७२ सालको गोरखा भूकम्पपछि नेपाली समाजमा भूकम्पप्रतिका तथ्यहीन धारणामा परिवर्तन हुँदै गएको पाइन्छ । साथै मानिसहरूमा भूकम्प-प्रतिरोधी संरचना निर्माणको महत्त्वबारे सचेतना बढ्दै गएको छ। यसर्थ, आज आएर भूकम्पपछि धार्मिक अनुष्ठानसँगै वैज्ञानिक तयारीको आवश्यकता पनि बुझ्न थालिएको छ। नेपाली समाजमा भूकम्पप्रतिको सङ्कथन धार्मिक र सांस्कृतिक दृष्टिकोणमा गहिरो छ, तर वैज्ञानिक चेतना विस्तार हुँदै गएको छ।

नेपाली समाजमा भूकम्प सम्बन्धी धारणा प्रायः धार्मिक, सांस्कृतिक र वैज्ञानिक दृष्टिकोणमा आधारित छन्। यी धारणाहरूले समाजमा भूकम्पप्रतिको बुझाइ, प्रतिक्रिया र तयारीलाई प्रभाव पार्ने गरेको पाइन्छ । धार्मिक धारणा अन्तर्गत नेपाली समाजमा भूकम्पलाई भगवानको क्रोध वा पापको फल भनेर मान्ने चलन पनि थियो ।केही धार्मिक कथाहरूमा भूकम्पलाई पृथ्वीमा देवीदेवताहरूको असन्तुष्टिसँग जोडेर हेरेको पाइन्छ। त्यही कारण हुन सक्छ भूकम्पपछि देवता प्रशन्न पार्न पूजा, हवन र भजन कीर्तन पनि गर्ने परम्परा छ नेपाली समाजमा ।

सांस्कृतिक धारणा अन्तर्गत, समाजमा भूकम्पलाई प्राकृतिक चक्रको हिस्सा वा भाग मानिन्छ, जसलाई टार्न सकिँदैन, भूकम्पको समयमा एकअर्कालाई सहयोग गर्ने परम्परा बलियो छ, जसले समाजमा एकता र सामूहिक भावना बढाउँछ। पुराना पुस्ताहरूले भूकम्पलाई "विनाशपछिको पुनर्जन्म" को रूपमा हेर्छन्, जसले भौतिक पुनर्निर्माण र मानसिक सुदृढतामा मद्दत पुग्ने बिश्वास गरिन्छ ।

जनविश्वास र अन्धविश्वास, केही स्थानमा भूकम्पलाई खराब सङ्केत मानिन्छ, जस्तै, ठूलो विपद् आउनुको सङ्केत, भूकम्पलाई ग्रहदशा वा "कालो जादु" को परिणाम, माछाले कान हल्लाएर भन्ने जस्ता सङ्कथन पाइन्छ । २०७२ सालको गोरखा भूकम्पपछि नेपाली समाजमा भूकम्पप्रतिका तथ्यहीन धारणामा परिवर्तन हुँदै गएको पाइन्छ । साथै मानिसहरूमा भूकम्प-प्रतिरोधी संरचना निर्माणको महत्त्वबारे सचेतना बढ्दै गएको छ। यसर्थ, आज आएर भूकम्पपछि धार्मिक अनुष्ठानसँगै वैज्ञानिक तयारीको आवश्यकता पनि बुझ्न थालिएको छ। नेपाली समाजमा भूकम्पप्रतिको सङ्कथन धार्मिक र सांस्कृतिक दृष्टिकोणमा गहिरो छ, तर वैज्ञानिक चेतना विस्तार हुँदै गएको छ। भूकम्पसँग सम्बन्धित अन्धविश्वास हटाउँदै सचेत र सुरक्षित बन्नु आवश्यक छ। नेपाली समाजमा भूकम्पप्रतिको जे जस्तो धारणा रहे पनि भूकम्प के हो ? र यो कसरी जान्छ भन्ने बारे  सामान्य धारणा प्रस्तुत गरिएको छ ।

वैज्ञानिक दृष्टिमा भूकम्प भनेको पृथ्वीको भित्री भागमा रहेका टेक्टोनिक प्लेटहरूको गति र ऊर्जा आकस्मिक रूपमा मुक्त हुँदा उत्पन्न हुने कम्पन हो। यो कम्पन सतहसम्म फैलिन्छ, जसले जमिनमा कम्पन, चिरा र कहिलेकाहीं यसले भौतिक तथा मानवीय  विनाश र विपत्ति समेत ल्याउँछ।

उत्पत्तिको दृष्टिले भूकम्प मुख्यतः तीन प्रमुख कारणबाट हुने गर्दछ, जसमा टेक्टोनिक प्लेटहरूको गति  ठोक्किनु - प्लेटहरू एकअर्कासँग ठोक्किँदा वा सर्दा ऊर्जा संग्रहित हुँदा अचानक  भूकम्प पैदा हुन्छ। ज्वालामुखी विस्फोट - ज्वालामुखीको विस्फोटले पनि स्थानीय रूपमा भूकम्प उत्पन्न गर्न सक्छ।

मानव गतिविधि - खानी विस्फोटका साथै भूमिगत परमाणु परीक्षणले पनि स-साना कम्पन वा भूकम्प उत्पन्न हुने गर्दछ। भूकम्पको मापनका लागि रेक्टर स्केल (कम्पनको परिमाण) र मेरकाली स्केल (क्षतिको असर) प्रयोग गरिन्छ।

भूकम्पीय जोखिम क्षेत्रहरू:

भूकम्पीय जोखिम क्षेत्रहरू अन्तर्गत, जहाँ टेक्टोनिक प्लेटहरू हुन्छन् त्यही प्लेटहरू सर्दछन् वा ठोक्किन्छन्। यसमा विशेषगरी टेक्टोनिक प्लेटको सीमा र सक्रिय स्थानहरू भूगर्भीय क्षेत्र भित्र पर्छन्। यो अवस्थामा रहेका मुख्य जोखिमपूर्ण  क्षेत्रहरू:

प्यासिफिक रिङ अफ फायर: यो क्षेत्र पृथ्वीको सबैभन्दा सक्रिय भूकम्पीय क्षेत्र हो। यसमा जापान, चिली, इन्डोनेसिया,र अमेरिका जस्ता देशहरू पर्छन्। यसैगरि हिमालय क्षेत्र: नेपाल, भारत, भुटान र पाकिस्तान पनि भूकम्पको जोखिमपूर्ण क्षेत्रमा पर्छन्।

अलपाइन हिमाल (युरोप): टर्की र इटाली जस्ता देशहरू।

अन्डेस पहाड (दक्षिण अमेरिका) पनि भूकम्पीय दृश्यले जोखिम मानिन्छ । ती जोखिमका देशहरू भूकम्पीय दृष्टिबाट अति जोखिममा रहेका देशहरूमा : नेपाल, जापान, इन्डोनेसिया, चिली, टर्की, इरान, फिलिपिन्स, न्युजिल्यान्ड, भारत र अमेरिकाको (क्यालिफोर्निया क्षेत्रलाई विशेष जोखिमयुक्त) क्षेत्र मानिन्छ । 

भूकम्पीय दृष्टिले नेपालको स्थिति

नेपाल भूकम्पीय दृष्टिबाट अति जोखिमयुक्त क्षेत्रमा पर्ने मुलुक मध्य एक  मानिन्छ। यसका मुख्य कारण:

हिमालय पर्वतको निर्माणक्रम: भारतीय प्लेट र युरेसियन प्लेट एकअर्कासँग ठोकिने हुँदा  नेपाललाई अत्यन्त सक्रिय भूकम्पीय क्षेत्र मानिएको छ।

नेपालको भौगोलिक बनावट: नेपाल टेक्टोनिक प्लेटको सीमा क्षेत्रमा पर्छ।

पूर्वाधारको कमजोरी: नेपालमा भवन निर्माणका मापदण्ड जस्ता  कमजोरीको कारण पनि भूकम्पको उच्च  प्रभावमा थप जोखिमयुक्त रहेको छ नेपाल ।

नेपाललाई सिस्मिक जोन V (अत्यन्त उच्च जोखिम क्षेत्र) मा राखिएको छ। २०७२ सालको गोरखा भूकम्प यस क्षेत्रको उच्च जोखिम प्रमाणित गर्ने उदाहरण हो। यसले नेपालमा दिगो पूर्वाधार र भूकम्प-प्रतिरोधी संरचनाको आवश्यकता देखाउँछ।

भूकम्पको जोखिमबाट बच्न निम्न सावधानीहरू अपनाउनु पर्छ:

भूकम्पपूर्व (पूर्व तयारी)

भूकम्प-प्रतिरोधी संरचना निर्माण

घर वा भवन निर्माण गर्दा भूकम्प-प्रतिरोधी डिजाइन अपनाउनु। कमजोर भवनहरूलाई सुदृढीकरण गर्नु।

आपत्कालीन योजना बनाउनु

परिवारका सबै सदस्यलाई भूकम्पका बेला सुरक्षित रहने उपाय सिकाउनु र आपत्कालीन सम्पर्क नम्बरहरू सुरक्षित राख्नु।

आपत्कालीन सामग्रीहरूको तयारी 

पहिलो उपचार किट, पिउने पानी, सुख्खा खाना, टर्चलाइट, रेडियो र ब्याट्री लगायत दैनिक उपभोग्य सामान तयारी अवस्थामा राख्नु पर्ने  ज्ञान बि. स. २०७२ को गोर्खा भूकम्पले दिएको छ।

खतरा क्षेत्रको पहिचान

घर, विद्यालय, वा कार्यस्थलमा सुरक्षित स्थान (जस्तै, बलियो टेबलमुनि) पहिचान गर्नु। खतरनाक सामग्री (जस्तै, भारी फर्निचर वा ठूला भद्दा सामाग्रीहरू) सावधानीपूर्वक राख्ने ।

भूकम्प गइरहेको अवस्थामा

सुरक्षित स्थान खोज्नु, भूकम्प आउँदा बलियो टेबल वा खाटमुनि बस्नु वा कुनै ढोकाको चौघेराभित्र जानु। झ्याल, ऐना वा भारी सामानबाट टाढा बस्नु, शान्त रहनु, लिफ्टको प्रयोग नगर्दा नै सुरक्षित हुन सकिन्छ । यदि बाहिर भएको अवस्थामा भए भवन, रूख, वा बिजुलीका तारबाट टाढा बस्नु,  सवारीसाधनमा भए  गाडी रोक्ने र भूकम्प नरोकिएसम्म गाडीभित्रै बस्ने, पुल, टनेल, गेट आदि ठाउँहरूबाट टाढा बस्नु पर्छ ।

भूकम्पपछि सुरक्षित ठाउँको खोजी गर्ने, परकम्पनबाट बच्न अपनाउनु पर्ने सावधानीहरू अन्तर्गत घर वा भवन भत्किन सक्ने अवस्थामा पुनः प्रवेश गर्नु हुँदैन, घाइतेलाई उद्धार गरी प्राथमिक उपचार गर्न र आवश्यक परेमा आपत्कालीन सेवाको सहायता लिने गर्नु पर्दछ । सरकार वा सम्बन्धित निकायको निर्देशन पालना गर्नु पर्दछ ।

सञ्चार माध्यमबाट सूचना प्राप्त गरी अवस्था अनुसारको कार्य गर्नु पर्दछ । साथै दूषित पानी र खाद्य पदार्थबाट टाढै रहने ।

भूकम्पको जोखिमबाट बच्न सावधानीपूर्ण योजना, भौतिक संरचनाको मजबुती, आपत्कालीन सामग्रीहरूको तयारी र तुरुन्त घट्नाको जानकारी गर्न गराउन अत्यावश्यक छ। यी उपायहरू अवलम्बन गर्दा ठूलो जनधनको क्षति हुनबाट रोक्न वा कम गर्न सकिन्छ।

         लेखक:

- चक्र बहादुर कार्की 

gmail: [email protected]

लेखक नेपाली काङ्ग्रेस भोजपुरका जिल्ला सचिव हुनुहुन्छ भने उहाँ त्रिभुवन विश्वविद्यालय समाजशास्त्र केन्द्रीय विभागबाट समाजशास्त्र विषयमा विद्यावारिधि अनुसन्धानरत  हुनुहुन्छ । 

(प्रकाशित लेख लेखकको आफ्नो निजी विचार हो।)