शुक्रबार २५ माघ, २०८१

नेपाली समय

पर्सामा तस्करीको सेटिङ्ग: एसपीको गस्तीमा देखिँदैन तस्करी, अघोषित घुमुवा मार्फत असुली, डिआईजी मूकदर्शक

पर्सामा तस्करीको सेटिङ्ग: एसपीको गस्तीमा देखिँदैन तस्करी, अघोषित घुमुवा मार्फत असुली, डिआईजी मूकदर्शक

वीरगंज, १ माघ । खुल्ला सीमानाकाको फाइदा उठाउँदै सीमावर्ती क्षेत्रमा तस्करहरूको रजगज कुनै नौलो विषय होइन । सीमानाकाबाट हुने तस्करी नियन्त्रणका लागि नेपाल सरकारले सीमानाका लगायत ठाउँ–ठाउँमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरेको छ । जसमा तस्करी नियन्त्रणको मुख्य जिम्मेवारी सशस्त्र प्रहरीको हुन्छ । तर पर्सामा जिल्लामा भने सशस्त्र प्रहरीकै संरक्षणमा तस्करी भइरहेको छ । भारतसँग जोडिएको पर्साको अमरपट्टी नाकाबाट तस्करी भइरहेको हो । 

पर्साको ग्रामीण भेगमा पर्ने अमरपट्टी नाकाबाट मध्यरातीको समयमा पपकन बनाउने मकै र चाइनिज लसुनको तस्करी भइरहेको स्थानीय राजेश चौरसियाले बताए । अमरपट्टीस्थित रहेको प्रहरी चौकी अगाडी रहेको बाँसबारीको बाटो हुँदै मध्यरातीमा १५/२० जना भरिया परिचालन गरी साईकलमार्फत पपकन बनाउने मकै र चाइनिज लहसुनको तस्करी भइरहेको प्रहरी स्रोतले समेत बताएको छ । 

पर्साको बिन्दबासिनी गाउँपालिका घर भएका उत्तम तिवारी, संजय र राहुल चतुर्वेदी नामक तस्कर समूहहरूले सीमानकामा तैनाथ प्रहरीदेखी जिल्लाका प्रहरी प्रमुखलाई समेत प्रभावमा पारि रातीको समयमा पपकन बनाउने मकै र चाइनिज लहसुनको तस्करी गर्दै आएको स्थानीय शम्भु गुप्ताले बताए ।

मकैको तस्करी गर्ने उत्तम तिवारीले सशस्त्र प्रहरी बल पर्साका एसपी राधेश्याम धिमाल, सशस्त्र प्रहरी बल अलौंका डिएसपी, बोओपीका अमरपट्टीका इन्स्पेक्टर रबिन ढुङ्गेल, इलाका प्रहरी कार्यालय पोखरियाका इन्स्पेक्टर, प्रहरी चौकी अमरपट्टीका सई समेतको मिलेमतोमा रातीमा ठुलो मात्रामा चाइनिज लहसुन र पपकन बनाउने मकैको तस्करी गरिरहेको नाम नराख्ने शर्तमा एक प्रहरीले समेत बताएका छन् । 

सशस्त्र प्रहरी बल बिओपी अमरपट्टीका इन्स्पेक्टर रनिन ढुङ्गेल अहिले बिदामा बसेको बताइए पनि उनीसहित एसपी धिमालसंग तस्कर उत्तम तिवारीको बलियो साँटगाँठ भएको कारण मध्यरातको समयमा प्रहरीकै मिलेमतोमा पपकन मकै र चाइनिज लहसुन तस्करी मार्फत अमरपट्टी नाकासंग जोडिएको भारतको सिसवा गाउँमा जाने गरेको छ । 

वीरगज भन्सार कार्यालयका अनुसार विदेशबाट आउने पपकन मकै र चाइनिज लसुन भने नेपालबाट अर्को देशमा पठाउन पाईदैन । त्यसैको फाइदा उठाउँदै उत्तम तिवारीको समूहले सशस्त्रका एसपी धिमाल लगायतको संयुक्त मिलेमतोमा रातीको समयमा पपकन बनाउने मकै र चाइनिज लसुनको तस्करी गर्दै आएको प्रहरी स्रोतले जनाएको छ । 

सशस्त्र प्रहरी बल पर्साका एसपी राधेश्याम धिमालले आफू सधैँ अमरपट्टी तिर रातीको समयमा समेत गस्ती गर्दै आए पनि कहीँ कतै तस्करी भएको नदेखिएको बताउँछन् तर पर्साको अमरपट्टी नाकाबाट मात्रै नभई छपकैया, सिर्सिया, प्रसौनीभाठ्ठा जानकीटोला लगायतका ठाउँबाट लत्ताकपडा, कुखुराको चल्ला, राँगा भैसी, ईलेक्ट्रीनिक लगायतका सामानको तस्करी भइरहेको छ । 

पर्साबाट हुने यी तस्करी बापतको रकम असुलीका लागि एसपी धिमालले अघोषित घुमुवाको रूपमा सशस्त्र प्रहरी जवान रामराजा यादव र सहायक हलदार पन्नालाल यादवलाई परिचालन गरेको बताइन्छ । एसपी धिमालले भने रामराजाले राम्रो काम गरिरहेकोले त्यसलाई कामको आवश्यकता अनुसार परिचालन गर्ने गरेको बताए । 

पर्सामा बिओपी इन्चार्ज देखी जिल्लाका एसपीको समेत मिलेमतोमा तस्करी हुँदै आए पनि सशस्त्र प्रहरी बल मधेश प्रदेशका डिआईजी कालिदास धवजीले भने कहाँबाट के को तस्करी भइरहेको छ ? जस्ता कुरा भन्दै यहाँबाट हुने तस्करीमा संलग्न प्रहरीको पक्षपोषण गर्दै आएको देखिन्छ ।