रौतहट, २६ पुस । जिल्ला प्रहरी कार्यालय रौतहटद्वारा आयोजित नागरिक सुनवाई कार्यक्रम आज सफलतापूर्वक सम्पन्न भएको छ। यस कार्यक्रमले जिल्लामा सुरक्षा व्यवस्थापन, प्रहरी सेवाको प्रभावकारिता र नागरिकहरूको गुनासो तथा सुझावहरू सङ्कलन गर्न महत्त्वपूर्ण भूमिका खेलेको प्रहरीको भनाई छ।
नागरिक सुनवाई जस्तो कार्यक्रमको आयोजनाले प्रहरीले नागरिकहरूसँग प्रत्यक्ष संवाद गर्दै तिनका गुनासा सुन्ने अवसर मिलेको र सुधारको आवश्यकता भएका क्षेत्रहरू पहिचान गर्ने अवसर पाएको आयोजकले बताएका छन्। यसले नागरिक र प्रहरीबीचको सहकार्य बलियो बनाउने, नागरिक र प्रहरीविच विश्वासको वातावरण सिर्जना गर्ने र शान्ति सुरक्षामा पारदर्शिता कायम गर्न मद्दत गरेको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै इन्स्पेक्टर उमाशंकर गुप्ताले भने, "समाजमा शान्ति सु-व्यवस्था कायम गर्न प्रहरीको महत्वपुर्ण भूमिका हुन्छ। प्रहरी आम जनमानसको साथी हो। प्रहरीले नागरिकसंगै मिलेर कम गर्ने हो। प्रहरीले समाजमा शान्ति सुरक्षा कायम गर्ने शिलसिलामा नातावाद वा पार्टीगत कुनै प्रभाव नहेरी अहोरात्र कर्तव्य उन्मुख रहेको छ र अपराध गर्नलाई कसैलाई कुनै छुट छैन ।"
नागरिक सुनवाई कार्यक्रममा जिल्ला प्रहरी रौतहट कार्यालयका प्रमुख तथा अन्य अधिकारीहरूले नागरिकहरूको सहभागिता उल्लेखनीय रहेको भन्दै खुसी व्यक्त गरेका छन्।
"आगामी दिनमा पनि प्रहरी चोकीहरुमा यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता गर्दछौं । कार्यक्रमको सकारात्मक प्रभावले सुरक्षा व्यवस्थामा थप सुधार हुने अपेक्षा गरेको छु," रौतहट प्रहरी कार्यालय प्रमुखले भने।