राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्तीको अवसरमा आज हुने राष्ट्रिय एकता दिवस भव्यताका साथ मनाएर राष्ट्रलाई चीरस्थायी बनाउन पृथ्वीनारायणको प्रेरणालाई आम जनमानसमा उजागर गर्दै राज्य निर्माताको सम्मान गर्न राज्यलाई पनि दबाब सिर्जना गरौँ । राष्ट्र निर्माणमा पृथ्वीनारायण शाहको इतिहासको सम्मान गरौँ । जय देश!
अमेरिकीहरू जर्ज वाशिंटनलाई मान्छन्, चिनियाँहरु माओत्सेतुङलाई मान्छन्, भारतीयहरू महात्मा गान्धीलाई मान्छन् । नेपाललाई कुनै भगवान्ले बनाइदिएका होइनन्, न त माओत्सेतुङले नेपाल चिने, न जर्ज वाशिंटनले देखे, न त गान्धीको कुनै योगदान, कसैले यो देश नेपाल बनाउनुमा कुनै योगदान गरेको छ भने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले हो, जसको साँची इतिहास छ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले नेपाल एकीकरण नगरेको भए सायद नेपाल र नेपाली पहिचान नरहन पनि सक्थ्यो, जसको जस उहाँलाई नै दिनुपर्ने हुन्छ । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको योगदानलाई कसैले झिनो सम्झन्छ भने त्यो इतिहास प्रतिको गम्भीर भूल हुनेछ ।
सरकारले अग्रज र पुर्खाहरूले राज्य निर्माणका निम्ति गरेको योगदानको सधैँ सम्मान गर्ने विश्वव्यापी परम्परा छ । छरिएर रहेका बाइसे र चौबीसे राज्यहरू एकीकरण गरेर इतिहासमा नेपाल भनेर चिनाउने उनै पृथ्वीनारायण शाह आज नेपालका तथाकथित प्रगतिशील दलहरूले उनलाई सामन्तवादको प्रतीक भनेर सम्बोधन गर्नु भनेको नेपाल एकीकरण हुनु ठिक थिएन भन्नु सरह नै हो । हामी नेपाली भनेर गर्व गर्नुको सम्पूर्ण श्रेय उहाँलाई जान्छ । नेपाल एकीकरण नभएको भए यी दलहरू पनि हुने थिएनन्, त्यतातिर ध्यान जान नसक्नु ती दलहरूको कमजोरी मात्र नभएर इतिहासप्रतिको अपमान पनि हो ।
समयको गतिसँगै इतिहासले कोल्टे फेर्छ, व्यवस्था परिवर्तन हुन्छ स्वभावीक प्रकृया हो, तर पनि राष्ट्र निर्माता, इतिहासका रचनाकार परिवर्तन हुँदैन । राज्य र राष्ट्र निर्माणमा पृथ्वीनारायण शाह आज सम्मको इतिहासमा अतुलनीय छन्। राज्य व्यवस्था र अहिलेको संविधानमा पनि धेरै खोटहरू छन् तथापी अहिलेको व्यवस्थामा राष्ट्र निर्माताको लागि गौरवपूर्ण ठाउँ दिँदा कुनै व्यवस्थाको अपमान हुँदैन । केही योगदान नभएका पूर्वमन्त्री, पूर्व प्रधानमन्त्री, विशिष्ट नेताहरूले अनाहकमा राज्य नै कंगाल हुनेगरी राज्य दोहन गर्न मिल्ने, तर राष्ट्र निर्मातालाई एउटा सम्मान दिन नसक्ने पनि कुनै प्रगतिशील राज्य हुन्छ ? वर्षको एक दिन उहाँको योगदानलाई कदर गर्दै राष्ट्रिय एकता दिवस मनाउँदा राज्य व्यवस्थाप्रति अपमान हुँदैन, न त कुनै दूष्परिणाम नै आउँछ । सारा जनताले सम्मान र आदर व्यक्त गरेको यति ठूलो राष्ट्रिय एकता दिवसलाई जनमतप्राप्त सरकारले हटाउन मिल्दैन, कसको आदेश र इसारामा चलेका छ त अहिलेसम्मका सरकारहरू भन्ने कुराको ज्वलन्त उदाहरण यही हो ।
अत: राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २ सय ९९ औँ जन्मजयन्तीको अवसरमा आज हुने राष्ट्रिय एकता दिवस भव्यताका साथ मनाएर राष्ट्रलाई चीरस्थायी बनाउन पृथ्वीनारायणको प्रेरणालाई आम जनमानसमा उजागर गर्दै राज्य निर्माताको सम्मान गर्न राज्यलाई पनि दबाब सिर्जना गरौँ । राष्ट्र निर्माणमा पृथ्वीनारायण शाहको इतिहासको सम्मान गरौँ । जय देश !
लेखक:
- जयप्रकाश बगाले
निवर्तमान अध्यक्ष, रा.प्र.बि.संघ.
(प्रकाशित लेख लेखकको आफ्नो निजी विचार हो।)