बिहीबार १० माघ, २०८१

नेपाली समय

इसाईहरूले गरे पार्टी कार्यालय उद्घाटन

इसाईहरूले गरे पार्टी कार्यालय उद्घाटन

काठमाडौँ, २५ पुस । आमूल परिवर्तन नागरिक पार्टीको केन्द्रीय कार्यालय काठमाण्डाै स्थित बिजुलीबजारमा  उद्घाटन गरेको छ । आज एक कार्यक्रम गर्दै आमूल परिवर्तन नागरिक पार्टीले पार्टी कार्यालय उद्घाटन गरेको हो।

पार्टी कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै आमूल परिवर्तन नागरिक पार्टीको अध्यक्ष दलमर्दन कामीले भन्नुभयो "हामीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गरेको दशक पूरा गरिसकेका छौँ । यो अवधिमा धर्मनिरपेक्षतासहितको संविधानको अभ्यास गरिरहेका छौँ  तर अझै पनि आम नागरिक न्याय समानता पहिचान अधिकार राष्ट्र,राष्ट्रियता धार्मिक स्वतन्त्रता लगायतका विषयमा थुप्रै चुनौतीहरू दिनानुदिन बढिरहेकाछन् ।" 

कमीले थप भन्नुभयो, "देशमा उत्पीडित जाति/समुदाय  दलित बनाइएका शिल्पी समुदाय अहिले पनि जातीय धार्मिक विभेदका कारण अमानवीय क्रूरता सहेर बाच्न बाध्य छन् । इसाई समुदायका अगुवाहरूले भोगेको दुःख, चर्चहरूमा तोडफोड, पाष्टर र प्रचारकहरूमाथि आक्रमण, बाइबल जलाउने कार्यजस्ता घटनाहरू अत्यन्त दुःखद छन् । यो मुलुकका मुस्लिम, बुद्धिष्ट, किराँत, सिख जैन लगायतका धार्मिक अल्पसङ्ख्यकहरू अझै पनि धार्मिक स्वतन्त्रता बाट वञ्चित छन् ।"

"विश्वकै उत्कृष्ट संविधान भनेर केही नेताहरूले आफुअनुकूल  बनाएको २०७२ को संविधानमा यतिबेला संशोधनको बहस उठिरहेको छ ।  सर्वोपरि हितका निम्ति संविधान संशोधन वा पुनर्लेखन जरुरी छ । संविधान संशोधन गरेर सबै जनताको अधिकारका निम्ति पूर्ण समानुपातिक निर्वाचन प्रणाली, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख राज्यको सबै निकायमा जनसङ्ख्याको आधारमा लोकसेवा तथा निजामती कर्मचारी नियुक्त भर्ना  गर्ने प्रणालीको व्यवस्था गर्न आवश्यक छ", कमीले भन्नुभयो।   

राष्ट्र र राष्ट्रियताको  रक्षाका लागि जिम्मेवार, धार्मिक र ईश्वरभक्त नेतृत्वको आवश्यकता अपरिहार्य रहेको छ उहाँको भनाइ थियो।  इसाई समुदायले नेपालमा गरेका योगदानलाई विशेष रूपमा स्मरण गर्दै उहाँले भन्नुभयो, 'इसाई धर्मावलम्बीहरूले इतिहासमा राष्ट्रको संरचना, शिक्षा, समाज सुधार, र राष्ट्रियताको सुदृढीकरणमा खेलेको भूमिका महत्त्वपूर्ण रहेको छ । “यदि ब्रिटिशहरू जो इसाई थिए।  उनीहरुले भारतमा शासन नगरेका भए, सती प्रथा जस्तो अमानवीय र अन्यायपूर्ण प्रथा आज पनि कायम रहन्थ्यो। ब्रिटिश-ईसाईहरुकाे  शासनले मात्र भारतमा यो प्रथाको अन्त्य गर्न सकेको थियो, जसको प्रत्यक्ष प्रभाव नेपालमा पनि परेको र साे प्रथाकाे अन्त्य गरेको थियो । १८५० को दशकमा जङ्गबहादुर राणाको बेलायत भ्रमणको महत्त्वलाई पनि औँल्याउँदै । उहाँले  भन्नू भयो , “जङ्गबहादुरले बेलायतको शिक्षा प्रणालीबाट प्रेरित भएर नेपालमा विद्यालयको स्थापनाका लागि पहल गरेका थिए। यो नेपालमा आधुनिक शिक्षाको सुरुवात थियो। यस अभियानलाई इसाई मिसनरीहरूले व्यापक रूपमा अगाडि बढाए। सेण्ट जेभियर्स र अन्य शिक्षण संस्थाहरूले नेपालमा शिक्षाको स्तर उकास्न महत्त्वपूर्ण योगदान गरेका छन्।' 

स्वागत मन्तव्य तथा कार्यक्रमको औचित्यबारे प्रुष्टि गर्ने क्रममा भरत गिरीले पार्टीको नेताहरू साथै यो देशको नेतृत्व गर्ने व्यक्तिहरू सबै इमान्दार हुनुपर्छ त्यसैले एक पटक मौका दिनुहोस् आफूहरू यो देश परिवर्तन गर्न सक्षम छौँ भन्ने प्रमाणित गर्नेछौँ भन्ने उद्घोष गर्दै  सबैलाई स्वागत गर्नु भएको थियो।

डा. सुवास सुब्बाले प्रार्थना गरेपछि उहाँको साथमा डा.केबी रोकाया, उद्धव चिमाैरिया,प्रा.डा. युवराज सुब्बा, डा.जोमेस वड लगायत पार्टीका नेताले रिबन काटेर उद्घाटन गरिएको थियो साथै डा. केबी रोकायले कार्यालय भित्र समेत प्रार्थना गरी उद्घाटन गर्नु भएको थियो ।

कार्यक्रममा पहिचानवादी नेता आङकाजी शेर्पा,खस आन्दोलनका अभियन्ता तथा मष्टाे धर्मका अध्यक्ष थर्कबहादुर बस्नेत, ख्रिष्टियन मण्डली महासङ्घका अध्यक्ष आरपी न्यौपाने,संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाका महासचिव दीपक जङ्ग कुँवर,लेखक/स्तम्भकार मेख राज उदय, पूर्वराजदूत डा. निर्मल विश्वकर्मा,पहिचानवादी मोर्चाका नेता खगेन्द्र माखिम, बौद्धिक व्यक्तित्व डा. भव घले, पार्टीका वरिष्ठ नेता कमला हेमचुरी, पार्टी सल्लाहकार सुवास सुब्बा लगायतले शुभकामना व्यक्त गर्दै  मन्तव्य राखेका थिए । 

पार्टीका अध्यक्ष दलमर्दन कामीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम  पार्टीका उप-महासचिव तथा प्रचार विभाग प्रमुख नरेश क्षितिजले सञ्चालन गर्नुभएको थियो ।