बिहीबार १० माघ, २०८१

नेपाली समय

रामायणकालीन वाल्मीकि आश्रम संरक्षणको माग

रामायणकालीन वाल्मीकि आश्रम संरक्षणको माग

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), २५ पुस । चितवनको माडी नगरपालिका–१ मा रहेको वाल्मीकि आश्रम संरक्षणको अभावमा ओझेलमा परेको छ । रामायणकालीनस्थलका रूपमा परिचित आश्रम विकास र संरक्षणका लागि ठोस पहल नहुँदा ओझेलमा परेको हो । 

मन्दिरका मूल पुजारी शिखर सुवेदीले धार्मिक पुरातात्त्विक महत्वको यस स्थलको विकास एवं प्रचारप्रसारको अभावमा ओझेलमा परेको बताउनुभएको छ । “आश्रम पत्ता लगाउने बेला गरिएको उत्खननमा भेटिएका भग्नावशेषहरू पनि संरक्षणको अभावमा हराउने गरेका छन् । मन्दिर वरिपरि पुरातात्त्विक अवशेषहरू जताततै छरिएका छन्, तिनको संरक्षण र थप विकास आवश्यक  छ । यसमा स्थानीयदेखि सङ्घीय सरकारले विशेष पहल गर्न आवश्यक छ”, उहाँले भन्नुभयो । 

माडी नगरपालिका प्रमुख ताराकुमारी काजी महतोले वाल्मीकि आश्रम मन्दिरलाई संरक्षण, संवर्द्धन र विकास लागि पहल भइरहेको बताउनुभयो । उहाँले नगरपालिकाले यस क्षेत्रलाई धार्मिक वनका रूपमा विकास गर्ने सोच बनाए पनि राष्ट्रिय निकुञ्जभित्र पर्ने भएकाले समस्या रहेको बताउनुभयो ।  

माडी–१ का वडाध्यक्ष अमितकुमार लामाले वडास्तरबाट हुने खानेपानी र शौचालयलगायतका काम गरिए पनि अन्य पूर्वाधार र संरक्षणका काममा सरकारकै पहल जरूरी रहेको बताउनुभयो । उहाँले आश्रम पुग्नका लागि भारतको विहार हुँदै जानुपर्ने बाध्यता रहेको र केही महिनाअघि निकुञ्जको जङ्गलमा गोरेटो बाटो बनाइए पनि समस्या समाधान नभएको बताउनुभयो । उक्त बाटो प्रयोग गर्दा जङ्गली जनावरले आक्रमण गर्ने जोखिम रहेकाले समस्या रहेको श्रद्धालुहरूले बताउने गरेका छन् ।