काठमाडौँ, २४ पुस । पेसागत पत्रकारहरूको स्वतन्त्र, साझा, र छाता सङ्गठनका रूपमा अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका (Federation of International Journalist, America- FIJA ) अमेरिकामा स्थापना भएको छ । अमेरिकाको प्रचलित नियम कानुन अनुसार स्थापित र गठित संस्था अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका (Federation of International Journalist, America - FIJA) पत्रकारहरूको अन्तर्राष्ट्रिय छाता सङ्गठन हुने भन्दै महासङ्घको स्थापना भएको हो।
आज एक विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ स्थापना भएको जनाइएको छ। महासङ्घले पत्रकार र पत्रकारिता क्षेत्रका लागि स्वतन्त्र र निष्पक्ष ढङ्गले काम गर्ने उद्देश्य विज्ञप्तिमा उल्लेख छ । संस्थाको प्रधान कार्यालय भर्जिनिया, अमेरिकामा रहने छ भने संसार भर विभिन्न देशहरूमा देश स्तरीय शाखाहरू स्थापना गर्ने तयारी रहेको महासङ्घले जनाएको छ । पुरानादेखि नयाँ सम्म, अधिकांश वरिष्ठ पत्रकारहरू कार्य समितिमा रहनुभएको छ भने आगामी दिनमा महासङ्घ लाई बिस्तार गर्दै लगिने र संस्थामा पेसागत पत्रकारहरू मात्र रहने महासङ्घले स्पष्ट गरेको छ ।
अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाका सल्लाहकारहरूमा क्रमशः कान्तिपुर राष्ट्रिय दैनिकका संस्थापक प्रधान सम्पादक एवं पत्रकार योगेश उपाध्याय, हिमालय टाइम्स राष्ट्रिय दैनिकका प्रधान सम्पादक, नेपालबाणी, राष्ट्रपुकारका पूर्व प्रधान सम्पादक एवं राससका पूर्व अध्यक्ष तथा महाप्रबन्धक अग्रज पत्रकार प्रा. पुरुषोत्तम दाहाल, मोफसलका अग्रज पत्रकार, दैनिक पत्र, जन सङ्घर्ष, स्वाधीनका प्रधान सम्पादक एवम् राससका पूर्व अध्यक्ष डा. बाल कृष्ण चापागाईँ, यसै गरी गोरखापत्र संस्थान तथा राससका पूर्व अध्यक्ष, जनहित, विमर्शका पूर्व सम्पादक, अग्रज पत्रकार पुरु घिमिरे, कान्तिपुर दैनिक देखी विभिन्न मिडियाहरू हुँदै हाल हिमालय खबरका प्रधान सम्पादक समेत रहनुभएका वरिष्ठ पत्रकार विजय घिमिरे रहनुभएको छ ।
त्यसैगरी, अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका (Federation of International Journalist, America- FIJA ) को नव गठित कार्य समितिको अध्यक्षमा नेपाल मदर डट कमका प्रधान सम्पादक, एभेन्ज्युज खबर टेलिभिजनका अमेरिका सम्पादक जो रेडियो नेपाल, नेपाल टेलिभिजन, विभिन्न राष्ट्रिय स्तरका पत्र पत्रिका र अन्य मिडियाहरूका पूर्व प्रधान सम्पादक एवम् वरिष्ठ पत्रकार, गायक तथा कलाकार रामप्रसाद खनाल छानिनु भएको छ ।
महासङ्घको उपाध्यक्षमा क्रमशः अन्नपूर्ण राष्ट्रिय दैनिकका प्रधान सम्पादक, लोक पत्रदेखि विभिन्न पत्र पत्रिकामा लामो समयदेखि पत्रकारिता गरेका वरिष्ठ पत्रकार अखण्ड भण्डारी, योहो टेलिभिजनका प्रमुख,समकालीनदेखि धेरै मिडियाहरूमा लामो समय पत्रकारिता गर्दै आउनुभएका वरिष्ठ पत्रकार जीवराम भण्डारी, एभेन्युज खबर टेलिभिजनका समाचार प्रमुख, कैयौँ टेलिभिजनहरू, पत्र पत्रपत्रिका सम्पादकको रूपमा काम गरेका वरिष्ठ पत्रकार केदार कोइराला र नेपाल समाचार पत्रकाका पूर्व सम्पादक, जनता टेलिभिजनका समाचार प्रमुख, कैयौँ पत्रपत्रिकाका सम्पादक रहिसकेका वरिष्ठ पत्रकार टङ्क पन्त छानिनुभएको छ । यसै गरी उपाध्यक्षमा पत्रकारितामा लामो समय देखी क्रियाशील पत्रकार, अमेरिकाबाट प्रकाशित नेपलिज डायस्पोराका प्रधान सम्पादक सतिश चापागाईँ रहनुभएको छ ।
महासङ्घको महासचिवमा स्वतन्त्र पत्रकार, खोज पत्रकारिताका धरोहर, माइक्रोसफ्टका सफ्टवेयर इन्जिनियर समेत रहेका चर्चित पत्रकार टङ्क दाहाल छानिनुभएको छ भने सचिवमा विभिन्न राष्ट्रिय दैनिकहरू, अनलाइनहरूदेखि स्वतन्त्र पत्रकारितामा पनि उत्तिकै क्रियाशील वरिष्ठ पत्रकार अनिल अधिकारी रहनुभएको छ । कोषाध्यक्षमा कलाकार समेत रहेका सक्रिय युवा पत्रकार, डिसी नेपालका अमेरिका ब्युरो चिफ अर्जुन दाहाल छानिनुभएको छ ।
यसै गरी अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाको बोर्ड अफ डाइरेक्टरमा लामो समयदेखि पत्रकारितामा संलग्न, इनेप्लिज डट कमका प्रधान सम्पादक एवं वरिष्ठ पत्रकार विश्वराज थापा, बुटवल टुडे राष्ट्रिय दैनिकका प्रबन्ध सम्पादक, विगत लामो समयदेखि पत्रकारिता र सूचना प्रविधिको क्षेत्रमा काम गर्दै आएका क्यानका पूर्व अध्यक्ष, हाल Asian-Ocean Computing Industry Organization का उपाध्यक्ष समेत रहेका वरिष्ठ पत्रकार नवराज कुँवर, विभिन्न राष्ट्रिय दैनिकहरू, अनलाइनहरूदेखि स्वतन्त्र पत्रकारितामा पनि उत्तिकै क्रियाशील वरिष्ठ पत्रकार दिनेश कार्की, गोरखापत्रमा सह-सम्पादकका रूपमा २०५० साल देखी कार्यरत, अमेरिका आइसके पछि पनि विभिन्न पत्रपत्रिकामा कलम चलाइरहेका वरिष्ठ पत्रकार कृष्णराज खनाल पनि बोर्ड अफ डाइरेक्टरमा छानिनु भएको छ । क्यानाडाबाट विगत २० वर्षदेखि नमस्ते रेडियो र कार्यक्रम सञ्चालन गर्दै आउनु भएका वरिष्ठ पत्रकार अनिल थापा, लामो समय देखी विभिन्न मिडियाहरूमा काम गर्दै आउनु भएका र विशेष गरी चलचित्र, कलाकारिता सम्बन्धी पत्रकारितामा निपुण सक्रिय युवा पत्रकार सुमन दाहाल, अस्ट्रेलियाबाट देशान्तरदेखि अन्य मिडियाहरूमा काम गरेका अर्का पुराना पत्रकार सुरेन्द्र सापकोटा पनि बोर्ड अफ डाइरेक्टरमा छानिनु भएको छ ।
सबै महादेशहरूबाट प्रतिनिधित्व हुने गरी अन्तर्राष्ट्रिय पत्रकार महासङ्घलाई पूर्णता दिइने विज्ञप्तिमा उल्लेख छ । केही समयभित्रै नेपाल, बेलायत, अस्ट्रेलिया, जापान, क्यानाडा लगायतका देशहरूमा शाखा निर्माण गरिने छ भने यसै गरी अन्य देशहरूमा पनि शाखा बिस्तार गरिँदै लगिने योजना छ । त्यसका लागि सम्बन्धित देशहरूमा रहेका पत्रकारहरूलाई [email protected] मा सम्पर्क गर्न आग्रह गरिएको छ । त्यसैगरी अन्य देशहरूमा पनि अन्तर्राष्ट्रिय पत्रकार महासङ्घका देश स्तरीय शाखाहरू स्थापना गरिने छन जहाँ पेसागत पत्रकारहरू रहने उल्लेख छ । अन्तर्राष्ट्रिय पत्रकार महासङ्घको बारेमा, यसका गतिविधिहरू यसको वेबसाइटमा पनि समावेश गरिँदै लगिने अन्तर्राष्ट्रिय पत्रकार महासङ्घले जनाएको छ ।
पेसागत पत्रकारहरूको स्वतन्त्र, साझा, र छाता सङ्गठनका रूपमा अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका (Federation of International Journalist, America- FIJA ) ले नेपाली पत्रकारहरूलाई मात्र होइन विभिन्न देशका पत्रकारहरूलाई समेट्दै जाने र जुन सुकै देशको पेसागत पत्रकार पनि यसमा आबद्ध हुन पाउने विधानमा व्यवस्था गरिएको अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले जनाएको छ ।